• १९ पुस २०८१, शुक्रबार

तिहार बिदामा तनहुँ जलविद्युतको काम निरन्तर

blog

तनहुँ जलविद्युत् आयोजनाको बाँध स्थल। तस्बिर-अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक १६ गते। निर्धारित समयमा काम पूरा गर्नको लागि तिहारको बिदाको समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले कामलाई निरन्तरता दिएको छ। 

तोकिएको समयमा काम पुरा होस् भन्ने उद्देश्यले स्वदेशी तथा विदेशी दुवै गरी तीन सय कामदार तिहारमा समेत काममा खटिरहेको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो। यसअघि दसैंको समयमा पनि कामलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो।

आयोजनाको तीन वटै प्याकेजका काम तिहारमा पनि निरन्तर सञ्चालन भइरहेको भण्डारीले बताउनुभयो।  सिफ्टमा आलोपालो मिलाएर तिहार लगत्तै काममा फर्किने गरी केही नेपाली कामदारलाई तिहार मनाउन बिदा दिइएको भए पनि अधिकांशले काम गरिरहेको भण्डारीले जानकारी दिनुभयो। भण्डारीका अनुसार नेपाली कामदार दुई सय ५० जना, चिनियाँ ३०, जर्मन दुई र भितनामी १५ काममा खटिएका छन्।

आयोजनाका अनुसार प्याकेज १ अन्तर्गत बाँध खन्ने काम पूरा भई कङ्क्रिट गर्ने कार्य सुरु गर्न लागिएको छ।  प्याकेज-१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सनले नेपाल जेभीले गरिरहेको छ।  

त्यसैगरी आयोजनाको प्याकेज-२ अन्तर्गत पावरहाउसतर्फ स्टालेसन गर्ने कार्य तीव्र रुपमा भइरहेको छ। आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज-२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ। भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ स्वीचयार्ड निर्माण, पेनस्टक तथा विद्युतगृहमा रहने  उपकरणहरु जडानलगायतका कार्यहरु भइरहेका छन्। 

,प्याकेज-३ अन्र्तगत ९४ टावरमध्ये ७९ वटा टावरको फाउण्डेसन निर्माण गरिनुका साथै ६९ वटा टावर ठड्याइसकिएको छ। बाँकी वन क्षेत्रमा रहेकाले नीतिगत कार्यले रोकिएको आयोजनाले जनाएको छ। यसको निर्माण कार्य केइसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ। हालसम्म ६२ प्रतिशत काम पूरा भएको भण्डारीले जानकारी दिनुभयो।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले  १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ। आयोजनाका अनुसार समग्र निर्माण २०८३ असारभित्र  सक्ने लक्ष्य राखिएको छ।