• १९ पुस २०८१, शुक्रबार

फूल खेतीमा रमाउँदै अर्याल

blog

सयपत्री फूल टिप्दै अर्याल । तस्बिर: जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, कात्तिक १६ गते । बाणगंगा नगरपालिका-३ भक्तौली कपिलवस्तुका युवा नारायण अर्याललाई फूल स्याहार्न भ्याइनभ्याइ छ । 

पाँच कट्ठामा लगाइएका सयपत्री फुलेर पहेँलाम्मे देखिएको छ । केही कोपिला  भर्खर फुल्दैगरेका छन् । टिपेको फूलबाट माला बनाउँदै बजार पुगाउन तामझाम छ ।

तिहार र बिहेको सिजनलाई लक्षित गरी अर्यालले सयपत्री फूल खेती गर्नुभएको हो । तीन वर्षदेखि उहाँले धान रोप्न छाडेर फूल खेती सुरु गर्नु भएको थियो । “फूल खेती गर्न रहर थियो । नेपालमा भारतबाट फूल आयात हुने समाचार पढेपछि फूल खेतीतर्फ आकर्षण बढ्यो” अर्यालले भन्नुभयो । 

उहाँले मेरीगोल्ड ५५५ जातको सयपत्री फूलका ३ हजार बेर्ना लगाउनु भएको थियो । प्रतिबेर्ना १२ रुपियाँका दरले खरिद गरिएको थियो । साउनको अन्तिम साता लगाइएका बेर्नाले कात्तिकको पहिलो साताबाट उत्पादन दिएको थियो । तेस्रो महिनासम्म यसबाट उत्पादन लिन सकिने अर्यालको भनाइ छ ।

दुई दिनको अन्तरमा फूल टिप्ने काम गरिएको उहाँले बताउनुभयो । सातामा ३ हजार माला बुनेर बिक्रीका लागि बजार लग्नेगरेको उहाँको भनाइ छ । पर्याप्त मात्रामा फूल नफुलेको हुँदा बजारमा फूलको अभाव रहेको छ । जसले गर्दा मालाको माग समेत बढेको बताइएको छ । कपिलवस्तुका बजारमा डेढ सयदेखि दुईसय रुपियाँमा सयपत्री फुलको माला बिक्री भएको छ ।