• १९ पुस २०८१, शुक्रबार

तिहारका लागि तयार हुँदै सयपत्री माला

blog

तिहारका लागि आवश्यक माला बुन्दै व्यवसायी । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, कात्तिक १५ गते । घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ निवासी इन्द्रा बुढालाई अहिले सयपत्रीको माला बुन्न भ्याइनभ्याइ छ । तिहार सुरु भएसँगै बुढाले करिब दश कट्ठा जमिनमा रोपेको सयपत्री फूलको माला बुन्नमा व्यस्त रहनुभएको छ ।  

अर्डर अनुसारका माला बनाउँदै राख्न थालेको उहाँको भनाइ छ । तिहारमा टीकाका लागि फूलसँगै मालाको अर्डर आइरहेको भन्दै व्यवसायी बुढाले भन्नुभयो, ‘तिहार सुरु भएसँगै फूल टिप्ने र माला बुन्ने काममा लागिरहेका छौँ । टीकाका लागि सयपत्री फूल र मालाको अर्डर आइरहेको छ ।’ 

उहाँका अनुसार माला प्रतिपिस १०० देखि दुईसय ५० रुपियाँसम्ममा बिक्री गर्ने गरी बनाइरहेको बताउनुभयो । त्यसैगरी फूल मात्र लग्नेलाई प्रतिकेजी पाँच सयका दरले बिक्री गर्ने गरेको बताउनुभयो ।  

गत वर्षको तुलनामा कम फूल खेती गर्नुभएका बुढाले पोहोर साल फूल नबिक्दा लागेको घाटा अहिले उठ्ने आशा गर्नुभएको छ । यो वर्ष जिल्लाभरी कम फूल खेती भएको र मूल्य पनि पाँच सय रुपियाँ तोकिएकाले गत वर्ष लागेको घाटा उठ्ने आशा रहेको बताउनुभयो । 

त्यसैगरी शान्तिनगर गाउँपालिका–६ रगैचामा करिब ११ कट्ठामा पुष्प व्यवसाय गर्नुभएका दीपेश ढकाल पनि सयपत्री फूल टिप्नेदेखि माला बुन्ने काममा व्यस्त रहनुभएको छ । यो वर्ष फूलको उत्पादनसँगै माग राम्रो आइरहेकाले फूल टिप्ने र माला बनाएर बिक्रीका लागि तयारीमा जुटेको ढकालले बताउनुभयो । 

फूल र माला ग्राहकको मागअनुसार दिइरहेको भन्दै ढकालले भन्नुभयो, ‘ग्राहकको मागअनुसार फूल र माला बिक्री गर्ने गरिरहेका छौँ । तिहार सयपत्री फूलको चाड भएकाले माग पनि राम्रै आइरहेको छ ।’ पाँच सय रुपियाँ प्रतिकेजीका दरले सयपत्री फूल बिक्री भइरहेको ढकालले बताउनुभयो । 

बुढा र ढकाल जस्तै जिल्लामा व्यवसायीक पुष्प व्यवसाय गर्ने व्यवसायीहरू तिहार सुरु भएसँगै फूल तथा माला विक्रीमा जुट्नुभएको छ । त्यसकालागि फूल टिप्नेदेखि बिक्रीका लागि माला बन्ने काम गरिरहेका छन् ।