• २७ पुस २०८१, शनिबार

भारतीय फूल आयात हुँदा नेपाली व्यवसायी मर्कामा

blog

भानुभक्त चोकमा भारतीय फूलमाला बिक्री गर्दै व्यापारी । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक १५ गते । नेपाल–भारत सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायी मर्कामा परेका छन् । भारतबाट आउने अवैध प्लाष्टिकजन्य फूलमाला र अन्य फूलका कारण सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायी मर्कामा परेका हुन् । 

सिमापारीबाट आउने अवैध फूलमालाहरु स्थानीय सरकार, प्रहरी प्रशासनले रोक्न नसकेको भन्दै पुष्प व्यवसायीले गुनासो गरेका छन् । भारतबाट बिनाचेकजाँच, बिना भन्सार र बिना क्वारेन्टाइन अवैध रुपमा नेपाल आउने प्लाष्टिकलगायतका फूलमालाका कारण बाँकेका पुष्प व्यवसायीहरु मर्कामा परेको र विस्थापित हुँदै जान थालेको बताउनुहुन्छ फ्लोरीकल्चर एसोसिएसन नेपालका आजीवन सदस्य तथा नेपालगन्जकी पुष्प व्यवसायी महिला उद्यमी बिन्दु चर्तीमगर ।

“भारतबाट बिना भन्सार, बिना क्वारेन्टाइन र बिना चेकजाँच विभिन्न किसिमका फूलमालाहरु बाँके जिल्लाका सहरमा आउने गर्दछन्, हामीले वर्षभरि दुःख गर्छौं, उत्पादन गर्छौं, हाम्रो मूल्य नै आउँदैन ।” महिला उद्यमी चर्तीमगरले भन्नुभयो, “पारीबाट लुकीचोरी ल्याएका फूलमाला सस्तोमा बिक्री हुने गर्दछ, हामीले मूल्य पनि पाउँदैनौं, भने जस्तो पनि बिक्री हुँदैन, पछिल्लो समयमा विस्तारै पुष्प व्यवसायीहरु यो पेसाबाट विस्थापित हुँदै जान थाल्नुभएको छ ।”

वागेश्वरी मन्दिर वरिपरि सडकभरि खाट र ठेलासमेत लगाएर भारतीय फूलमाला बिक्री हुँदा पनि स्थानीय सरकारले केही नगरेकोप्रति चर्तीमगरले गुनासो गर्नुभयो । “वागेश्वरी मन्दिर वरिपरी बिना दर्ताका पसलहरुले सडकनै ढाक्ने गरी खाट र ठेलामा भारतीय फूलमाला बिक्री गरिरहेका छन, मेयरसाबसँग कति पटक यसबारेमा कुरा राख्यौं, तर सुनुवाइ हुँदैन ।” उहाँले भन्नुभयो ।

खजुरा गाउँपालिका वडा नम्बर ३ की पुष्प व्यवसायी अरुणा गुरुङले अवैध रुपमा आउने भारतीय फूलमालाले गर्दा अब व्यवसायलाई निरन्तरता दिन गाह्राे पर्ने बताउनुभयो । “बीउ, मल, कामदार लगायतमा खर्च आउँछ, पारिबाट आउने फूलमालासँग हामीले प्रतिस्पर्धा नै गर्न सक्दैनौँ, त्यो रेटमा हामीले दिनै सक्दैनौँ, यस्तै भइरहे उताबाट आउने अवैध फूलमालामा रोकावट नभए अब कुनै पनि पुष्प व्यवसायीले यो पेसालाई निरन्तरता दिन सक्दैनन् ।”

नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले उपमहानगरको मात्र प्रयासले भारतबाट आयातित हुने फूलमालालाई प्रतिबन्ध गर्न नसकिने बताउनुभयो । “हाम्रो मात्र प्रयासले यो समस्या समाधान गर्न सक्दैनौं, भारतबाट फूलमाला लगायतका वस्तु आयात रोक्नका लागि सङ्घीय सरकाले नीति बनाउनुपर्छ ।” नगरप्रमुख विष्टले भन्नुभयो, “राज्यले नीति बनाएर भन्सारबाट कडारुपमा प्रतिबन्ध लगाएमा मात्र यो समस्या समाधान हुन्छ ।”

तिहारका समयमा नेपालगन्जको वागेश्वरी मन्दिरक्षेत्र वरिपरि, धम्बोझी चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, पुष्पलाल चोक, बिपी चोक, भानुभक्त चोक, कारकाँदो चोक लगायतका मुख्य चोकहरु र बजार क्षेत्रमा भारतबाट आयातित गरिएका फूल तथा मालाको बिक्री हुने गरेको छ ।