• २७ पुस २०८१, शनिबार

हिजबुल्लाह ‘उपयुक्त’ सर्तमा इजरायलसँग युद्धविराम मान्छ : हिजबुल्लाह नेता

blog

तस्बिर : एफपी

बेरुत, कात्तिक १४ गते । हिजबुल्लाहका नयाँ नेता नइम कासेमले उहाँको समूह इजरायलसँग स्वीकार्य सर्तमा युद्धविराम सम्झौता गर्न तयार रहेको तर योग्य सम्झौता अहिलेसम्म प्रस्तुत नभएको बुधबार बताउनुभएको छ ।

“यदि इजरायलीहरूले आक्रमण रोक्ने निर्णय गरे भने हामी स्विकार्छौँ, तर हामीले उपयुक्त र स्वीकार्य देख्ने सर्तहरूका अधीनमा”, कासेमले पूर्व–रेकर्ड गरिएको मन्तव्यमा भन्नुभयो । मङ्गलबार हिजबुल्लाहका महासचिव बनेपछि उहाँको यो पहिलो मन्तव्य थियो ।

“तर हिजबुल्लाहले युद्धविरामका लागि माग गर्ने छैन”, राजनीतिक प्रयासहरूले अहिलेसम्म नतिजा प्रदान नगरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “इजरायल सहमत हुने र हामीले छलफल गर्न सक्ने कुनै पनि परियोजना प्रस्तुत भएको छैन ।”

कासेमले इरानसमर्थित समूहका ३० वर्षभन्दा बढी समयसम्म अध्यक्ष रहनुभएका हसन नसरल्लाहको स्थान लिनुभएको हो । नसरल्लाहको इजरायलले सेप्टेम्बर २७ मा हत्या गरेको थियो ।

समूहका गढहरूमा इजरायलले आक्रमण बढाएको र पछिल्लो महिना सीमा पार गरेर सेना पठाएको बेला उहाँले हिजबुल्लाहसँग इजरायलले जारी राखेको सर्वव्यापी युद्धमा कमान सम्हाल्दै हुनुहुन्छ ।

“हाम्रो भूमिबाट बाहिर निस्केर आफ्ना क्षतिहरू कम गर”, कासेमले भन्नुभयो, “यदि तिमीहरू त्यहाँ बस्छौ भने तिमीले जीवनभर नभुल्ने कुरा भुक्तान गर्नु पर्नेछ ।” उहाँले हिजबुल्लाहले ‘दिनौँ, हप्तौँ र महिनौँ’ सम्म लड्न सक्ने बताउनुभयो ।

कासेमले इजरायलद्वारा नसरल्लाहको हत्या र अन्य वरिष्ठ हिजबुल्लाह नेताको हत्याले समूहलाई ‘पीडादायक’धक्का दिएको स्वीकार गर्नुभयो ।

यद्यपि उहाँले हिजबुल्लाहले ‘खाली ठाउँहरू भरेर, वैकल्पिक नेताहरू नियुक्त गरेर र सबै कुरा व्यवस्थित गर्न काम गरेर’ अर्को उचित व्यवस्था गर्न सुरु गरेको बताउनुभयो ।

कासेमले आफ्ना तत्कालीन नेताद्वारा निर्धारित युद्ध नीतिलाई कायम राख्ने प्रतिबद्धता पनि जनाउनुभयो । “मेरो कार्यक्रम हाम्रा नेता, सय्यद हसन नसरल्लाहको कार्यक्रमको निरन्तरता हो ।” उहाँले नसरल्लाहले विकास गरेको युद्ध योजनालाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । रासस/एएफपी