• ७ मंसिर २०८१, शुक्रबार

चाडपर्वमा खानपान र पटकाबाट सावधान

blog

दसैँअघि नै नेपालबाट मनसुन बाहिरिएको छ, मौसम सुक्खा र चिसो हुँदै छ । वायुमा प्रदूषणको मात्रा बढ्दै छ । वातावरण र मानिसको जिउधनमा असर पार्ने भएकाले तिहारमा बढी प्रयोग हुने पटकाजन्य पदार्थलाई पूर्ण रूपमा बन्देज लगाउने गृह मन्त्रालयले जानकारी दिएको छ । भारतमा समेत अक्टोबर लागेसँगै वायु प्रदुषणलाई देखाउँदै पटकाजन्य प्रयोग बन्देज गरिसकेपछि नेपालमा अवैध रूपमा भित्रिने खतरा पनि छ । यसैबिच नयाँ बसपार्क क्षेत्रबाट ठुलो मात्रामा अवैध पटका कात्तिक १० गते बरामद भएको छ । प्रहरी गस्ती, अनुगमन तथा सुराकीका आधारमा देशका विभिन्न स्थानबाट पटका बरामद र नष्ट गरिरहेका समाचार आइरहेका छन् ।

जुनसुकै समाजलाई पनि चाडबाडले प्रभाव पार्छ नै तर नेपाली समाजले एक हप्ताअघिदेखि एक हप्ता पछाडिसम्म नै मनाइरहन्छन् । माग बढदा आपूर्ति बढाउनुपर्ने अर्थशास्त्रीय नियमभन्दा माग बढेपछि मिसावट, मूल्य बढाउने प्रवृत्तिले नेपाली बजार आक्रान्त हुने गर्छ । वर्षभरिका दुःखकष्ट, पिरव्यथा सबै बिर्सेर सपरिवार एकै ठाउँमा जम्मा भएर आआफ्नो क्षमता अनुसार मिठो मसिनो खाई रमाउने अनि आपसी वैमनस्यता भुलेर एकआपसमा शुभकामना आदानप्रदान गर्ने हिन्दुहरूको महान्पर्व कसैका लागि दशा बनेर गएका छन् ।

चाडबाडमा खाइने मासु, चिल्लो, मसला, मिठाई, धूमपान र मद्यपान मुखमैत्री, मुटुमैत्री मात्र नभई मानव स्वास्थ्यमैत्री छैनन् । खानपानका सन्दर्भमा छउन्जेल भोजपुरे ख्वाइ सिद्धिएपछि सिद्रा सुकाइ मध्यमवर्गीय परिवारमा व्याप्त छ र यसैका कारण कैयौँ स्वास्थ्य समस्या निम्त्याइरहेका छन् । नपाउ“दा नखाने र पाउ“दा एकै पटक धेरै र अस्वस्थ ढङ्गले मासु, मिठाई खानाले चाडपर्वमा रमाइलोभन्दा तनावको अवस्था आउने गर्छ । तिहार, न्हुँदया भिन्तुना र छठलाई पनि कस्तो बनाउने तपार्इं हाम्रो हातमै छ । चाडबाडमा अधिकांश नेपालीलाई शुभकामना आदानप्रदान, खानपिन, रमाइलो र भेटघाटमा भ्याइनभ्याइ हुन्छ तर चिकित्सकहरू भने ड्युटी गर्न, बिरामीका जिज्ञासा सुन्न र अस्पतालबाट आउने बोलावटले हैरान हुन्छन् । उच्च रक्तचाप, मुटु र पेटजन्य समस्या अपच, पखाला तथा निन्द्राजन्य बिरामीको सङ्ख्या ह्वात्तै बढ्ने गर्छ । दीर्घरोगीमा समस्या झन् बढ्छ भने जोखिमको बाटोमा रहेकाहरूमा एकै पटक लक्षण देखिन थाल्छ ।

रङ्गिन मिठाई

चित्ताआकर्षक रङ मिसाइएको मिठाई स्वादका लागि जति मिठो भए पनि गुणस्तरहिन र रङ्गिन मिठाईले भने स्वास्थ्यलाई राम्रो गर्दैन र हानिकारक हुन्छन् । रङमा सिसा, पारो, तामा जस्ता तत्व पाइन्छन् । तामाको आयनले श्वासप्रश्वास प्रणालीमा प्रत्यक्ष असर, मांसपेसीलाई क्षतविक्षत पार्छ । पारोयुक्त लवणले घा“टी खसखसाउने, श्वासप्रश्वासमा समस्या, आन्तरिक सुजन जस्ता समस्या उत्पन्न गराउ“छ । पारोले मुख्यतः निष्कासन प्रणाली, मिर्गौलामा असर तथा तामाजन्य विषादीको सङ्ग्रहमा मद्दत पु¥याउ“छ । सिसाले कोषको वंशाणु डिएनए र आरएनएसँग अन्तर्क्रिया गरी क्षतविक्षत बनाउ“छ । शरीरबाट सजिलै बाहिर नआउने र भित्र पनि नष्ट नहुने यस्ता तत्वहरू लामो समयसम्म शरीरमा रही मन्द विषको काम गर्छन् ।

पटका

दीपावली, तिहार र छठमा अत्यधिक खपत हुने पटकाका नकारात्मक पक्ष अनगन्ती छन् र यसबाट प्रताडित हुनेमा अधिकांश महिला, १८ वर्ष कम उमेरका बालबालिका र त्यसैमा मधेशमा बढी हुन्छन् । युनिसेफका अनुसार विश्वमा बर्सेनि साढे सात लाख व्यक्तिको डढेर मृत्यु हुन्छ, जसमा पटका मुख्य जिम्मेवार छ । पटकामा एउटा आवाजको र अर्काे पड्काइ वा ब्लाष्टको प्रभाव हुन्छ । तिखो आवाजले फिर्ता नहुन सक्ने गरी कानको भित्री नसा कमजोर हुन सक्छ भने पड्काइले कानको जाली फुटन सक्छ जुन आफैँ वा शल्यक्रियाद्वारा ठिक हुन्छ । त्यस्तै कान कराउने समस्या स्थायी वा अस्थायी रूपमा देखिन सक्छ । ५० डेसिवलभन्दा बढी आवाज कान तथा स्वास्थ्यका लागि हानिकारक हुन्छ भने १२५ डेसिवल बढीले कानको पर्दालाई नोक्सान तथा श्रवनशक्ति गुम्न सक्छ । पटकामा भएको नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, क्याडमियम, सिसा, तामा, म्यागनिज, सोडियम, सल्फर, म्याग्नेसियम, पोटासियम लगायत हानिकारक प्रदूषकले ब्रोङकाइटिस जस्ता श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउँछन् । पटकाले छाला, श्वासप्रश्वासलगायतको घा“टीको क्यान्सर बनाउँछ । दमका बिरामीलाई धुँवाले खुत्रुक्कै पार्छ । आ“खा पाक्ने रोगको प्रकोप ल्याउने गरेका छन् ।

बच्चाहरू संवेदनशील हुने भएकाले पटका पड्कदा, निस्कने आवाज, हानिकारक प्रदूषकसँगै बारुदका कण फैलिँदा बालबालिकामा केही समय सास फेर्न अप्ठ्यारो, आ“खा, नाक सुक्खा हुन थाल्ने हुन्छ । आतेशवाजी र पटकाले आगजनी मात्र हुँदैन बरु आँखामा चोट, आँखाको ढकनी च्यातिने, दृष्टि गुम्ने, हृदयाघात, रक्तचाप, दम, छाला, सास, नाकको एलर्जी, ब्रोङकाइटिस, निमोनिया, कानको जाली च्यातिने, कान कराउने, श्रवणशक्ति नोक्सान, हात खुट्टा जल्ने, टाउको दुख्ने, अनिद्रा तथा कहिलेकाहीँ ज्यानै जानेसमेत लगायतका दर्जनौँ स्वास्थ्य समस्या हुन सक्छ ।

 रोकथाम

मानसिक उल्लास र सामाजिक सुसम्बन्धका साथ मनाइने चाडपर्वको शृङ्खलामा स्वास्थ्य जागरणको व्यापक अभियान नचलेको र गरिबी एवं अभावका कारणले समेत लामो समयपछि र अन्तरालमा आउने चाडपर्वमा आवश्यकभन्दा बढी मात्रामा गुलियो, चिल्लो र गरिष्ट खाना खाने हाम्रो बानी छ । खानपिनमा गुलियो, अमिलो, पिरो, नुनिलो र चिल्लोको मात्रा बढी भएको आहार, विहार र निद्रामा असन्तुलन हुन गई स्वास्थ्यमा गडबड भएको प्रायः देखिन्छ । प्रशस्त रक्सी नभए, मनग्गे खान नपाए, धूमपानको फुर्तिफार्ती र बासीत्यासी अचार नभए तथा नाचगान, देउसीभैँलो, गफगाफ र जुवातास नखेले चाड माने जस्तो नहुने सोचाइ त्याग्नै पर्छ । 

 सावधानी 

 पटका पड्काउन परे घर वा आवासीय क्षेत्रदेखि टाढा पडकाउनु पर्छ । बच्चाहरूलाई एक्लै दियो बाल्ने वा पटका पड्काउने काममा नछाडौ । दियो, पटका बाल्दा प्रज्वलनशील कपडा जस्तै पोलिस्टर, टेरिकटन आदि नलगाउने, साडी जस्ता खुला कपडाले आगो सजिलै टिप्ने हुँदा नलगाउने, पूरा नजलेको पटका हातमा लिनु खतरापूर्ण भएकाले जलिसकेका वा आधा जलेका पटकालाई पानीमा डुबाएर निभाउनु पर्छ ।

आगो लागीहाले वा पोलि हाले, सबैभन्दा पहिले निभाउन मद्दत गर्ने, आत्तिएर नदौडिने, सुरक्षित ठाउँमा पुगेर आगो निभाउने, सबै कपडा फुकाल्ने, घडी, गहना, औँठी निकाल्ने अन्यथा ताप भित्रै थुनिएर जलन गहिरो हुन सक्छ । आगो निभेपछि पोलिएको भागलाई ठण्डा बगिरहेको पानीमा राखेर चिस्याउनु पर्छ । जसले ताप भित्र सोसिन पाउँदैन र जलन गहिरो हुँदैन । पोलेको जतिसक्दो छिटो अर्थात् तीन घण्टाभित्र प्रभावकारी हुन्छ । बरफ लगाउँदा जलेको छालालाई झनै हानि पुग्छ । कटौरामा पानी राखेर डुबाउँदा चिस्यान प्रव्रिmया त्यति छिटो नहुने भएकाले ठिक तरिका होइन । पानी पनि धेरै चिसो जरुरी छैन र चिस्याउनुअघि मलम, दन्तमञ्जन, नुन, गोलभेँडा, घिउकुमारी आदि लगाउँदा जलन अझै गहिरो बन्ने भएकाले गर्न हुँदैन । धाराको पानी प्रयोग गर्न सकिन्छ । पटकाका बारुदका कणहरू छालामा टाँसिएर लगातार जलन हुँदा गहिरो बन्ने भएकाले छिटै अस्पताल जानु पर्छ ।

सास र दमको समस्या हुनेहरू धुँवाबाट बच्नु पर्छ जसका लागि घरभित्रै बस्ने, बाहिर निस्कँदा मास्क लगाउने तथा दमको औषधी साथमै राख्नु पर्छ । पटकाका कारण आँखामा कुनै कण परे तुरुन्त सफा पानीले धुनु पर्छ त्यसपछि पनि असजिलो महसुस भए चिकित्सकलाई देखाउनु पर्छ । फस्ट एड बक्स घरमा राखी कुनै दुर्घटना भए प्राथमिक उपचार गर्नु पर्छ । थोरै असावधानीका कारण खुसी, उमङ्ग लिएर आउने चाडपर्व क्षणभरमै दुःखद अवस्थामा परिणत हुन सक्छ भनी अभिभावक सावधान रहनु पर्छ । 

 

Author

डा. प्रकाश बुढाथोकी