• २७ पुस २०८१, शनिबार

तिहारको सामग्री किन्न बजारमा भिड

blog

तिहारको सामग्री किन्न व्यस्त उपभोक्ता ।

रेखीराम राना

तानसेन, कात्तिक १४ गते । तानसेनमा तिहार पर्वका लागि आवश्यक सामग्री किन्ने मानिसको भिड लागेको छ । तिहार पर्व लागेसँगै भाइमसला, माला, रोटी तथा अन्य परिकार किन्ने मानिसको तानसेन बजारमा घुइँचो लागेको हो ।  

सप्तरङ्गी टीका, भाइ मसला, तरकारी, खाद्यान्न सामग्री, माला, दाजुभाइ तथा दिदीबहिनीका लागि आवश्यक कोशेली खरिद गर्न उनीहरू तानसेन आएका छन् । तिहार लागेपछि भाइटीका र अन्य सामग्री बिक्री गर्न वर्षौदेखि यसको कारोबार गर्दै आएका भारतीय मूलका व्यापारी समेत तानसेन भित्रिने गरेका छन् । 

उनीहरूले तानसेनका विभिन्न स्थानमा बसेर सप्तरङ्गी टीका, ओखर, काजु, किसमिस, बदाम, मिठाइलगायतका सामग्री बिक्री गरेका छन् । यस्तै, तिहारमा झिलीमिली बत्तीको कारोबार बढेको छ । तिहार लाग्नासाथ झिलीमिली बत्तीको कारोबार बढेको तानसेनका व्यवसायी गोपाल गैरेले बताउनुभयो । 

तिहार लागेपछि दाजुभाइ तथा दिदीबहिनीका लागि कोशेलीको रुपमा अत्यधिक प्रयोग हुने पाल्पाली ढाकाका सामानको समेत बिक्री बढेको छ । तिहारमा ढाकाका सल, टोली, पर्स, कुर्ता सुरुवाल कोशेली दिने प्रचलन रहेको छ । भाइटीकामा दिने कोशेली स्वरुप ढाकाका सामग्री किन्ने मानिस पसलमा आउन थालेको मदनपोखरा ढाका कपडा पसलका सञ्चालक कमल भण्डारीले बताउनुभयो ।