• २७ पुस २०८१, शनिबार

सञ्चार माध्यमले सुशासनको पक्षमा भूमिका खेल्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

blog

पत्रकार महासंघको केन्द्रीय कार्यालयले आज दीपावलीको अवसरमा आयोजित चियापान कार्यक्रममा मन्त्री पृथ्वीसुब्बा गुरुङसहित अतिथिहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १४ गते । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासनका लागि सञ्चार क्षेत्रले रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयले आज दीपावलीको अवसरमा आयोजित चियापान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

‘यो सरकार आलोचनालाई सहज रुपमा लिएर आफैबाट कमी कमजोरी भएको रहेछ भने पनि सच्याउन तयार रहेको लोकतान्त्रिक सरकार भएको उहाँले चर्चा गर्नुभयो । नेपाली सञ्चार क्षेत्रबाट सुशासनको पक्षमा सही सूचना र कामको सिलसिलामा सरकारबाट भएको कमी कमजोरीमाथि आलोचना होस् भन्ने चाहन्छ, सही सूचनाका आधारमा तपाईहरुबाट हुने आलोचनालाई सरकारले सहर्ष स्वीकार गर्छ’ उहाँले भन्नुभयो । 

उहाँले सही आलोचना र सही सूचनाले सुशासनको पक्षमा काम गर्ने तथा सरकारलाई थप काम गर्न सघाउने बताउनुभयो । ‘सूचना सही होस, सुशासनको पक्षमा दृढतापुर्वक सञ्चार जगत उभियोस, मुलुकलाई सही रुपमा अगाडि बढाउने बाटो यही हो’ मन्त्री गुरुङले भन्नुभयो ।

‘बिगतका सरकारहरुले सहकारीमा पारदर्शिताको पाटोलाई दृढतापुर्वक अघि बढाएको भए सहकारीमा यति धेरै बिसंगति, ठगी हुने नै थिएन’ मन्त्री गुरुङले भन्नुभयो,  ‘त्यसैले सरकारको तर्फबाट भन्छुकि सुशासनको पक्षमा सञ्चार क्षेत्र निर्मम हुनुपर्छ । सरकार आलोचनाको अपेक्षा गर्छ तर अफवाह नहोस, सही सूचना देओस् भन्ने चाहन्छ ।’ 

सरकार असल शासन र सुशासनप्रति दृढ रहेको भन्दै उहाँले असल शासनका लागि असल ब्यक्ति पनि चाहिने बताउनुभयो । सञ्चारमन्त्री गुरुङले आफ्नो अधिकारसँगै कर्तब्य पालनामा सवै दृढ हुनुपर्ने धारणा राख्नुभयो । 

सरकार सूचना प्रविधिको बिकास र सोसल मिडियाको नियमनको बिषयमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो । ‘सोसल मिडिया नियन्त्रण गर्ने होइन, नियमन गर्नुपर्छ भन्ने मान्यताका साथ सरकारले बिधेकलाई अन्तिम रुप दिएर कानुन निर्माणका लागि मन्त्रिपरिषदमा पुगेको छ’ सञ्चारमन्त्री गुरुङले भन्नुभयो । सञ्चारमन्त्री गुरुङले साशकीय प्रणालीको बिषयमा नेपालमा समीक्षा जरुरी रहेको धारणा राख्नुभयो।

महासंघका कार्यबहाक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वसभापतिहरु डा. महेन्द्र बिष्ट, तारानाथ दाहाल, बिष्णु निष्ठुरी, धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघका सल्लाहकार निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, सञ्चारिका समुहकी अध्यक्ष बिमला तुम्खेवा, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खडकाले शुभकामना दिनुभएको थियो ।