• २७ पुस २०८१, शनिबार

रोकिएन म्याद नाघेका खाद्य वस्तु र पेयपदार्थ बिक्री

blog

अनुगमन टोलीद्वारा जफत गरिएको अखाद्य बस्तु नष्ट गरिँदै । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, कात्तिक १४ गते ।
पटक–पटक बजार अनुगमन गरे पनि म्याद नाघेका वस्तु बिक्री रोकिन सकेको छैन । जिल्लास्थित सरकारी निकायले पटक–पटक बजार अनुगमन गरे पनि म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री घट्न सकेको छैन ।

जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय पालिकाले गरेको पटक–पटकको बजार अनुगमनमा म्याद नाघेका वस्तु बिक्री गरिएको पाइएको हो । बिक्रेताले बिक्री योग्य नभएका सामान पसलमा खुलेआम बिक्री गरेको पाइएको अनुगमनकर्ताले बताएका छन् । म्याद नाघेका वस्तु बिक्री गर्नेमाथि कडा कारबाही नहुँदा पटक–पटकको बजार अनुगमनले पनि व्यापारीको मनपरीलाई रोक्न नसकेको हो ।

हरेक पटकको बजार अनुगमनमा म्याद नाघेका वस्तु फेला पर्छ । त्यसलाई अनुगमन टोलीले जफत गरेर नष्ट गर्ने गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाकी अधिकृत रमा श्रेष्ठले बताउनुभयो । बजारमा विक्रेताले म्याद नाघेका कुरकुरे, बिस्कुट, लेज, डेरी मिल्क, चकलेट, चाउचाउ जस्ता वस्तु बिक्री गरेको पाइएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हरेक पटकको अनुगमनमा म्याद नाघेका बस्तु भेटिन्छ, त्यसलाई जफत गरेर नष्ट गर्ने गरेका छौँ ।’’ बिक्रेताले भने खाद्य पदार्थको म्यादबारे खासै जानकारी नभएको, डिलरबाट ल्याएको १०/१५ दिनमै म्याद गएको भेटिएको गुनासो गर्ने गरेको अनुगमनमा सहभागी कर्मचारीको भनाइ छ ।

सदरमुकाम तानसेन, रामपुर, हार्थोक, अर्गली, सराई, बाँसटारी, आर्यभाङ्ज्याङ्लगायतका बजारमा अनुगमन गर्दा पेय पदार्थ पनि म्याद गएको बिक्री भइरहेको पाइएको छ । बजारमा पाइने कोक, फेन्टा, स्प्राइट, फ्रुटी, जुस पनि म्याद गुज्रेका पाइएको तानसेनस्थित भित्रुवन बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति कृष्ण अर्यालले बताउनुभयो ।

अनुगमन टोलीले विभिन्न कम्पनीका मादक पदार्थ बियर, रक्सी पनि म्याद नाघेका भेट्टाउने गरेको छ । बिक्रेतालाई म्याद नाघेका वस्तु तथा पेयपदार्थ बिक्री गर्दा उपभोक्ताको स्वास्थ्यमा असर गर्छ भन्ने जानकारी हुँदाहुँदै पनि लगानी डुब्ने भयले उपभोक्तालाई बिक्री गर्ने गरेको अर्यालको भनाइ छ ।

बिक्रेताले म्याद नाघेका बस्तुको क्षतिपूर्ति नपाउँदा पनि यस्ता गैरकानुनी क्रियाकलाप मौलाइको छ । खाद्य वस्तु तथा पेयपदार्थ बिक्री गर्ने डिलरले म्याद नाघेको सामानको क्षतिपूर्ति नदिँदा व्यापारीलाई आफू डुब्ने डर म्याद नाघेको बस्तु बिक्री गरेर लापरबाही गरेको पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो ।