• २७ पुस २०८१, शनिबार

म्याद गुज्रेको चिसो र खाद्य पदार्थ नष्ट

blog

बुद्धभूमि नगरपालिकामा रहेका पसलको अनुगमन गरिदै । तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, कात्तिक १३ गते । कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा गरिएको बजार अनुगमनमा म्याद गएका खाद्यवस्तु र पेय पदार्थ नष्ट गरिएको छ । 

चाडपर्व लक्षित गरी सोमबार र मङ्गलवार नगरपालिकाको ४ वटा वडामा बजार अनुगमन गरिएको छ । वडा नं. ४, ७, ८ का पसल र वडा नं. ९ इमिलिया हाटबजारको अनुगमन गरिएको छ । 

नगर उपप्रमुख मिरा चौधरीको नेतृत्वमा भएको अनुगमन टोलीले म्याद गएका प्याकेटमा राखिएका पत्रु खाजा (जङ्क फुड), पेय पदार्थ, मसला, तेल, चकलेट, चिप्स, बेसन लगायतका वस्तु बरामद गरेको छ ।

बिहान ८ बजे देखि सुरु भएको अनुगमनमा सबै पसलमा म्याद गएका कोक फेन्टा र स्प्राइट फेला परेका थिए । ती पेय पदार्थ बिक्री गर्न राखेको अवस्थामा फेला परेको अनुगमन समितिका सदस्य तथा बडा ९ का वडा अध्यक्ष प्रमोद आचार्यले बताउनुभयो । 

ग्रामीण भेगका चोकमा रहेका पसलको अनुगमन गर्दा म्याद गुज्रिएर कुहिएका वस्तु समेत फेला परेका छन् । नगरपालिकाले चाडपर्व लक्षित गरी वडाको सबै पसलमा पुगेर छड्के अनुगमन गरेको बुद्धभुमि नगरपालिकाका उद्योग वाणिज्य तथा सहकारी फाँटका अधिकृत विजय भुसालले बताउनुभयो । 

अनुगमनका क्रममा भारतमा उत्पादन भएका अधिकांश सामग्रीको उत्पादन मिति नै भएको देखिएको थियो । इमिलिया हाटबजारबाट अवैध र तोकिएको भन्दा कम परिमाण देखाउने ढक जफत गरिएको थियो ।