• २७ पुस २०८१, शनिबार

भाइरल ज्वरो र डेङ्गीका बिरामी बढे

blog

तनहुँको दमौली अस्पतालमा पुगेका बिरामी र आफन्त ।

अमरराज नहर्की

तनहुँ, कात्तिक १३ गते। केही दिनदेखि यता तनहुँको दमौली अस्पतालमा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढ्दै गएका छन्। बिरामीको चाप बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ।

१५ शय्या अनुमति पाएको अस्पतालमा आन्तरिक स्रोतबाट  ५०  शय्याको सञ्चालन गरिएको भए पनि बिरामीको चाप धेरै हुँदा शय्याको अभाव हुने गरेको दमौली अस्पतालका प्रशासन शाखाका प्रमुख दिनेश पण्डितले बताउनुभयो।  

विशेष गरेर डङ्गुका बिरामीको चाप बढेको उहाँले बताउनुभयो। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म करिब एक हजार डेङ्गुको बिरामी आएको पण्डितले जानकारी दिनुभयो। दसैँदेखि नै डङ्गुका बिरामी बढेका पण्डितले बताउनुभयो।  

दैनिक तीन सय ५० देखि चार सय  बिरामी आउने गरेकोले चाप धेरै हुँदा जनशक्तिको अभाव भएको पण्डितले जनकारी दिनुभयो। पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले बताउनुहुन्छ।  

व्यास नगरपालिकाको सहरी क्षेत्र वडा नम्बर १, २, ३, ४ र ५ मा डेङ्गीका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेकोले बिरामी चाप धेरै भएको अस्पतालले जनाएको छ। 

अस्पतालमा आएका बिरामीमध्ये चालु आर्थिक वर्ष साउनमा ४३, भदौमा दुई सय ८१ र असोजमा चार सय जनामा डेङ्गुको सङ्क्रमण भएको अस्पताले जनाएको जिल्ला स्तरीय दमौली अस्पतालमा तनहुँका अतिरिक्त लमजुङको मध्य नेपाल, गोरखाको पालुङटार नगरपालिका र कास्कीको रुपा गाउँपालिका बिरामी समेत आउने अस्पताल प्रशासनले जनाएको छ।