• २७ पुस २०८१, शनिबार

तनहुँमा कुष्ठ रोग नियन्त्रण तर्फ उन्मुख

blog

दमौलीस्थित स्वास्थ्य कार्यालयको भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, कात्तिक १३ गते । तनहुँ जिल्लामा कुष्ठ रोग नियन्त्रण तर्फ उन्मुख भएको छ । जिल्लामा हाल दुई जना मात्रै कुष्ठ रोगका बिरामी रहेका छन् । सङ्ख्या घट्दै गइरहेकाले तनहुँ कुष्ठ रोग नियन्त्रणतर्फ उन्मुख रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारी बताउनुभयो ।

अधिकारीले भन्नुभयो, ‘‘दुई जनामा नयाँ कुष्ठ रोगी देखापरे पनि पुराना कुष्ठ रोगीहरू छैनन् ।’’ पहिला कुष्ठ रोगीहरू समाजमा खुल्न नचाहने भएकाले उपचारमा समस्या हुने गरेकोमा हाल जनचेतनामा वृद्धि भई खुल्न थालेपछि नियन्त्रण तर्फ उन्मुख भएको  स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

चिकित्सकका अनुसार कुष्ठरोग एक प्रकारको सरुवा रोगमध्ये कम सर्ने रोग हो । यो रोग माइक्रोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म कीटाणुबाट लाग्छ । यस रोगले छाला र सतहको स्नायुमा असर गर्दछ । यो रोगको समयमै उपचार नगर्दा अङ्गभङ्ग हुने गर्दछ ।

कुष्ठरोग मुख्यतया श्वासप्रश्वासको माध्यमबाट सर्दछ । धेरै कीटाणु भएको र उपचार नलिएको बिरामीले श्वास फेर्दा वा हाछ्युँ गर्दा कुष्ठरोगका कीटाणुहरू बिरामीको शरीरबाट बाहिर आउँछन् र निरोगी व्यक्तिले श्वास लिँदा उसको शरीरमा प्रवेश गर्दछन् ।

कुष्ठ रोग हातखुट्टामा भएको घाउको पिपबाट बिरामीको दिसा पिसाबबाट र बिरामीले प्रयोग गरेको भाँडा वा कपडा पुनः प्रयोगबाट सर्दैन । बिरामीलाई लामखुट्टे, उडुसले टोकेर पुनः स्वस्थ मानिसलाई टोक्दा वा यौन सम्पर्कबाट पनि यो रोग सर्दैन । त्यस्तै गर्भवती आमालाई रोग लागेको भएता पनि बच्चा पेटमा रहुन्जेल यो रोग सर्दैन अर्थात् बिरामी आमाबाट पनि बच्चा जन्मँदा स्वस्थ नै हुन्छ ।