• ९ मंसिर २०८१, आइतबार

सिँजामा लोकसंस्कृति बहस

blog

जुम्ला समाचारदाता

जुम्ला, कात्तिक १२ गते । नेपाली भाषाको उद्गम स्थल सिँजामा खस सभ्यताको लोकसंस्कृति विषयमा सङ्गोष्ठी एवं प्राज्ञिक बहस भएको छ । लोकवार्ता परिषद् नेपालको आयोजनामा सिँजा गाउँपालिका, हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाद्वारा संयुक्त रूपमा सिँजाको नराकोटमा बृहत् भेला गरी यहाँको लोकसंस्कृतिबारे प्राज्ञिक बहस भएको हो । 

बहसमा डा. शशि थापा पण्डितद्वारा खस जातिको उत्पत्ति र सांस्कृतिक प्रभाव, संस्कृतिविद् शीतल गिरीद्वारा मष्टो र खस जाति, सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालद्वारा खस मौलिक चाडपर्व र मूल्यबोध, शिक्षक बुद्धिजीवी देवराज धितालद्वारा खस सम्पदाहरूको संरक्षणको प्रश्न, नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीद्वारा सिँजा सभ्यताका परम्परागत सञ्चारमाध्यमका विषयमा कार्यपत्र प्रस्तुत भएका थिए । 

लोकवार्ता परिषद् नेपालका केन्द्रीय अध्यक्ष प्राडा भवेश्वर पङ्गेनी, सल्लाहकार प्राडा माधवप्रसाद पोख्रेल, प्राडा कुसुमाकर न्यौपाने, प्राज्ञ तथा लोकगायक यज्ञराज उपाध्याय, प्राडा ध्रुवप्रसाद घिमिरे, मनोहर लामिछाने, डा. शशि थापा पण्डितसहित २२ जना प्राज्ञ व्यक्तित्व र जुम्ला निवासी खोज पत्रकार राजबहादुर कुँवरसहितको टोलीद्वारा सुर्खेत हुँदै दुल्लु, कालीकोट, जुम्लाको सिँजा, तातोपानीमा प्राज्ञिक बहस गरिएको थियो । 

बहस उद्घाटन गर्दै कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले सिँजा सुन, हिरा र मोतीमाथिको खजाना भएकाले यसको संरक्षण तथा खोजी आवश्यक रहेको बताउनुभयो । उहाँले यस क्षेत्रको सभ्यता जोगाउने विषयमा सबैको भूमिका हुनुपर्ने उल्लेख गर्नुभयो । हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही, सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल, कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदार आचार्यले एकमतमा सिँजा सभ्यता र संरक्षणका विषयमा सङ्घीय सरकार, प्रदेश सरकारले जोड दिनुपर्ने सुझाव दिनुभयो । 

लोकवार्ता परिषद् नेपालका केन्द्रीय अध्यक्ष भवेश्वर पङ्गेनीले खस सभ्यता जोगाउन लोकवार्ता परिषद् नेपालको जन्म भएको र यस पटक कर्णाली क्षेत्रमा सङ्गोष्ठी गरिएको जानकारी दिनुभयो । सो अवसरमा कनकासुन्दरी गाउँपालिकाको कर्णाली खस सांस्कृतिक मञ्च जुम्लासहित स्थानीय कलाकारले आआफ्ना कला प्रस्तुत गरेका थिए ।