• २६ पुस २०८१, शुक्रबार

बाढीले आरक्षका वन्यजन्तुमा क्षति

blog

सप्तकोशी नदीको टापु क्षेत्रमा रहेको आरक्ष जङ्गल । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, कात्तिक १२ गते  । गत असोजको दोस्रो हप्ता सप्तकोशी नदीमा आएको ५६ वर्षयताकै ठुलो बाढीले आरक्ष जङ्गल क्षेत्र बगाउँदा कोशीटप्पु वन्यजन्तु आरक्षमा ठुलो क्षति पु¥याएको छ । सप्तकोशी नदीको पश्चिमी क्षेत्रमा रहेको आरक्ष जङ्गलमा बाढी पस्दा चराचुरुङ्गी तथा वन्यजन्तु बगाएको छ । वन्यजन्तु तथा चराको वासस्थान बाढीले बगाउँदा ठुलो क्षति पुगेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।  

आरक्ष कार्यालयको प्रारम्भिक खोजीबाट आरक्षको पश्चिमी क्षेत्र भाकलपुरबाट करिब १० हजारको सङ्ख्यामा रुखमा गुँड लगाएर बसेका बकुल्लाको वासस्थान नै बगाएको छ । आरक्षमा २०६५ सालका कोशी फुटेयता सबैभन्दा बढी यस पटकको बाढीले क्षति पु¥यााएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले बताउनुभयो । उहाँका अनुसार चार वटा अर्ना बाढीले बगाएकोमा दुई वटा भारतीय क्षेत्रबाट आरक्षमा फर्केका छन् । त्यस्तै सात वटा चित्तल बाढीले बगाएको छ । बाढीले अन्य जनावर पनि बगाएको हुन सक्ने उहाँले बताउनुभयो । 

बढीसँगै नदी आसपासको आरक्ष जङ्गल जलमग्न हुँदा जङ्गलका जनावर प्रभावित बनेका छन् । ससाना जीवजन्तु कति मरे, कतिको सङ्ख्यामा क्षति भए, घाइते भए भन्ने तथ्याङ्क विवरण भने आरक्ष कार्यालयसँग छैन । संरक्षण अधिकृत चौधरीका अनुसार ठुला जनावरको मात्रै तथ्याङ्क आरक्ष कार्यालयसँग छ । कोशीटप्पुमा अर्ना पाँच सय, चरा ५५३, जङ्गली हात्ती १२ वटा, फूल फुल्ने र नफुल्ने पाँच हजार वनस्पति रहेका छन् । सप्तकोशी नदीमा १२७ प्रजातिका माछा पाइने गरेको आरक्ष कार्यालयले जनाएको छ । साना वन्यजन्तु चित्तल, लगुना, गोही, नीलगाई, बँदेल, स्याललगायतका जनावरको तथ्याङ्क भने नराखिएको उहाँले बताउनुभयो । 

वर्षायाम टरिसकेपछि परेको अविरल वर्षाले सप्तकोशी नदीमा पाँच दशकयताकै पानीको उच्च बहाब मापन गरिएको थियो । बहाबले कोशी क्षेत्रका टापुमा रहेको जङ्गल क्षेत्रमा आश्रित जङ्गली जनावर नीलगाई, हरिण, बँदेल, खरायोलगायतका अन्य वन्यजन्तुको वासस्थान बगाएको छ । नदीले बेला बेला धार परिवर्तन गर्दा नदी क्षेत्रमा बालुवाका टापु बन्ने गरेका छन् । त्यही टापुको घाँसे मैदानमा चरा र जनावर आश्रित हुँदै आएका थिए ।

अर्ना (जङ्गली भैँसी) र चराका लागि प्रख्यात रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा गत वर्ष पुष्पा र अञ्जली ल्याइएसँगै आरक्षको शोभा बढेको थियो । १७५ वर्गकिलोमिटर क्षेत्रफमा फैलिएको आरक्ष कार्यालय २०३२ सालमा स्थापना भएको हो । नेपालमा अति दुर्लभ मानिएको जङ्गली भैँसी (अर्ना) को संरक्षण गर्नु आरक्षको मुख्य उद्देश्य रहेको छ । सुनसरी र सप्तरीलाई छोएर सप्तकोशी नदीभित्र बनेको बालुवाको टापुमा आरक्ष जङ्गल रहेको छ । टापु अर्ना र चराको मुख्य वासस्थानका रूपमा रहेको छ । 

आरक्षमा चरा र वन्यजन्तु हेर्नकै लागि अमेरिका, बेलायत, फ्रान्स, चीन, रसिया आदि देशबाट प्रत्येक वर्ष पर्यटक भित्रिने गरेका छन् । विशेष गरी कोशीटप्पुमा चरा, नेपालको कोशीटप्पुमा मात्र पाइने अर्ना, गँैडा, हात्ती हेर्न आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् ।