मानिसले आफ्ना आवश्यकता पूरा गर्न प्राकृतिक स्रोतसाधनको उपयोग गर्छन् । यस्ता स्रोतसाधन भावी पुस्ताका लागि पनि आवश्यक पर्छ । आफ्नो चाहना र आवश्यकता पूरा गर्दा प्राकृतिक स्रोतसाधनको संरक्षण गर्दै आगामी पुस्ताले पनि निरन्तर उपयोग र उपभोग गर्न पाउनु पर्छ भन्ने सोचबाट दिगो विकासको अवधारणा आएको हो । विकासका काम गर्दा प्राकृतिक स्रोतसाधनको निरन्तरता र टिकाउ हुनु पर्छ भन्ने मूल्य मान्यताबाट दिगो विकासको अवधारणा आएको हो । यद्यपि यो केवल प्राकृतिक स्रोतसाधन र वातावरणसँग मात्र सीमित विषय नभएर भौतिक, आर्थिक र सामाजिक विषय पनि हो । यसरी मानव समुदायको विकास प्रक्रियाका कार्य चयन गर्दा भावी पुस्ताको उन्नति र विकाससँग कुनै सम्झौता नगर्ने र उनीहरूलाई बाधा नपु¥याउने चेतनाबाट दिगो विकासको अवधारणा आएको हो ।
विश्वमा अत्यधिक जनसङ्ख्या बढ्नु र यसबाट अनियन्त्रित बसोबास, प्राकृतिक स्रोतसाधनको विवेकहीन दोहन हुनु, बढ्दो सहरीकरण, मरुभूमीकरण, तीव्र आद्यौगिकीकरण, बजार विस्तार र ठुला ठुला आयोजना निर्माण सञ्चालन भए । आणविक शक्तिको विस्तारले विकसित मुलुकले विकासको नाममा स्रोतसाधनको अत्यधिक दोहन गरेकै कारण वातावरणीय असन्तुलन पैदा हुन गएको हो भन्ने ठहरका साथ दिगो विकासको अवधारणा आएको हो
नेपालमा दिगो विकासको इतिहास
नेपालमा दिगो विकासको इतिहास निकै पहिलादेखि सुरु भएको पाइन्छ । यहाँका आदिवासीको ज्ञान र सिपले गर्दा प्राकृतिक स्रोतको संरक्षण र वातावरणीय सन्तुलन कायम भयो । यो एउटा दिगो विकासको अवधारणा थियो । माझी समुदायले खोलामा माछा मारेर जीविका गर्दथे तर उनीहरूले खोलामा माछा कहिल्यै पनि अभाव हुन दिएनन् । उनीहरूले दिगो विकासको सिप त्यतिबेलै राम्रोसँग प्रयोग गरेका थिए । जति नै सङ्ख्यामा माझी बढे पनि खोलामा माछा मार्ने पेसाबाट उनीहरू पलायन हुन परेन बरू आज उनीहरू बिस्तारै विस्थापित हुँदै गएका छन् ।
सयौँ वर्ष अगाडिदेखि परम्परातगत रूपमा खेती गर्दै आएका आदिवासी तथा जनजातिको सिपको कारणले वन जङ्गल र पर्यावरण जोगिएको थियो । वनजङ्गलमा उपलब्ध जडीबुटी वनस्पतिको पहिचान, सङ्कलन र त्यसको प्रयोग उनीहरूलाई राम्रोसँग थाहा थियो । प्राचीन कालदेखि नै हिमाली भेगका जनताले आम्ची प्रथालाई अवलम्बन गर्दै आएका थिए । उनीहरूले हिमाली वनस्पति र जडीबुटी जोगाएर राखेका थिए । यसलाई परम्परागत सिप र दिगो विकासको अवधारणासँग जोडेर हेर्न सकिन्छ । काठमाडौँका स्थानीय समुदायले ठाउँ ठाउँमा धारा, हिटी र पोखरी बनाएर जमिनमा पानी पठाउने र पानीको अभाव हुन नदिने कार्य सयौँ वर्ष अगाडिदेखि गर्दै आएका थिए, जुन दिगो विकास लक्ष्यसँग जोडिएको विषय हो । यो परम्परागत सिप ज्ञान पनि हो ।
दिगो विकासको औचित्य
गरिबी र भोकमरीको अन्त्य गर्ने जस्तो विषय विश्वका सबै देशले वाचा गरेको विषय हो । यसलाई अन्त्य गर्न सबैको साझा प्रयत्न रहन्छ । देशभित्र र अन्य देशहरूबिच रहेको बहुआयामिक असमानता र भेदभावको अन्त्य गर्न, जलवायु परिवर्तनका असर सम्बोधन गर्न र वातावरणीय दिगोपना अभिवृद्धि गर्न पनि दिगो विकास लक्ष्य महìवपूर्ण छ । मानव अधिकारको रक्षा गर्ने, महिला बालिकाको सशक्तीकरण गर्दै लैङ्गिक समानताको प्रवर्धन गर्ने, प्राकृतिक स्रोतसाधनको रक्षाको सुनिश्चितता गर्ने र जलवायु परिवर्तन न्यूनीकरणका लागि कार्य गर्ने सङ्कल्प गरिएकाले दिगो विकासको औचित्य देखिन्छ । विभिन्न तहमा देशको विकास र क्षमतालाई ध्यानमा राख्दै दिगो, समावेशी र स्थायी आर्थिक समृद्धिको साझेदारी र सबैलाई सम्मानजनक कामको उपलब्ध गराउने अवस्था सिर्जना गर्ने दिगो विकास लक्ष्यमा उल्लेख भएकाले यसको औचित्य पुष्टि गर्नु पर्छ ।
दिगो विकास उपलब्धिको अवस्था
दिगो विकासमा नेपालले हालसम्म प्राप्त गरेका उपलब्धिमध्ये गरिबी अन्त्य गर्ने र असमानता घटाउने यी दुई लक्ष्यलाई उपलब्धिका रूपमा हेरिएको छ । गुणस्तरीय तथा समावेशी शिक्षा, लैङ्गिक समानता, ऊर्जामा पहुँच, भूमिमा जीवन र दिगो विकासका लागि सहकार्य जस्ता लक्ष्य मध्यम उपलब्धि मानिन्छन् । ढिलो गतिमा प्राप्त भएका उपलब्धिमा भोकमरी हटाउने, स्वास्थ्य र आरामदायी जीवन, स्वच्छ पानी र सफाइ, रोजगार र आर्थिक समृद्धि, दिगो सहरी विकास, स्वच्छ वातावरण कायम राख्ने र शान्ति, न्याय र सबल संस्थाको विकास रहेका छन् । प्रगति नै नभएका दुई लक्ष्यमा उद्योग तथा पूर्वाधार र उत्पादन तथा उपभोगमा जिम्मेवार हुने लक्ष रहेका छन् । समुद्री जीवसम्बन्धी लक्ष्य नेपालका लागि उपयुक्त नभएको भनेर छोडिएको छ । यस कारण नेपालले जम्मा १६ वटा दिगो विकास लक्ष्य पूरा गर्नुपर्ने अवस्था छ ।
दिगो विकासको सिद्धान्त
दिगो विकास लक्ष्य उपलब्धि निम्न सिद्धान्तमा आधारित छ ।
(क) आधारभूत आवश्यकताको सिद्धान्त
मानिसका लागि नभई नहुने आधारभूत आवश्यकता परिपूर्ति प्रकृतिबाट प्राप्त हुने गर्छ । प्रकृतिले निःशुल्क प्रदान गरेका यस्ता स्रोतसाधनको सदुपयोग गर्दा प्रकृतिलाई नै जोगाउनु पर्छ । सम्पूर्ण प्राणी जगत्कै निमित्त आवश्यक पर्ने खाना, वासस्थान, स्वच्छ हावा, शुद्ध पानी, न्यानो कपडा आदिको आवश्यकता प्रकृतिले नै उपलब्ध गराउँछ । यस्ता अनिवार्य आवश्यकताका वस्तु भावी पुस्ताका लागि पनि चाहिन्छ भन्ने सिद्धान्तमा दिगा विकास लक्ष्य उपलब्धि रहेको छ ।
(ख) दिगो स्रोत व्यवस्थापनको सिद्धान्त
कुनै पनि विकास कार्यका लागि होस वा मानवीय आवश्यकता पूरा गर्न किन नहोस् स्रोतसाधनको उपयोग गर्दा योजना, समय तालिका, त्यसको नतिजालाई ध्यानमा राखेर स्रोतसाधनको बाँडफाँटलाई ध्यान पु¥याउन जरुरी हुन्छ । यसका लागि स्रोत व्यवस्थापनको सिद्धान्त उपयागी हुन सक्छ ।
(ग) अन्तरपुस्ता समन्वयको सिद्धान्त
पृथ्वीमा मानव जाति रहेसम्म उनीहरूका लागि गाँस, बास, कपास जस्ता आधारभूत आवश्यकता चाहिन्छ । यस्ता आवश्यकता वर्तमानका लागि मात्र नभएर भावी पुस्ताका लागि पनि आवश्यक छ । यसरी प्रकृतिमा उपलब्ध स्रोतसाधनको उपयोग गर्दा अन्तरपुस्ता समन्वयको सिद्धान्तलाई ध्यान दिन जरुरी छ ।
(घ) जैविक विविधता र प्राकृतिक स्रोतसाधनको सिद्धान्त
पृथ्वी आफैँमा सम्पूर्ण प्राणी, वनजङ्गल, जीवजन्तुका लागि एउटा सिङ्गो घर हो । पर्यावरणीय अवस्था जोगाउन सकेमा मात्र यी सबै प्राणी, वनस्पति र पृथ्वीबिचका सन्तुलन कायम हुन सक्छ । अन्यथा सन्तुलन बिग्रन गई प्राकृतिक विपत्ति उत्पन्न हुन सक्छ । तसर्थ जैविक विविधताको सिद्धान्तका आधारमा दिगो विकास उपलब्धिको विकास भएको हो ।
(ङ) समतामूलक सहभागिताको सिद्धान्त
दिगो विकास उपलब्धिका लागि सबैको समान सहभागिताको आवश्यकता पर्छ । दिगो विकास उपलब्धिका लागि तय गरिएका विषयप्राप्त गर्न सबैको सहभागिता, इच्छा, चाहना, प्रतिबद्धता आवश्यक पर्छ । यस कारण दिगो विकास लक्ष्य सहभागिताको सिद्धान्तमा आधारित हुन्छ ।
(च) मानवकेन्द्रित सिद्धान्त
दिगो विकास उपलब्धिलाई नियाल्दा यो मानवकेन्द्रित देखिन्छ । मानिसको सिङ्गो भौतिक, सामाजिक, आर्थिक विकासका लागि मानवीय संस्कार, संस्कृति, आवश्यकता, चाहना, सहानुभूति, समवेदना जस्ता विषयलाई अलग गर्न मिल्दैन । यसैले दिगो विकास मानव केन्द्रित सिद्धान्तमा आधारित भनिएको हो ।
चुनौतीको सामना
दिगो विकास लक्ष्य प्राप्तिका लागि निम्न चुनौती सामना गर्नुपर्ने छ ।
क. जातीय भेदभाव तथा छुवाछुत
समाजमा जरो गाढेर बसेको तर कानुनीको नजरमा दण्डनीय र अपराधजन्य विषय जस्तै जातीय भेदभाव तथा छुवाछुत निर्मूल पार्नु पर्ने चुनौती हो ।
ख. लैङ्गिक विभेद
महिला हिंसा, लैङ्गिक विभेद, एउटै प्रकृतिको काममा पनि पुरुषको हकमा बढी र महिलाको हकमा घटी ज्याला दिने गरिन्छ । महिलामाथि हुने यौन हिंसा कुटपिट आदिले गर्दा उनीहरूको अवस्था झन् कमजोर बनेकाले यसको अन्त्य गर्नु प्रमुख चुनौती छ ।
ग. अन्धविश्वास
पुरुषले गर्ने कार्य महिलाले गर्न नहुने जस्ता रूढिवादी विचार र अन्धविश्वास जस्ताको तस्तै छ । यस्ता अन्धविश्वास, कुरीति र परम्परावादी सोच समाजलाई अगाडि बढ्न नदिने तगारो हो ।
घ. धनी र गरिबबिचको खाडल
आज विश्व भूमण्डलीकरण र उदारीकरणको कारणले गर्दा एकातिर धनी झन् धनी र गरिब झन् गरिब हुँदै गएका छन् । यस प्रकारको खाडल कम गर्नु अर्को चुनौती हो ।
ङ. स्रोतसाधनको असमान वितरण
उपलब्ध स्रोतसाधन र अवसर सही र न्यायोचित तवरले वितरण हुन सकिरहेको छैन । जमिन जोत्नेहरूको हातमा हुनुपर्ने तर जोत्नेहरूको हातमा जमिन नभएपछि भएका सबै जमिनलाई उत्पादनमा ल्याउन सकिन्न । जमिन ओगटेर राख्ने तर उत्पादन नगर्ने हो भने उत्पादकत्व बढ्न सक्दैन । यो पनि दिगो विकासको चुनौती हो ।
च. दलहरूको भूमिका
दिगो विकास लक्ष्य हासिल गर्न राजनीतिक दलहरूको भूमिका प्रभावकारी हुन सकेको छैन । दलहरूले देशमा राजनीतिक परिवर्तनका लागि त्याग र बलिदान गरे पनि सामाजिक आर्थिक विकासका लागि फड्को मार्न नसकेपछि जनतामा नैराश्यता आउनु पनि चुनौती हो ।
छ. सूचना प्रविधिको उपयोग
आज हरेक मानिसलाई सूचना तथा प्रविधिको ज्ञान हुन आवश्यक छ । विश्व आज कृत्रिम बुद्धिको अवस्थामा पुगेको छ । यस्तो अवस्थामा नेपालले पनि सूचना तथा प्रविधिको क्षेत्रमा व्यापक विकास गर्नुपर्ने छ । हाम्रा दुई छिमेकी मुलुक चीन र भारतले यस क्षेत्रमा व्यापक विकास गरिसकेको अवस्था छ ।
ज. जनचेतनाको अभाव
दिगो विकास लक्ष्य जनस्तरसम्म पु¥याउन व्यापक जनचेतना फैलाउन जरुरी छ । जनताले आत्मसात् गरेको योजना तथा विकास नै दिगो हुन सक्छ अन्यथा सहभागिताबिनाको विकास बन्न जान्छ । जनचेतना फैलाउने कार्य पनि एउटा दिगो विकास लक्ष्यको चुनौती हो ।
झ. स्थानीयकरणको समस्या
दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न सकेमा मात्र प्राकृतिक स्रोतसाधनको संरक्षण र सदुपयोग हुने छ । वनजङ्गल र वातावरण जोगाउने कार्यमा स्थानीय जनताले महत्वपूर्ण भूमिका खेल्न सक्छ तर हालसम्म पनि पर्याप्त स्थानीयकरण हुन नसक्नु, स्थानीय तथा प्रदेश सरकारले अपनत्व लिने वातावरण नहुनु पनि चुनौतीको विषय हो ।
निष्कर्ष
कुनै पनि देशको विकास लक्ष्य आफ्नो राष्ट्रका नागरिकलाई सुखी बनाउने, समुन्नत र खुसी राख्ने हुन्छ । नेपालको सन्दर्भमा पनि यही नियम लागु हुन्छ । नेपालको प्राकृतिक स्रोत, जल, जङ्गल, र जमिनको सही ढङ्गले सदुपयोग गरी आउने पुस्ताका लागि पनि सही ढङ्गले उपयोग गर्न पाउने गरी हस्तान्तरण गर्नु, विकासको नाममा विनाश नगरी विवेकशील ढङ्गले प्रयोग गर्नु नै दिगो विकास लक्ष्य हो । यसो भएमा नेपालले लिएको समृद्ध राष्ट्र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा हुन सक्छ । नेपालका अग्ला हिमालदेखि तराईका घना जङ्गलसम्मको भूमि, नदीनाला, फाँट भावी पुस्ताले पनि देख्न र उपयोग गर्न पाउने छन् । आज जे जति प्राकृतिक स्रोतसाधनको दोहन भइरहेको छ त्यसलाई रोक्नु जरुरी छ । वनजङ्गल, जडीबुटी सङ्कलन, नदीनालामा हुने उत्खनन कार्यलाई रोक्नु पर्छ । विकासका नाममा भएका विनाश तथा प्राकृतिक विनाशसमेतलाई रोक्न आवश्यक छ ।