• १२ कात्तिक २०८१, सोमबार

कीर्तिपुरको दर्शन सहकारीले डेढ अर्ब बढी भुक्तानी गर्नुपर्ने

blog

राममणि दाहाल

हेटौँडा, कात्तिक १२ गते । बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।

कीर्तिपुर नगरपालिका ९ मा रहेको सो सहकारी संस्थाले दुई वर्षभन्दा लामो समयदेखि बचतकर्ताहरूको बचत फिर्ता गर्न नसकेका कारण सहकारी मन्त्रालयले समस्याग्रस्त सहकारी घोषणा गरेको हो । 

बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले मन्त्रालयको प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ को उपदफा (२) बमोजिम जानकारी दिनुभयो ।

उहाँले नौ हजार ८५७ शेयर सदस्यको बचत फिर्ता गर्न बाँकी रहेको भन्दै सहकारी संस्थाले बचतकर्ताको एक अर्ब ५२ करोड ८२ लाख रुपियाँ भुक्तानी गर्न बाँकी रहेको देखिएको बताउनुभयो ।

प्रदेशका सहकारी रजिस्टार र सहकारीको सञ्चालकबिच समस्या समाधान गर्न दुई वर्षदेखि पटक–पटक छलफल भए पनि समस्या समाधान नभएपछि र शेयर सदस्यहरूको बचत भुक्तानी नगरेपछि समस्याग्रस्त सहकारी घोषणा गरिएको मन्त्री ठकुरीको भनाई छ । 

सहकारीका अध्यक्ष दिनेश दर्शनधारीलगायतका पदाधिकारीको संलग्नतामा सहकारी समस्याग्रस्त बनेको देखिएको उहाँले बताउनुभयो । सहकारी संस्थाको वेबसाइटमा संस्थाको उपाध्यक्षमा तारा तुलाधर, सचिव यशोदा राई, लेखा समिति संयोजकमा सनिता कटुवाल, प्रमुख कार्यकारी अधिकृतमा सवर्ण महर्जनलगायतको नाम रहेको छ ।

सहकारीको गत वर्ष पुस २८ गते भएको १३ औँ साधारण सभामा कोषाध्यक्ष जेनु महर्जनले आर्थिक प्रतिवेदन पेस गरेको देखिन्छ ।