• २६ पुस २०८१, शुक्रबार

लाइन काटेपछि उत्पादन ठप्प

blog

भैरहवा समाचारदाता

भैरहवा, कात्तिक १२ गते । नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटेपछि उद्योगको उत्पादन ठप्प भएको छ । डेडिकेटेड तथा ट्रङ्क लाइन विवादमा रहेका रुपन्देहीका सबै उद्योगको लाइन प्राधिकरणले काटिदिएको छ । प्राधिकरणको लाइन काटिँदा सबै उद्योगको उत्पादन बन्द भएको सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताउनुभयो ।

डेडिकेटेड तथा ट्रङ्क लाइन विवादमा रहेका उद्योगले विद्युत् महसुल भुक्तानी नगरेको भन्दै प्राधिकरणले लाइन काटिदिएको हो । प्राधिकरणले बुटवल–भैरहवा कोरिडोरमा रहेका ११ उद्योगसहित १८ उद्योगको लाइन काटिदिएको छ । 

बुटवलस्थित नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय मातहतमा रहेका विद्युत् वितरण केन्द्रबाट खटिएका कर्मचारीको टोलीले ती उद्योगको लाइट काटिदिएको पन्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहुले बताउनुभयो ।

प्राधिकरणका लुम्बिनी प्रदेश कार्यालय प्रमुख हरिप्रसाद पाण्डेले देशभर लाइन काटिएका ३४ वटा उद्योगमध्ये २३ वटा लुम्बिनी प्रदेशका रहेको बताउनुभयो । उहाँका अनुसार विद्युत् लाइन काटिनेमा रुपन्देही जिल्लाका १८ वटा छन् ।

प्राधिकरणलाई भुक्तानी गर्न बाँकी रहेको बक्यौता भुक्तानीका लागि सबै वितरण केन्द्रबाट पत्राचार भइरहेको र तोकिएको अन्तिम दिन बिहीबारसम्म पनि भुक्तानी नगरिएका ती उद्योगको विद्युत् लाइन काटिएको उहाँले बताउनुभयो ।

विद्युत् लाइन काटिएका उद्योगमा परासी वितरण केन्द्र अन्तर्गतका सर्वोत्तम सिमेन्ट, बुटवल सिमेन्ट र लक्ष्मी स्टिल छन् । बुटवल वितरण केन्द्र अन्तर्गतका दुई वटा जिबी टेक्सटाइल उद्योग छन् । अमुवा वितरण केन्द्र अन्तर्गतका अर्घाखाँची सिमेन्ट र विशाल सिमेन्ट छन् । भैरहवा वितरण केन्द्र अन्तर्गतका एभरेस्ट रोलिङ मिल, विनायक स्पात प्रालि, जगदम्बा सिन्थेटिक्स, एसआर फुड्स, घराना फुड्स र सिद्धार्थ पेटप्लास्ट उद्योग छन् ।

नयाँ मिल वितरण केन्द्र अन्तर्गतका गोयन्का फुड्स रुपन्देही, भलबारी स्वचालित चामल कारखाना, श्याम प्लास्टिक उद्योग, पन्चकन्या प्लास्टिक इन्डस्ट्रिज, पन्चकन्या स्टिल इन्डस्ट्रिज र शुभ लक्ष्मी पोलिमर्स उद्योग छन् ।