• २६ पुस २०८१, शुक्रबार

दक्ष जनशक्ति उत्पादनको तयारी

blog

गोरखापत्र समाचारदाता 

भक्तपुर, कात्तिक १२ गते । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनशक्ति उत्पादन गर्नका लागि ‘क्लिनिकल फेलोसिप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । जनशक्ति उत्पादन गर्नका लागि नेपाल मेडिकल काउन्सिले स्वीकृति दिएपछि केन्द्रले यसै वर्षदेखि ‘मिर्गौला प्रत्यारोपण सर्जरी’ र ‘रिनल प्रत्यारोपण मेडिसिन’ विषयको फेलोसिप सञ्चालन गर्ने भएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रत्यारोपण सेवालाई सातै प्रदेशमा विस्तार गर्ने उद्देश्यले क्लिनिकल फेलोसिपका लागि स्वीकृति दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “सातै प्रदेशमा मिर्गौला डायलासिस तथा प्रत्यारोपण सुरु गर्नु पर्छ । केन्द्रलाई विकेन्द्रीकरण गरेर प्रत्यारोपण सेवा विस्तार गर्दा बिरामीलाई पनि सहज हुने छ ।” 

उहाँले जटिल मानिने मिर्गौला रोग, अर्बुद रोग र मुटु रोगको उपचार देशव्यापी विस्तार गर्नुपर्ने बताउनुभयो । हाल काठमाडौँबाहेक पोखरा र सुर्खेतमा मात्र मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ । 

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मिर्गौला प्रत्यारोपण सेवालाई सातै प्रदेशमा विस्तार गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले शल्यक्रिया विषयमा एक जना र मिर्गौला प्रत्यारोपण चिकित्सा विषयमा एक जनालाई एकबर्से फेलोसिप दिने बताउनुभयो । 

उहाँले मिर्गौला र कलेजोका अत्यधिक बिरामीको चाप हुने भन्दै केन्द्रलाई प्रत्यारोपणसम्बन्धी विशेषज्ञ जनशक्ति उत्पादन गर्ने थलोका रूपमा विकास गर्न शैक्षिक प्रतिष्ठानका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । 

डा. श्रेष्ठले प्रत्यारोपणसम्बन्धी शैक्षिक कार्यक्रम एमडी, एमएस, डिएम, एमसिएचलगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतीशकुमार देवले केन्द्रबाट पेस भएका कागजातका आधारमा क्लिनिकन फेलोसिपका लागि स्वीकृति दिएको बताउनुभयो । केन्द्रले हालसम्ममा एक हजार जनाको मिर्गौला र ३० जनाको कलेजो प्रत्यारोपण गरेको छ ।