काठमाडौँ, कात्तिक ११ गते । साविक विजेता बङ्गलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रङ्गशालामा आइतबार भएको सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलले हरायो । बङ्गलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गर्नुभयो ।
कप्तान सविना खातुनले दुई तथा रितु चक्मा र सेउली अजिमले एक गोल गर्नुभयो । भुटानका लागि डेकि ल्हाजोमले सान्त्वना गोल फर्काउनुभयो ।
बङ्गलादेश समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो । भुटान समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो । फाइनलमा बङ्गलादेशले नेपाल र भारतबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल र भारतको सेमिफाइनल खेल आजै साँझ ६:३० बजे हुनेछ । नेपाल समूह ‘बी’ को विजेता र भारत ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।