• ७ मंसिर २०८१, शुक्रबार

तीनै तहका सरकारको एकीकृत स्वास्थ्य योजना आवश्यक छ : मन्त्री भण्डारी

blog

कार्यक्रममा बोल्नु हुँदै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक ११ गते । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले तीन तहका सरकार मिलेर एकीकृत स्वास्थ्य योजना बनाउन अत्यावश्यक रहेको बताउनुभएको छ । 

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले रुकुमपश्चिमको मुसीकोटमा स्थानीय तहका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरूका लागि आयोजना गरेको मानसिक स्वास्थ्य विषयक अभिमुखीकरण कार्यक्रममा मन्त्री भण्डारीले जनताको स्वास्थ्य सवालमा गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो । 

उहाँले पछिल्लो समय मानसिक स्वास्थ्यको अवस्था थप गम्भीर बन्दै गइरहेकोले समस्या समाधानका लागि सबै क्षेत्र जिम्मेवार बन्नुपर्ने उल्लेख गर्नुभयो । मन्त्री भण्डारीले जनप्रतिनिधि र कर्मचारीहरूलाई बहानाबाजी गरेर काम नगर्ने छुट नरहेको समेत बताउनुभएको छ । उहाँले अरूको दबाबबाट भन्दा पनि आफै केही गर्छु भन्ने वाचाका साथ राजनीतिमा जोडिएको हुनाले जिम्मेवारीबाट पन्छिन नहुनेमा जोड दिनुभयो । 

उहाँले स्थानीय सरकार सबैभन्दा नजिकको सरकार भएकाले जनताको गुनासो तथा गाली बढी मात्रामा आउने गरेको यथार्थता रहकोले त्यसलाई स्वीकार गरेर थप जनमैत्री बन्ने अवसरका रूपमा लिन आग्रह गर्नुभयो । उहाँले चुनावपछि जनप्रतिनिधिहरू साझा बन्न नसकेकोले पनि बढी आरोप लाग्ने गरेको जनाउनुभयो । संविधानले आवश्यक हक तथा अधिकार व्यवस्था गरेको स्पष्ट पारेकाले नागरिकको कर्तव्य र दायित्व पनि अनुभूत गराउन आवश्यक रहेको उहाँको भनाइ छ ।