शशिधर पराजुली
विराटनगर, कात्तिक ११ गते । छन्दकवि रोहिणी रसिकको ‘छन्द उपासना’ कृति विमोचन गरिएको छ । विराटनगरमा एक समारोह आयोजना गरी कवि रसिकको छन्द कविता सङ्ग्रह विमोचन गरिएको हो ।
विमोचन समारोहमा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । पूर्वप्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्री पोखरेल, चेतना संस्करण प्रतिष्ठान नेपालका अध्यक्ष गङ्गा सुवेदीलगायत विभिन्न सङ्घसंस्थाका प्रमुखहरूले संयुक्तरूपमा पुस्तकको विमोचन गरेका थिए ।
समीक्षक छवि वैरागीले कृतिको समीक्षा गर्दै यस पुस्तकमा समाजिक विकृतिविरुद्ध आवाज उठाइएको र राष्ट्रप्रेम, मानवतावाद तथा विश्व शान्तिको कामना समेटिएको बताउनुभयो । कार्यक्रममा साहित्यकार प्रिन्स प्रमोद ढकाल, तारा पराजुली लगायतका स्रष्टाहरूले कविता वाचन गर्नुभएको थियो ।
शब्द मिडिया प्रकाशनद्वारा प्रकाशित सङ्ग्रहमा १२ वटा शास्त्रीय छन्दका ४९ वटा कविता समावेश गरिएका छन् । वक्ताहरूले कविले हरेक विषयवस्तुलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको बताउँदै यस सङ्ग्रहको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।