• ८ मंसिर २०८१, शनिबार

मनाङमा सजिलो छैन चौँरीपालन

blog

यदुप्रसाद भट्ट

मनाङ, कात्तिक ११ गते । जलवायु परिवर्तनको असर विस्तारै हिमाली जिल्लामा पर्न थालेको छ । मनाङका लेकमा रहेका भेडाच्याङ्ग्रा तथा चौंरीगोठ बेँसी झर्न थालेका छन् । वातावरण प्रतिकूल बन्दै अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले बेँसीतर्फ गोठ सार्न सुरु गरेका हुन् । 

पशुपालक किसानलाई जलवायु परिवर्तनले ठुलो असर पारेको मनाङ ङिस्याङ गाउँपालिका–६ केरकिनका सगर गुरुङले बताउनुभयो । चौंरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका गुरुङले ३ हजार ६ सय मिटर अग्लो स्थानमा चिसो बढ्न थाल्नु तथा बेमौसममा पनि हिउँ पर्न थालेपछि तलतिर खर्क सारिएको बताउनुभयो । 

मनाङ ङिस्याङ–८ जुलुमा सामूहिक रुपमा चार गोठ छन् । ती चार गोठमा सामूहिक रूपमा भेडाच्याङ्ग्रा तथा चौंरीपालन गरिन्छ । गुरुङले चिसो बढ्दै जाँदा घाँसको पनि अभाव हुने भएकाले ३ हजार ६ सय मिटर माथि रहेका गोठहरू बेँसीतर्फ सार्न सुरु गरेको बताउनुभयो । यति मात्र नभई उहाँले व्यावसायिक रूपमा किसानलाई पशुपालन गर्दा सरकारबाट कुनै पनि सहयोग नपाएकोमा गुनासो गर्नुभयो । पशुहरुको बीमा नहुँदा समस्या परेको उहाँको भनाइ छ । मनाङमा पशु बीमाका लागि सिद्धार्थ इन्स्योरेन्सलाई तोकिएको छ । तर सो इन्स्योरेन्सले आफ्ना कर्मचारी पनि नराख्ने, राखे पनि कर्मचारी कार्यालयमा नबस्ने आदि समस्या रहेको बताउनुभयो ।

सिद्धार्थ इन्स्योरेन्सका सूचना अधिकारी सुदर्शन आचार्यले हिमाली जिल्लामा स्थानीय कर्मचारी नै राख्नुपर्ने हो तर हामीले खोजेको जस्तो कर्मचारी पाएका छैनौं, बीचमा केही महिना कर्मचारी भएन भन्नुभयो । उहाँले छिट्टै कर्मचारीको व्यवस्थापन गरेर बीमा कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । 

सगर गुरुङको जस्तै समस्या अन्य पशुपालक किसानहरुलाई पनि रहेको मनाङ याक एन्ड चौरी संरक्षण संस्थाका अध्यक्ष सुरेश थकाली बताउनुहुन्छ । उहाँले किसानहरुलाई हिउँ चितुवाका साथै बेँसीतिर लाग्दा पाटे चितुवाको पनि डर हुने जानकारी दिनुभयो । जलवायु परिवर्तन र वन्यजन्तुको आक्रमणका कारण पशुचौपाया जोगाउन कठिन रहेको अवस्थामा थकालीले याक हेरालु नपाउँदा झनै समस्या थपिएको उल्लेख गर्नुभयो । 

अध्यक्ष थकालीले भन्नुभयो, "एकातिर पशु बीमा नहुने समस्या भने अर्कोतिर क्षति भएका पशुचौपायाको उचित मूल्याङ्कन हुन सकेको छैन, सबैतिर पहल गरेका छौं तर राज्यबाट पाउनुपर्ने सेवासुविधा हामी पशुपालकले पाउन सकेका छैनौं ।"

"जलवायु परिवर्तनले गर्दा हिउँचितुवाको आहार घट्दै गएको छ । पछिल्लो समयमा हिउँचितुवाको आहारा भनेको घरपालुवा जनावर नै हो, यसमा पनि याक बारै महिना चिसोमा बस्ने हुनाले हिउँचितुवाको आहारा बन्न पुगेको छ", अध्यक्ष थकालीले भन्नुभयो, "यसमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । हिउँचितुवा र याकको संरक्षण फुटबल खेलेर हुँदैन ।" उहाँले व्यवसायीबाट विस्तारै धराशयी हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

यसका बावजुद पनि आफूले उत्पादन गरेको दुग्धजन्य पदार्थ स्थानीय स्तरमा नै खपत हुने उहाँको भनाइ छ । थकालीले आफ्नो व्यक्तिगत फममा १ सय ८० याक चौँरी रहेको बताउनुभयो । मनाङभरि ४ हजारको हाराहारीमा याक चौँरीको सङ्ख्या छ ।

यसैबिच अध्यक्ष थकालीले गत वर्ष सोलुखुम्बुबाट ल्याइएका याक विस्तारै रमाउन थालेको बताउनुभयो । हावापानी नमिल्दा सोचेजस्तो गरी फस्टाउन भने सकेका छैनन् । युवालाई आकर्षित गरी व्यावसायिक रुपमा चौँरी पाल्न सके मनाङीले मनग्गे आम्दानी गर्न सक्नेमा दुईमत छैन । मनाङ ङिस्याङको हुम्डेपारिको लेकमा भेडाच्याङ्ग्रा पाल्दै आएका तथ्य गुरुङले असार महिनादेखि भेडाच्याङ्ग्रा अग्ला लेकमा रहेकोमा अहिले सबै खाली हुँदै आएको र अब बिस्तारै तल झार्दै लगेर कात्तिक महिनासम्म घरमा लगिने बताउनुभयो । उहाँले अब हरेक दुई हप्तामा होचा स्थानमा भेडाच्याङ्ग्रा गोठ सारिने बताउनुभयो ।