रामकृष्ण बोहरा
बागलुङ, असार ७ गते । आजकल हाइब्रिड जातले कृषि क्षेत्रका पुराना जातहरु लोप जस्तै भएका छन् । रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन् । यसै सन्दर्भमा बागलुङ नगरपालिका–१३ बलेवाको पैयुँपाटाले रैथाने धान संरक्षण गर्ने किसानलाई अनुदान दिने भएको छ ।
किसानको उत्पादनको आधारमा वडाले अनुदान कार्यक्रम घोषणा गरेको हो । वडा कार्यसमितिले निर्णय गरेर रैथानेका लागि तोकिएका पाँच थरी धानको उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो । आगामी आर्थिक वर्षबाट प्रतिमुरी एक÷एक हजार रुपियाँ अनुदान दिइने वडा अध्यक्ष नारायण शर्मा पौडेलले बताउनुभयो ।
वडा समितिले रैथाने जात मध्येबाट अनादी, झिनुवा, रमनी, जर्नेली र आँगा जातको धान लगाउने किसानलाई वडाले अनुदान दिन लागेको हो । आगामी मंसिरमा किसानको खेतमै पुगेर धान भरेपछि नगद हातमा राख्ने गरी बजेट समेत विनियोजन गरिएको पौडेलले जानकार दिनुभयो । ‘‘तोकिएको धान लगाएका किसानले असार साउनमै सूचना दिनुहुन्छ, त्यसको रेकर्ड वडाले राख्छ’’ पौडेलले भन्नुभयो ।
लोपोन्मुख धान भएकोले जोगाउन यो विधि र नीति लागू गर्न लागेको पौडेलको भनाई छ । पहिलो चरणमा किसानलाई अनुदान दिन वडाले ५० हजार रुपियाँ विनियोजन गरेको पौडेलले जानकारी दिनुभयो । हाइब्रिडले रैथानेको बीउ मासिन सक्ने अवस्था आएपछि संरक्षणका लागि पनि यो निर्णयमा वडा समिति पुगेको हो । उन्नत जातका धानमा तत्कालका लागि फाइदा देखिए पनि दीर्घकालीन बेफाइदा धेरै भएपछि पुराना र स्थानीय बीउको संरक्षण गर्न थालिएको पौडेलले बताउनुभयो ।
‘‘उत्पादन बढाउने र रैथाने धानबालीको पनि संरक्षण गर्ने काममा सबैले हातेमालो गर्नुपर्छ’’ बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भन्नुभयो, ‘‘ठुलो परिणाममा धान उत्पादन गर्ने किसानलाई बजारीकरणमा साथ दिने छौं ।’’ उन्नत जातको धानमा बढी उत्पादन हुनुको सट्टा बाला नलाग्ने र विभिन्न रोगको सङ्क्रमण देखिएपछि बलेवाका किसानहरु रैथाने धानबाली संरक्षण जुट्न थालेका छन् ।
वडा नं. १३ पैयुपाटाले एक सय ४० घरधुरी रहेको मुसुराबारीको दलीत बस्तीमा प्रतिघर न्यूनतम पाँच वटा सुन्तला र कागतीको बिरुवा लगाउनेलाई सहयोग पनि गरेको छ । चालु वर्षको ५० हजार बजेटबाट बिरुवा वितरण गरिएको हो । वडाले गत वर्षदेखिनै रसायनिक मल ढुवानीमा प्रतिकेजी दुई रुपियाँ अनुदान दिँदै आएको छ ।