• २६ पुस २०८१, शुक्रबार

‘कसैले चाहँदैमा सरकार ढल्दैन’

blog

भैरहवा समाचारदाता

भैरहवा, कात्तिक ११ गते । नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्माले कांग्रेस–एमाले साझा सहमतिप्रति प्रतिबद्ध रहेकाले अरू कसैले चाहँदैमा सरकार नढल्ने बताउनुभएको छ ।

एमाले तिलोत्तमा नगर कमिटीको दोस्रो नगर अधिवेशनको शनिबार उद्घाटन गर्दै उहाँले मुलुकलाई निकास दिनका लागि दुई ठुला दलबिच समझदारी बनेको र दुई दलबिच एकता कायम रहेसम्म अरू कसैको चाहनामा सरकार तलमाथि नहुने बताउनुभयो । विपक्षी दलहरूप्रति सङ्केत गर्दै उहाँले सरकार ढल्छ कि भनेर कोसिस भइरहे पनि त्यो पूरा नहुने बताउनुभयो ।

सरकारले सय दिनमा गरेका काम सन्तोषजनक रहेका र अबका दिनमा पनि कार्ययोजना बनाएर सरकार अगाडि बढ्ने जानकारी दिँदै सचिव विश्वकर्माले कुनै भ्रममा नपरी सरकारले गरेका राम्रा कामको प्रचारमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले लहड र भ्रमका पछाडि लाग्ने प्रवृत्ति देखिएको छ, भ्रम सिर्जना गरेर केही हुँदैन, मुलुक आफ्नो दिशामा अगाडि बढ्छ ।” सचिव विश्वकर्माले जनतालाई भ्रममा पार्ने असफल कोसिस भइरहेको भन्दै यसतर्फ सिङ्गो एमाले पङ्क्ति चनाखो भएर दृढतापूर्वक भ्रम चिर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले जनताका काम गर्नका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको भन्दै स्थानीय, प्रदेश र सङ्घीय सरकारमा एमाले नेतृत्वमा रहँदा थुप्रै राम्रा काम भएका तर एमालेले नेतृत्व गुमाउँदा विकासमा अलमलको स्थिति सिर्जना हुने गरेको बताउनुभयो ।

पार्टीले लिएको नीति, विचार, योजना र कार्यक्रमका आधारमा सिङ्गो पार्टी पङ्क्ति परिचालित हुन सके मात्रै एमाले आफ्नो लक्ष्य र उद्देश्यमा पुग्न सक्ने गैरेले बताउनुभयो ।