• २६ पुस २०८१, शुक्रबार

पिताको मार्ग पछ्याउँदै माथिएस

blog

अन्नपूर्ण गाउँपालिका–४, नारच्याङका स्थानीयद्वारा माथिएसको स्वागत तथा सम्मानपछिको सामूहिक तस्बिर ।

ठाकुरप्रसाद आचार्य  

म्याग्दी (बेनी), कात्तिक ११ गते । नेपाली समाजमा पिताको पेसा वा व्यवहार पछ्याउने सन्तानले बाबुको बिँडो थामेको भनेर प्रशंसा गरिन्छ । नेपाली समाजको मौलिकता जस्तै फ्रान्सेली नागरिक मौरिसका सुपुत्र पनि बाबुको पदचाप पछ्याउँदै यहाँको पदयात्रामा आइपुग्नुभएको छ । पहिलो पटक अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरा माथिएस हर्जोगले अन्नपूर्ण प्रथमको पदयात्रा सुरु गर्नुभएको छ । पिताले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको अवसरमा माथिएस मौरिस हर्जोग पदयात्रामा आउनुभएको हो ।  

बिहीबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आउनुभएका माथिएस हर्जोगले शुक्रबार बिहान नारच्याङको बेँसीगाउँबाट सुरु हुने मौरिस हर्जोग पदमार्ग हुँदै अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रा सुरु गर्नुभएको हो । माथिएसलाई नारच्याङवासीले स्वागत गरेका थिए । 

अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरसम्म पुगेर अवलोकन गर्नुहुने कार्यक्रम तय भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गर्ने मौरिस हर्जोगका छोरा माथिएस हर्जोगले आफ्नो बुबाले  पहिलो पटक आरोहण गर्दा हिँडेको पदमार्ग र अन्नपूर्णको अवलोकनका लागि आधार शिविरको पदयात्रा सुरु गर्नुभएको छ । उहाँको यो पदयात्राले अन्नपूर्ण प्रथम हिमाल र मौरिस हर्जोग पदमार्गको विश्वव्यापी रूपमा प्रचारप्रसार भई पर्यटन प्रवर्धन हुने आशा गरेका छौँ ।” 

सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको मौरिस हर्जोगले सफल आरोहण गरेपछि नेपालमा पर्वतीय पर्यटनको व्यावसायिक सुरुवात भएको थियो । हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरणसमेत गरेको छ भने आधार शिविरमा रहेको पञ्चकुण्ड तालनजिक मौरिसको सालिकसमेत राखेको छ । 

पदमार्गका अभियन्ता गुरुङका अनुसार माथिएस आफ्नो बुबा पुगेको अन्नपूर्णको शिखरमा जान नसके पनि आधार शिविरसम्म पुग्ने उहाँको इच्छा छ । माथिएसको अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरको भ्रमणले यहाँको पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने विश्वास गरिएको पालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । 

अन्नपूर्ण प्रथम आरोहण गरेको तीन वर्षपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएको थियो । अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाउने गरिएको छ । अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पूरा भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारी साधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैल यात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।