दिपकप्रसाद गौतम
वीरगञ्ज, कात्तिक १० गते। नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पछिल्लो केही वर्षदेखि मधेशमा देखिएको खानेपानीको समस्या समाधानका लागि खानेपानी मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ।
चुरे दोहनका कारण मधेशमा खानेपानीको समस्या देखापरेको विज्ञले बताएकाले उक्त समस्यालाई अल्पकालीन तथा दीर्घकालीन रुपमा समाधान गर्नका लागि योजना बनाएर खानेपानी मन्त्रालय अगाडि बढेको बताउनुभएको हो। शनिबार वीरगञ्जको रेडियो सीमाञ्चलको उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा मन्त्री यादवले यस्तो बताउनुभएको हो।
मधेशमा देखिएको खानेपानीको दीर्घकालीन समाधानका लागि बनाउदै गरेको सुनकोशी डाईभर्सनलाई सिँचाइसँगै सुनकोशीको पानी पिउन योग्य बनाई मधेश ६ जिल्लामा खानेपानी वितरण गर्न सकिने उहाँको भनाइ छ।
मकवानपुरमा रहेको ठूलो मुहानको पानी मधेशका जिल्लामा ल्याउनका लागि अध्ययन भइरहेको मन्त्री यादवले बताउनुभयो। मन्त्री यादवले हरेक समयमा समाजको लागि सञ्चारक्षेत्रको अहम भूमिका रहेको र त्यसमा पनि सामुदायिक रेडियोले तल्लो वर्गका आवाजलाई उठाउने, नागरिकमा सूचना सम्प्रेषण गरेर सुसूचित गराउनुका साथै नागरिकको कुरा सरकारसम्म पुर्याउने र सरकारको गतिविधि पनि नागरिकसम्म पुर्याउने काम गरीरहेको बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सञ्चार माध्यमले आग्रह पूर्वाग्रहले प्रेरित भन्दा पनि जनताले विश्वास गर्ने सूचना र समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राख्नुभयो।
नेपाल पोष्ट मिडिया प्रालिका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, मधेश प्रदेश महासचिव श्याम बञ्जरा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुवोध गुप्ता, वीरगञ्जका अध्यक्ष अनिल पटवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।