• ७ मंसिर २०८१, शुक्रबार

सामाजिक सुरक्षा भत्ता वितरणसँगै स्वास्थ्य परीक्षण

blog

सामाजिक सुरक्षा वितरण पश्चात ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, कात्तिक १० गते । गुल्मीको चन्द्रकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणको साथमा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण समेत गरेको छ । चन्द्रकोट गाउँपालिका-१ दिबु्रङका ज्येष्ठ नागरिकहरूलाई टोल टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुका साथै उहाँहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको वडा अध्यक्ष घनश्याम खरेलले जानकारी दिनुभयो । 

ज्येष्ठ नागरिकहरूलाई बैङ्कमा जान र गएर लाइनमा बसेर सामाजिक सुरक्षा भत्ता लिन समस्या हुने भएकाले उहाँहरूको सहजताका लागि साइन रेसुङ्गा बैङ्कसँगको सहकार्यमा टोल-टोलमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको खरेलले बताउनुभयो । टोलमा आउन नसक्ने अशक्त, वृद्ध, दीर्घरोगीहरुको घरमै पुगेर सामाजिक भत्ता वितरण गरिएको उहाँले बताउनुभयो । 

यसका साथै ज्येष्ठ नागरिकहरूको आधारभूत स्वास्थ्य परीक्षणसमेत गरिएको उहाँको भनाइ छ । ज्येष्ठ नागरिकहरूको सुगर, उच्च रक्तचाप, दम लगायत स्वास्थ्य परीक्षण  पनि गरिएको हो । स्थानीय सरकारको अनुभूति प्रदान गर्नका लागि  र ज्येष्ठ नागरिकको सहजताका साथै स्वास्थ्यलाई ख्याल गर्दै गाउँटोलमै पुगेर सेवा प्रवाह गरिएको खरेलको भनाइ छ ।  

यस्ता कार्यहरूलाई निरन्तरता दिँदै जाने उहाँको भनाइ छ ।  वडा कार्यालयले यस अगाडि ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई ख्याल गर्दै लौरो, रेडियो, थर्मस र न्यानो कपडा वितरण  गरेको थियो ।

ज्येष्ठ नागरिकको साथमा सधैँ रहन र यस्तै कार्यहरूलाई निरन्तरता दिनका लागि ज्येष्ठ नागरिकहरूले स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ । वडा भित्रबाट करिब तीन सय जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएको वडा कार्यालयले जनाएको छ ।