• २६ पुस २०८१, शुक्रबार

प्लास्टिकको फूलमाला बिक्रीमा रोक

blog

माण्डवीमा चेतकला के.सी.को बारीमा ढकमक्क फुलेको फूल । तस्बिर : सलिम मिया

सलिम मिया

बिजुवार, कात्तिक १० गते । प्युठानको तीन स्थानीय तहले चाडपर्वको समयमा प्लास्टिकजन्य फूलमालाको बिक्री वितरणमा रोक लगाएका छन् ।जिल्लाको ९ वटा पालिकामध्ये माण्डवि गाउँपालिका, स्वर्गद्वारी नगरपालिका र प्युठान नगरपालिकाले सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न आग्रह गरेका हुन् ।

स्वर्गद्वारीले प्राकृतिक फूलमालाको उपलब्धता सहज होस् भनेर नगर क्षेत्रभित्र फूलखेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बर पनि सार्वजनिक गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले चालु आर्थिक वर्षमा विपन्न महिलाका लागि फूलखेती प्रवर्धन कार्यक्रम अन्तर्गत तिहारलक्षित फूलखेती भइरहेको जानकारी दिनुभयो ।

उहाँले प्लास्टिकजन्य फूलमाला विस्थापन गर्ने पालिकाको नीति रहेको बताउनुभयो । माण्डवी गाउँपालिका –३ लामाचौरमा फूल खेती गर्दै आएका चेतकला के.सी.ले  प्लास्टिकका फूलमाला प्रयोगमा रोक लगाउने पालिकाको निर्णयले तिहारको मौलिकता जोगिने र कृत्रिम मालाको प्रयोगमा समेत कमी हुने विश्वास व्यक्त गर्नुभयो । यस वर्ष उत्पादित फूलले राम्रो बजार पाउने आसमा रहेको केसीले बताउनुभयो ।