• २६ पुस २०८१, शुक्रबार

आवेदन दिएको चार वर्षपछि राष्ट्रिय परिचयपत्र वितरण

blog

राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गर्दै । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, कात्तिक १० गते । 
आवेदन सङ्कलन गरेको चार वर्षपछि गुल्मीमा वडा स्तरबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ  । २०७६ सालमा जिल्लाका सबै स्थानीय तहमा घुम्ती टोलीमार्फत एक लाख २९ हजार ३५९ जनाको  विवरण सङ्कलन भएको थियो ।  विवरण सङ्कलन भएकाहरूको परिचयपत्र बनेर आएकाले वडा स्तरबाटै वितरण गर्न लागिएको गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

इश्मा गाउँपालिका वडा नम्बर दुईका ९१ वर्षीय नामदेव खनाल, धुर्कोट गाउँपालिका वडा नम्बर दुईका ९७ वर्षीय मानबहादुर महतलाई राष्ट्रिय परिचयपत्र प्रदान गरी सुरुवात गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । 

गुल्मीदरबार गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा पनि वितरण कार्यको तयारी भइरहेको उहाँको भनाइ छ । अन्य स्थानीय तहमा भने तिहार पर्व सकिएपछि वितरणको कार्य अगाडि बढाइने शर्माले बताउनुभयो । जिल्लाका चार समूह बनाएर परिचयपत्र वितरणको कार्य गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रशासनमा लिनै आउँदैनन् परिचयपत्र

जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि ६० हजारभन्दा बढीको आवेदन सङ्कलन भएको छ । आवेदन सङ्कलन भएकामध्ये ४३ हजारको राष्ट्रिय परिचयपत्र बनेर आए पनि झन्डै छ हजार मात्रै परिचयपत्र वितरण भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

परिचयपत्र बनेर आएकाहरूको मोबाइलमा म्यासेज गए पनि परिचयपत्र लिन नआएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो । आवेदन सङ्कलनको समयमा भएको मोबाइल नम्बरमा म्यासेज जाने भएकाले त्यस समयको नम्बर नभएको हुन सक्ने, म्यासेज नहेर्ने, सम्बन्धित व्यक्ति वैदेशिक रोजगारीमा गएर र उसको निधन पनि हुन सक्ने भएकाले परिचयपत्र लिनेको सङ्ख्यामा कमी आएको गैरेको भनाइ छ ।

परिचयपत्र लिनका  लागि सम्बन्धित व्यक्तिनै आउनुपर्ने र फिङगर प्रिन्ट दिनुपर्ने भएकाले  एकै घरका भए पनि अरू कसैलाई दिन नमिल्ने प्रशासनले जनाएको छ ।

२०७६ साल असार ३२ गते तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराएर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । ज्ञवालीले विवरण दर्ता गरेर शुभारम्भ भए पश्चात् जिल्लाका १२ वटै स्थानीय तहमा अभियानमार्फत विवरण दर्ता भएको थियो ।

एक हप्तामा ५३१ जनाले बनाए राहदानी

यसैगरी, जिल्ला प्रशासन कार्यालय गुल्मीबाट एक हप्तामा ५३१ जनाले राहदानी बनाएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म एक हप्ताको अवधिमा ५३१ जनाको राहदानीका लागि आवेदन सङ्कलन भएको बताउनुभयो । जसबाट २७ लाख ८० हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको उहाँको भनाइ छ ।

गत आइतबारदेखि शुक्रबारसम्मको अवधिमा नयाँ नागरिकता ५७२, प्रतिलिपि २९३, गैर आवासीय नागरिकता दुई, नावलक परिचयपत्र ४६, राहदानी वितरण ३६५, राष्ट्रिय परिचयपत्रका लागि आवेदन ७५६, परिचयपत्र वितरण ३७८, संस्था नवीकरण छ र ९८ दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो ।

सोही अवधिमा राहदानीबाट २७ लाख ८० हजार पाँच सय रुपियाँ र संस्था नवीकरणबाट तीन  हजार  छ सय रुपियाँ गरी कुल २७ लाख ८४ हजार एक सय रुपियाँ राजस्व सङ्कलन भएको गैरेले जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालय गुल्मीमा यस अवधिमा नागरिकता, राहदानी र परिचयपत्र बनाउनेको सङ्ख्यामा वृद्धि भएको उहाँको भनाइ छ । दसैँ तिहारजस्ता पर्वहरूमा पर्व मनाउन देशका सहर र विदेशबाट पनि आउँदा राहदानी, नागरिकता बनाउनेको सङ्ख्यामा पनि वृद्धि भएको गैरेले बताउनुभयो । न्यून जनशक्तिकारबिच पनि सेवाग्राहीहरूको चापलाई मध्यनजर गर्दै बिहान साँझ गरी सेवा प्रवाह गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।