• १२ कात्तिक २०८१, सोमबार

गल्याङमा सुविधा सम्पन्न भवन

blog

नवनिर्मित अस्पताल भवन उदघाटन हुँदै । तस्बिरः राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, कात्तिक १० गते । स्याङ्जाको गल्याङमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण भएको छ । भारत सरकारको सहयोगमा निर्माण भएको भवनमा गल्याङ नगरपालिकाले १५ शय्याको नगर अस्पताल सञ्चलनमा गर्दैआएको छ ।

भवनको भारतीय दूतावासको प्रथम सचिव अभिनासकुमार सिंह, जिल्ला समन्वय समितिका अध्यक्ष श्रीप्रसाद जिटी र गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले शुक्रबार संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । 

कार्यक्रममा प्रथम सचिव सिंहले नेपालमा अप्ठ्यारो पर्दा सदैव भारत सरकारको सहयोग रहँदैआएको बताउनुभयो । हरेक वर्ष भारतमा गणतन्त्र दिवसको अवसरमा भारत सरकारले नेपालमा स्कुल बस र एम्बुलेन्स प्रदान गर्दैआएको उहाँको भनाइ छ । 

नेपाल र भारत सरकारको सहयोगमा ३ करोड ७९ लाखको लागतमा गल्याङ नगर अस्पताल निर्माण सम्पन्न भएको हो । १५ शय्याको अस्पतालबाट स्याङ्जा, पाल्पा, पर्वत र गुल्मी जिल्लाका नागरिकले सेवा लिँदै आएको गल्याङ नगरपालिकाका प्रमुख भट्टराईले बताउनुभयो । 

उहाँका अनुसार अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।  नगर अस्पतालको रूपमा रहेको भवनलाई विराममैत्री र सुविधा सम्पन्न गराइएको उहाँको भनाइ छ । 

तत्कालीन अवस्थामा गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रूपमा परिणत गरिएको केन्द्रका अध्यक्ष लालगोपाल अर्यालले बताउनुभयो । गल्याङ नगर अस्पताल भवनको उद्घाटन गर्नुहुँदै भारतीय दूतावासका प्रथम सचिव अभिनासकुमार सिंह लगायत ।