• २६ पुस २०८१, शुक्रबार

स्वास्थ्य सेवा प्रभावकारी बनाउन सुझाव

blog

सुर्खेत समाचारदाता

सुर्खेत, कात्तिक १० गते । सडक दुर्घटना, मांसपेशी तथा अटिजमलगायत विभिन्न घटनाबाट शारीरिक अपाङ्गता भोगेकालाई उचित स्वास्थ्य सेवा दिइने स्वास्थ्य पुनस्र्थापना सेवा सदरमुकाममा केन्द्रित भएकाले अब पालिका तहसम्म पुर्‍याउन सुझाव दिइएको छ । बर्सेनि शारीरिक अपाङ्गता भएका बिरामीको सङ्ख्या बढिरहेकाले स्वास्थ्य पुनस्र्थापना सेवालाई बस्तीसम्म पुर्‍याएर वास्तविक सेवाग्राहीलाई उपचारमा ल्याउनुपर्नेमा पनि जोड दिइएको छ । 

युएसएआडीको स्वास्थ्य पुनस्र्थापना सेवा परियोजना अन्तर्गत ह्यान्डिक्याप इन्टरनेसनलको प्राविधिक सहयोगमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरद्वारा सञ्चालित पुनस्र्थापना सेवा सम्बन्धमा मङ्गलबार कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको संयोजकत्वमा आयोजित प्रदेशस्तरीय पुनस्र्थापना समन्वय बैठकका सहभागीले स्वास्थ्य पुनस्र्थापनाको काम कर्णालीको भूगोलमा सुहाउँदो भएको र यसबाट धेरैले लाभ लिएको हुँदा यस सेवालाई निरन्तरता दिन पनि आग्रह गरेका छन् । 

बैठकमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले स्वास्थ्य पुनस्र्थापना सेवा सदरमुकामकेन्द्रित हुँदा ग्रामीण क्षेत्रका बिरामीले उपचार सेवा नै पाउन नसकेको हुँदा अब ग्रामीण क्षेत्रसम्म लैजान जोड दिनुभयो । उहाँले कर्णाली प्रदेश सरकारले पनि यो सेवा ग्रामीण क्षेत्रमा लैजान चाहेकाले नेपाल मेडिकल कलेजसँग सहकार्य गरी सँगसँगै काम गर्न आग्रह गर्नुभयो । अङ्ग गुमाएकाका लागि कृत्रिम सामग्री दिएर जीवनयापन सहज बनाउनेतर्फ सहयोगका लागि आह्वान गर्दै मन्त्री भण्डारीले बिरामी पहिचान गर्ने भन्दै शिविर आयोजना गर्ने तर उपचारमा केन्द्रित नहुने प्रवृत्तिप्रति प्रश्न गर्नुभयो । उहाँले शिविरमा पत्ता लागेका बिरामीमध्ये कम्तीमा आधाको उपचारको व्यवस्था गर्नतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो । 

प्रदेश स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले कर्णालीमा धेरै जसो सडक दुर्घटना, रुख तथा भिरबाट लडेर शारीरिक अपाङ्गता भोग्ने गरेको पाइएको हुँदा स्वास्थ्य पुनस्र्थापना सेवा प्रभावकारी भएको बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले स्वास्थ्य पुनस्र्थापना सेवालाई स्थानीयस्तरमै सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने बताउनुभयो । अपाङ्गता पुनस्र्थापनाका लागि अस्पतालको मात्र होइन, सरकारले पनि रणनीतिक योजना बनाइरहेको जानकारी उहाँले दिनुभयो । नेपालगन्ज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार बिएनले जनशक्ति व्यवस्थापनमा कमी हुँदा सोचे जस्तो सेवा प्रवाह हुन नसके पनि अब भने सुधार हुँदै गएको बताउनुभयो ।