• १२ कात्तिक २०८१, सोमबार

जग नबन्दै अलपत्र नगरपालिकाको भवन

blog

अलपत्र अबस्थामा रहेको रास्कोट नगरपालिका वडा नं २को भवनले स्थानीयको घर जोखिममा तस्बिर प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, कात्तिक १० गते । रास्कोट नगरपालिका अन्तर्गत वडा नम्बर २ कार्यालयको भवन जग नबन्दै अलपत्र परेको छ । ठेकेदारको बदमासीले बिचैमा काम रोकेपछि भवन निर्माण अलपत्र हुँदा हजारौँ सेवाग्राही मर्कामा परेका छन् । 

कार्यालयको भवन निर्माण हात्तीपाइलेसम्म राखिएको छ । वडा नं २ का वडा अध्यक्ष ध्रुवराज सिम्खडाले वडा कार्यालय निर्माणको काम रोकिएको बारेमा आफूलाई आधिकारी कुनै जानकारी नभएको बताउनुभयो । बर्सातको समयमा काम चलिरहेको थियो । अहिले बन्द छ । वडा कार्यालय निर्माण भइरहेको माथि पट्टी रहेको स्थानीयको घर समेत जोखिममा परेको छ । तल वडाको भवन निमार्णका लागि निर्माण व्यवसायीले काम गराउँदा पहिरो खसेर स्थानीय धन सुरे सार्कीको घर उच्च जोखिममा रहेको छ । 

स्थानीय नागरिकको घरको सुरक्षाका लागि वडा तथा नगरपालिकाले कुनै चासो नदिएको स्थानीयको भनाई छ । स्थानीय बिशामित्र सिम्खडाले नागरिकको घर भत्किने अवस्था हुँदा पनि सरकार मौन बसेको गुनासो गर्नुभयो । सरकारले आफ्ना भवन निमार्णको जिम्मा लिएको निर्माण ब्यवसायीसँग समन्वय गर्नु पर्ने हो । भवन निर्माण अलपत्र पार्दा एकातिर समयमा वडाको कार्यालय निर्माण हुने छैन भने अर्को तर्फ पानी पर्दा स्थानीयको घर भत्किने समस्या छ । 

वडाको भवन निमार्णका लागि तीन करोड ५५ लाखको लागत अनुमान गरेर ठेक्का आब्हान गरिएको थियो । तर निमार्ण कम्पनी किट्स निमार्ण सेवाले दुई करोड ८० लाखमा ठेक्का सम्झौता गरेको थियो । बहुबर्षिय योजना अनुसार वडा कार्यालयको भवन निर्माण गर्नु पर्ने छ । आगामी असार मसान्तमा काम सक्नु पर्ने उल्लेख भए पनि काम भने पाँच प्रतिशत भन्दा बडी भएको छैन । काम छिटो सक्नु पर्छ भनेर न निर्माण व्यवसायीले चिन्ता गरेको छ न त स्थानीय सरकारले चासो लिएको छ । 

असार मसान्त आउनका लागि सात महिना मात्र बाँकी छ । भवन निमार्णको जिम्मा लिएको काम के कारणले रोकिएको हो, भन्ने बारेमा रास्कोट नगरपालिका पनि बेखबर छ । नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिहं बमले के कति कारणले रोकिएको हो आफू तत्काल जानकारी लिने बताउनुभयो । 

वडा कार्यालय निर्माणका लागि ठेक्का सम्झौता गरेको किट्स निर्माण सेवाका प्रतिनिधि ध्वजबहादुर शाहीले सङ्घ प्रदेश र स्थानीय सरकारको साझेदारीमा निमार्ण गरिने वडाको भवनका लागि यो वर्ष प्रदेश सरकारले बजेट नहालेका कारणले भवन निर्माण भए पनि भुक्तानीका लागि अर्को वर्ष कुर्नु पर्ने बताउनुभयो ।