गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १० गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन जरुरी रहेको बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सले शुक्रबार आयोजना गरेको कृषिमा लगानी दशक सन्दर्भिकता र निजी क्षेत्रको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री अधिकारीले सरकारले कतिपय कृषि उपजको आयातमा रोक लगाइएको भन्दै कृषिको विकासका लागि थप लगानी वृद्धि गर्न जरुरी रहेको बताउनुभएको हो ।
मन्त्री अधिकारीले निजी क्षेत्रसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताउँदै देशलाई कृषिमा आत्मनिर्भर बनाउन विभिन्न प्रयास भइरहेको बताउनुभएको छ । कृषि क्षेत्रमा लागेकाको सुझाव कार्यान्वयन गर्नका लागि आफ्नो सकारात्मक प्रयास हुने पनि बताउनुभयो ।
कृषि मन्त्रालयले तयारी गरेको लगानी दशक सफल बनाउन निजी क्षेत्रको भूमिका महìवपूर्ण हुने भएकाले निजी क्षेत्रलाई कृषिमा लगानी बढाउन मन्त्री अधिकारीले आग्रह गर्नुभयो ।
गरिबीबाट मुक्ति पाउनका लागि पनि प्रत्येक परिवार कम्तीमा कृषिमा आत्मनिर्भर हुन जरुरी छ भन्दै मन्त्री अधिकारीले पछिल्लो समय कृषि कर्म गर्नेहरूको सङ्ख्या घट्नु चिन्ताको विषय भएको बताउनुभयो ।
मन्त्री अधिकारीले आफ्नो ध्यान कृषि कर्म गर्नेलाई प्रोत्साहन गर्नमा केन्द्रित रहेको बताउनुभयो । कृषिमा सहज लगानीको वातावरण बनाउन अवश्यक रहेको भन्दै मन्त्री अधिकारीले लगानी दशक सफल बनाउन यो अनिवार्य सर्त हुनेमा जोड दिनुभयो ।