• १२ कात्तिक २०८१, सोमबार

नढलेका जोर धरहरा : इतिहासबारे थरी थरीका कथा

blog

हिले समाचारदाता 

हिले, कात्तिक ९ गते  । धनकुटा नगरपालिका–५ मा एक ऐतिहासिक टुँडिखेल छ । धनकुटा गौँडा  हुँदाको बखतमै निर्माण गरिएको सो टुँडिखेलको पूर्वोत्तर दिशामा गोलपोस्ट छ । गोलपोस्टसँगै जोर स्तम्भ रहेका छन् । स्तम्भ धनकुटामा जोर धरहराका नामले परिचित छन् । करिब १० फिट मात्र उचाइका ती स्तम्भ झट्ट हेर्दा काठमाडौँको धरहराकै रूपमा देखिन्छन् । स्थानीय सबैले यसलाई जोर धरहरा भनेर चिन्छन् । ती स्तम्भ धनकुटा वा टुँडिखेल पुग्नेको नजरमा पनि बिरलै मात्र पर्छ । 

ती प्रतीकात्मक धरहरा कसले, कहिले र किन बनायो धेरै कमलाई मात्र थाहा छ । धनकुटा नगरपालिका–६ का ज्येष्ठ नागरिक कृष्ण जोशी आफूले थाहा पाएदेखि नै जोर धरहरा देख्दै आएको बताउनुहुन्छ । जोर धरहरासँग निकै परिचित रहेको उहाँ बताउनुहुन्छ । जोर धरहरासँगै पहिलेदेखि नै खुला स्थान तथा बालमन्दिर स्कुल रहेको र सो स्थान घरनजिकै रहेकाले पटक पटक खेल्न पुग्ने भएकाले जोर 

धरहरासँंग परिचित रहेको उहाँको दाबी छ । जोशी भन्नुहुन्छ, “उमेरका कारणले अहिले पुग्न त सक्दिनँ तर पहिले धरहरासँग धेरै कुरा जोडिएकाले बिर्सन पनि सक्दिनँ ।” 

 २०७२ सालको भूकम्पले काठमाडौँ सुन्धारामा रहेको धरहरा ढलेपछि सो धरहराको स्वरूपमा नयाँ धरहरा बनेको छ । धनकुटामा निर्माण भएका यी धरहरा भने काठमाडौँको समकालीन धरहरा मानिन्छन् । त्यस्तै शैलीमा निर्माण गरिएको छ । यी धरहरा कहिले र कसले बनाए भन्ने कुनै लिखित प्रमाण भने कहीँकतै भेटिँदैन तर निर्माणका सम्बन्धमा तीन थरी भनाइ  छ । 

धनकुटाका लेखक तथा खोजकर्ता गोपाल भण्डारी यी धरहरा भीमसेन थापाकै समयमा निर्माण भएको हुन सक्ने बताउनुहुन्छ । सुरुमा पूर्व क्षेत्र हेर्ने गरी रणसुर भण्डारी आएको र उहाँले अहिलेको सङ्खुवासभाको तुम्लिङटारलाई पूर्वको हेड क्वाटर बनाउनुभएको थियो । रणसुरपछि आएका आशा खत्रीले सङ्खुवासभाकै चैनपुर सारेर अमल बनाउनुभयो । आशा खत्रीपछि आएका बहादुरसिंह भण्डारीले चैनपुरबाट धनकुटा सारेको भण्डारी बताउनुहुन्छ । बहादुरसिंह भण्डारी भीमसेन थापाका भाइ नयनसिंह थापाका नाति भएकाले पनि उहाँले धनकुटा आएर काठमाडौँको सिको गर्ने क्रममा धरहरा बनाएको बताउनुहुन्छ । भण्डारी भन्नुहुन्छ, “बहादुरसिंह भण्डारीले त्यहीबेला नेवार जातिका चार परिवार ल्याएर बसाएको र बग्गी हिँडाएको हो । विसं १९०० को सेरोफेरोमा काठमाडौँकै सिको गर्दै धरहरा बनाइएको हो ।” लेखक तथा खोजकर्ता ठाकुर बराल धरहरा तत्कालीन बडाहाकिम बमविक्रम राणाको कार्यकालमा बनेको बताउनुहुन्छ । १९३८ सालमा काठमाडौँबाट निष्कासित भएर भारतको चितौरगढ गई बसेका बमविक्रम राणालाई विसं १९४२ मा वीरशमशेरले नेपाल झिकाई धनकुटा गौँडाका बडाहाकिम बनाएपछि उनले धनकुटामा विभिन्न संरचना निर्माण गर्ने व्रmममा धरहरा बनाएको बरालको भनाइ छ ।  बराल भन्नुहुन्छ, “उनी विसं १९४२ देखि १९६० सम्म धनकुटामा रहेका बेला धरहरासहित टुँडिखेल, बिच बजारमा बग्गीको बाटोलगायत विभिन्न संरचना बनाएका थिए ।” 

 त्यसो त काठमाडौँबाट लखेटिएका देवशमशेरले काठमाडौँले एउटा धरहराको शासन गर्छ, म धनकुटामा दुई वटा धरहराको शासन गर्छु भनेर बनाउन लगाएको भन्ने कथन पनि प्रचलित छ तर लेखक तथा खोजकर्ता यो भनाइमा सहमत छैनन् । बराल तथा भण्डारी उपत्यकाबाट कारबाहीमा परी धनकुटा आएका देवशमशेर विपक्षीका सुराकीसहित अस्थायी टहरो बनाएर जम्मा तीन महिना मात्र धनकुटा बसेको र तीन महिनापछि असुरक्षित महसुस गर्दै स्थानीय बस्नेतहरूको सहयोगमा भारत गएकाले धनकुटामा केही गर्न नपाएको भनाइ छ । 

धनकुटामा गौँडा सुरु भएसँंगै धरहरा निर्माण गरिएको हुन सक्ने इतिहासकार टेकबहादुर श्रेष्ठ बताउनुहुन्छ । पहिले धरहराबाट सेनाका जवानको कवाज हेर्ने तथा समस्या पर्दा बिगुल फुक्ने गरिन्थ्यो तर धनकुटाका धरहरा चढेर हेर्ने गरिएको नभए पनि प्रतीकात्मक रूपमा कवाज हेर्न तथा बिगुल फुक्न सोही स्थानलाई प्रयोग गर्न धरहरा निर्माण गरिएको उहाँको भनाइ छ । काठमाडौँमा पहिले दुई वटा धरहरा थिए । तिनै धरहराको नक्कल गर्दै धनकुुटामा जोर धरहरा निर्माण गरिएको हुन सक्ने श्रेष्ठ बताउनुहुन्छ । धरहरा २०७२ सालको भूकम्पका कारण हल्लिन थालेपछि २०७४ सालमा मर्मत गरिएको थियो ।