• १० कात्तिक २०८१, शनिबार

कमला कि ट्रम्प

blog

अमेरिकामा सन् २०२४ को नोभेम्बर ५ मा राष्ट्रपति निर्वाचन हुँदै छ । निर्वाचनमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच मुख्य प्रतिस्पर्धा छ । कमलाले डेमोक्रेटिक पार्टी र ट्रम्पले रिपब्लिकन पार्टीको प्रतिनिधित्व  गरिरहेका छन् । कमला शालीन, भद्र र व्यावहारिक नेतृ हुन् । ट्रम्पमा भने अराजक, उग्र र आक्रामक प्रवृत्ति हावी देखिन्छ ।

आफूले यस पटकको चुनाव नजिते अमेरिकामा रक्तपात हुने चेतावनी ट्रम्पले दिएका छन् । उनको यो प्रवृत्ति अमेरिकी समाजका लागि चिन्ताको विषय बनेको छ । ट्रम्प विभिन्न फौजदारी मुद्दामा दोषी ठहर भएका पनि छन् तर अमेरिकी कानुनमा फौजदारी सजाय पाएका व्यक्तिले राष्ट्रपति बन्न नपाउने भन्ने छैन । वास्तवमा अमेरिकी कानुनमा त्यस्तो केही छैन जसले कुनै उम्मेदवारलाई चुनावी अभियान सुरु गर्नबाट रोकोस् वा राष्ट्रपतिका रूपमा काम गर्न नै बन्देज लगाओस् । सजाय पाएर जेल परेको स्थितिमा कारागारबाटै पनि कसैले राष्ट्रपतिका रूपमा काम गर्न सक्छ ।

यस पटकको चुनाव ट्रम्पका मुद्दाको कारण पनि रोचक बन्न सक्छ । ट्रम्पको यो मुद्दालाई आम मतदाताले अनुमोदन गर्ने हुन् वा बेवास्ता गर्ने हुन्, चुनावी परिणामले देखाउने छ । उमेरले कमला ६१ वर्ष र  ट्रम्प ७७ वर्षका भए । यस पटक सुरुमा डेमोक्रेटिक पार्टीका वर्तमान राष्ट्रपति जोए बाइडेन नै पुनः राष्ट्रपतिमा उठ्ने सहमति भएको थियो । बुढ्यौलीका कारण उनले काम गर्न नसक्ने अवस्था देखिएपछि चुनाव हारिने डरले पछि उपराष्ट्रपति कमलालाई राष्ट्रपतिमा उठाउने निर्णय भयो । बाइडेन चुनावी मैदानबाट बाहिरिएपछि अहिले डेमोक्रेटिक पार्टी एकढिक्का भएर कमलालाई जिताउने अभियानमा जुटेको छ । 

ट्रम्प  सन् २०१६ देखि २०२० सम्म राष्ट्रपति रहेका थिए । सन् २०२० को चुनावमा भने वर्तमान राष्ट्रपति बाइडेनसँग उनी पराजित भएका थिए । विभिन्न मुद्दा खेपे पनि ट्रम्प प्राइमरी चुनावहरूमा हाबी भए । उनका प्रमुख प्रतिस्पर्धी निकी ह्याली चुनावी मैदानबाट पछाडि हटेका थिए । ट्रम्पले कडा आप्रवासन नीतिलाई आफ्नो मूल चुनावी मुद्दा बनाएका छन् । ट्रम्पले जितेमा देश पछाडि पर्ने जोखिम रहेको चेतावनी कमलाको छ ।

ट्रम्पले चाहिँ खुला सीमा बन्द गर्नेदेखि ठूलो सङ्ख्यामा अवैध आप्रवासीलाई देश निकाला गर्ने बताएका छन् । जलवायुसम्बन्धी पेरिस सम्झौताबाट हट्ने विषयमा समेत उनी कटिबद्ध देखिन्छन् । 

ट्रम्पको जन्म एक धनाढ्य घरजग्गा व्यापारीको चौथो सन्तानका रूपमा न्युयोर्क शहरमा भएको थियो । उनी न्युयोर्कमै हुर्किएका थिए । बुवाबाट, उनकै शब्दमा, ‘सानो’ अर्थात् १० लाख डलरको ऋण लिएर उनले घरजग्गा व्यापार थाले । पछि उनले बुवाकै घरजग्गा कम्पनीमा काम गरेर आफ्नो परिवारको व्यापार र धन–सम्पत्ति म्यानहटनमा सारेका थिए । ट्रम्पले आफूसँग १० अर्ब डलर धन–सम्पत्ति भएको दाबी गर्दै आएका छन् ।

ट्रम्पले तीनपटक विवाह गरे । तीन श्रीमतीबाट उनका पाँच छोराछोरी छन् । पहिलो श्रीमतीका सन्तानले उनको कम्पनी चलाउन मद्दत गर्छन् । उनकी वर्तमान श्रीमती मेलनिया हुन् ।

ट्रम्पले सन् १९८७ मा नै राष्ट्रपति चुनावमा भाग लिने इच्छा देखाएका थिए । सन् २००० मा उनले रिफर्म पार्टीबाट उम्मेदवारी दिए । त्यसपछि सन् २०१५ मा उनले औपचारिक रूपमा ह्वाइट हाउसका लागि लड्ने घोषणा गरेका थिए । राष्ट्रपति चुनावमा होमिएपछि ट्रम्पले उत्तेजनात्मक प्रकृतिको प्रचारप्रसार शैली अपनाएका थिए । उनको चुनावी अभियान निकै विवादास्पद रह्यो ।

उनले अमरिकी अर्थतन्त्रलाई बलियो बनाउनुका साथै मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने र मुसलमान आप्रवासीलाई निषेध गर्ने वाचासमेत गरेका थिए । उनले नाटकीय ढङ्गले प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै चुनाव जिते । ट्रम्प कुनै निर्वाचित पदमा वा सेनामा काम नगरेका प्रथम अमेरिकी राष्ट्रपति बने । 

यसैगरी बाइडेनसँगै उपराष्ट्रपतिमा निर्वाचित कमला उक्त पदमा पुग्ने पहिलो अश्वेत र एसियन–अमेरिकन हुन् । 

इन्डियन–जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद कमलाले कुनै बेला राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन् । राष्ट्रपति उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको नाम चर्चामा रह्यो । 


कमला क्यालिफोर्नियाको अकल्यान्डमा जन्मेकी हुन् । भारतीय आमा र जमैकेली पिताको सन्तान कमलाले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेकी छन् । उनकी आमा श्यामला गोपालन भारतबाट १९ वर्षको उमेरमा अमेरिका पुगेकी थिइन् । जमैकाको अर्थशास्त्रका विद्यार्थी डोनाल्ड ह्यारिस र भारतकी पोषण तथा हर्मोन विषयकी विद्यार्थी श्यामलाबीच क्यालिफोर्नियामा विद्यावारिधि गर्दा सन् १९६० ताका भेट भएको थियो । अधिकारकर्मी र राजनीतिक चेतना छर्ने अभियानको साझेदारीसँगै उनीहरू विवाह बन्धनमा बाँधिएका थिए । 

शिक्षित परिवारमा हुर्केकी कमलाको उपराष्ट्रपति कार्यकाल राम्रो र विवादमुक्त भएकाले उनलाई नै राष्ट्रपतिको उम्मेदवार बनाइएको छ । यस पटक कमलाको डेमोक्रेटिक पार्टीले राष्ट्रिय सुरक्षा, आप्रवासी कानुनमा सुधार, साना हतियारको नियन्त्रण, सामाजिक सुरक्षा र मेडिकेयर, जलवायु परिवर्तन, महिला अधिकार र अवसर, आर्थिक सुधारका लागि रोजगार वृद्धि, साना व्यवसायका लागि करमा छुट, मध्यम वर्गका लागि करको दायरा विस्तार, कलेजको शिक्षालाई ऋणमुक्त र शुल्कमुक्तलगायतका विषयलाई चुनावी मुद्दा बनाएको छ ।

उता ट्रम्पको रिपब्लिकन पार्टीले अमेरिकालाई फेरि पनि शक्तिशाली बनाउने नारा अगाडि सारेको छ । सो पार्टीले आप्रवासी समस्या समाधान गर्ने, रोजगार वृद्धि र अवसर, स्वतन्त्र, सुरक्षित र मजबुत अमेरिका बनाउने नारा दिएको छ । अमेरिकी सुरक्षा कमजोर बनाउने भएकाले आप्रवासीको आगमनमा कडाइ गर्ने ट्रम्पले बताएका छन् ।

अमेरिका लामो समय बेलायतको उपनिवेशमा रह्यो । अमेरिका बनाउन भनी सन् १६१९ मा अश्वेत जातिका मानिसलाई दासका रूपमा अफ्रिकाबाट भित्र्याउन थालिएको थियो । सुरुमा अश्वेतलाई त्यहाँ कुनै किसिमको नागरिक अधिकार थिएन । बेलायती उपनिवेशबाट सन् १७७६ मा मुक्त भई जर्ज वासिङ्टन अमेरिकाको पहिलो राष्ट्रपति निर्वाचित भएपछि अधिकारका लागि अश्वेत मानिसले आन्दोलन सुरु गरे । आन्दोलनले गृहयुद्धको रूप लियो । अनि सन् १८६५ मा अमेरिकाको संविधानमा संशोधन गरी दास प्रथा उन्मूलन गरिएको थियो ।

बाराक ओबामा अमेरिकामा राष्ट्रपति निर्वाचित हुने पहिलो अश्वेत हुन् । उनी लगातार दुई पटक सन् २००८ देखि २०१६ सम्म राष्ट्रपति बनेका थिए । दास बनाइएका मानिसको वर्गबाट पनि कोही मुलुकको राष्ट्रपति निर्वाचित हुन सक्छ भन्ने सन्देश दिएको चुनावको परिणाम लोकतान्त्रिक शासन व्यवस्थाको सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिइएको थियो ।

लगातार दुई कार्यकाल पूरा गरेपछि राष्ट्रपति चुनाव लड्न नपाइने अमेरिकाको संवैधानिक व्यवस्था अनुसार सन् २०१६ को चुनावमा ओबामा उठेनन् । उनको पार्टीका तर्फबाट लामो राजनीतिक तथा कूटनीतिक अनुभव सँगालेकी महिला नेतृ हिलारी क्लिन्टन चुनावी मैदानमा उत्रिन् तर उनी रिपब्लिकन उम्मेदवार ट्रम्पद्वारा पराजित भइन् । यस पटक भने कमला र ट्रम्पबीचको प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।

अमेरिकामा राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने गर्दछ । नोभेम्बरको पहिलो मङ्गलबार त्यहाँ राष्ट्रपति पदका लागि चुनाव हुने प्रचलन छ ।  त्यहाँको निर्वाचन प्रणाली मिश्रित, इलेक्टोरल तथा पपुलर मतका आधारमा हुने गर्छ ।

अमेरिकामा राष्ट्रपतिको चुनाव विश्वमै भिन्न प्रकृतिको रहेको छ । अमेरिकी मतदाताले राष्ट्रपतिका लागि प्रत्यक्ष मतदान गरे पनि राष्ट्रपतिको चयन भने अप्रत्यक्ष ढङ्गले अर्थात् ५३८ सदस्यीय इलेक्टोरल कलेजले गर्दछ । अमेरिकी कङ्ग्रेस दुई सदनात्मक छ । हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेटको कुल सङ्ख्या ५३८ मध्ये बहुमत २७० मत ल्याउने व्यक्ति राष्ट्रपति निर्वाचित हुन्छन् ।

सन् १७८९ मा पहिलो राष्ट्रपति निर्वाचन हुँदा १३ राज्यमा इलेक्टोरल मतदाता चयन गरिएको थियो । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार हुन ३५ वर्ष उमेर पुगेको, जन्मजात अमेरिकी वा कम्तीमा १४ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएको हुनुपर्ने छ । ५३८ मतको इलेक्टोरल कलेजमा ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी ५१ स्थानमा निर्वाचन हुने गर्छ ।   

–युवामञ्च   

Author

रामप्रसाद आचार्य