• १० कात्तिक २०८१, शनिबार

जलस्रोतको रणनीतिक उपयोग

blog

पृथ्वी, आकाश र अन्तरिक्ष पटक पटक युद्धको चपेटामा पर्दै आएको छ । अहिले पनि यो पृथ्वी युद्धबाट मुक्त छैन । देखिने र नदेखिने गरी सम्पूर्ण प्रकृति र मानवहितविरुद्धका युद्ध चलिरहेका छन् । यसरी हुने द्वन्द्व, युद्व, प्राकृतिक स्रोतको अस्वाभाविक दोहन, प्रकृतिलाई बिथोल्ने गरी भएका निर्माण तथा कारखाना सञ्चालन, ज्वलनशील पदार्थको अत्यधिक प्रयोग आदिले जलवायु परिवर्तनका अस्वाभाविक लक्षण देखिन थालेका छन् । स्वभावतः जलवायु परिवर्तनको पहिलो प्रभाव जलसँग जोडिएका स्रोत र गुणस्तरीय पानीको उपलब्धतामा पर्छ । यो प्रभाव पहिलेदेखि नै पानीको अभाव भएका क्षेत्रमा पानीको उच्च तहको असुरक्षाका रूपमा देखिन्छ र हामीले देखिरहेका पनि छौँ । त्यसमा पनि निम्न तथा मध्यम वर्गका जनसङ्ख्यामाथि यसबाट पर्ने प्रभाव र जोखिम त अझ पीडादायक हुन्छ । 

विश्वका विभिन्न स्थानमा घनीभूत रूपमा देखा परेका खडेरी, खडेरीका कारणले हुने आगलागी, बाढी, आँधी र मौसमी घटना अत्यधिक पृथक् ढङ्गले बढ्दै जानु यसका उदाहरण हुन् । यस्तो प्रभावबाट पृथ्वीका कुनै पनि माहादेश अछुतो छैनन् । यसले सम्पूर्ण क्षेत्रमा थप आर्थिक, राजनीतिक र सामाजिक समस्या 

निम्त्याएको छ । 

जलवायुमा देखिएको अस्वाभाविक परिवर्तनले भूबनोट र भूस्थायित्वलाई खलबल्याइदिनाले, माटोको गुणस्तर खस्किनाले र पानीका परम्परागत मुहान नष्ट गरिदिनाले खाद्य सङ्कटका लक्षण पनि स्पष्ट रूपमा देखिन थालेका छन् । खाद्य सङ्कटको प्रभाव गरिब र निमुखा मानिसमा चरम रूपमा परिरहेको छ । एक अध्ययन अनुसार अहिले विश्वका एक अर्ब मानिस पानीको अभाव झेलिरहेका छन् । त्यसमा पनि ४३ वटा देशले यो समस्या उच्च रूपमा झेलिरहेका छन् । पानीको अभाव युद्धग्रस्त, मध्यपूर्व र अफ्रिकी देशमा मात्र होइन, विकसित तथा विकासमा गति लिइरहेका संयुक्त अधिराज्य, भारत, इजिप्ट आदिमा पनि देखिएको छ । जलवायु परिवर्तन, युद्ध तथा जलप्रणाली बिथोलिनुसमेतका कारणले अहिले विश्वका करिब ७३ करोड मानिस भोकमरीको समस्यामा परेका छन, यो सङ्ख्या सन् २०१९ को भन्दा पनि करिब १५ करोडले बढी हो । 

संयुक्त राष्ट्रसङ्घका अनुसार पनि करिब दुई अर्ब मानिस सुरक्षित खानेपानीको उपलब्धताबाट विमुख छन् र यो क्रम बढ्दो छ । यसबाट के देखिन्छ सामान्य अवस्था होस् वा असामान्य अवस्था, पानी विश्व चराचरको सर्वोपरि प्राथमिकता हो । पानी समस्त जीवजगत्लाई प्रकृतिले दिएको अनुपम उपहार हो । झट्ट हेर्दा विश्वमा तेल राजनीतिक प्रभावको कारण बने पनि भविष्यमा भने पानी नै विश्व प्रभावको केन्द्रविन्दुमा रहने छ । पानीको निश्चितचक्र हुन्छ, निश्चित प्रणाली हुन्छ । विश्वमा पानीको मात्रा थपघट हुँदैन । अब प्रश्न उठ्छ पानीको मात्र थपघट नहुने भए पानीको अभाव किन हुन्छ भनेर । पानीको अभाव हुनुको प्रमुख कारण पानी वितरणको प्राकृतिक चक्र बिथोलिनु हो । जब चक्र बिथोलिन्छ, पानी नजानु पर्ने ठाउँमा पुग्छ, पुग्नु पर्ने ठाउँमा पुग्दैन । कहिले वाष्पिकरण बढी हुन्छ, कहिले वाष्पीकरण कम हुन्छ, कहिले धेरै परिणाममा फरक ग्यासमा छुट्टिएर बस्छ, कहिले धेरै परिमाणमा जोडिन पुग्छ । फलस्वरूप कहिले पहाडका टाकुरामा बढी हिउँ देखिन्छ, आइसल्यान्डको हिउँको मोटाइ बढ्छ, कहिले समुद्रको सतहमाथि आउँछ र पहाडका टाकुरा कालापत्थरमा परिणत हुन्छन् । 

अहिले यो पर्यावरणीय चक्र बिथोलिएका कारणल नै जलवायु परिवर्तन हुने क्रम बढ्दो छ, फलस्वरूप समस्याका शृङ्खला बढेका छन् । यसैले गर्दा नै कतै पानी पर्दै नपर्ने र कति अतिवृष्टि हुने जस्ता घटना घटेका हुन् । नेपालमा २०८० को असारमा २४ घण्टाको बिचमा कन्चनपुरको दोधारा क्षेत्रमा ६२४ मिलिमिटर, असोज ११ गते १२ घनटामा झापाको अनारमनीमा २०३ मिमि, चन्द्रगढीमा २६० मिमी र इलाममा २४३ मिलिमिटर वर्षा भयो भने ११ र १२ को दुई दिनमा काठमाडौँ उपत्यकाको नौ स्थानमा अहिलेसम्मकै सर्वाधिक वर्षा हुनुले पनि यस्ता घटना नेपालमा पनि बढ्दै गएको पुष्टि हुन्छ । चार महिनाको मनसुन अवधिमा पुगनपुग औसत १५०० मिमि पानी पर्ने नेपालमा एक दिनमा ५०० मिमिसम्म वर्ष हुनुले विश्व जलप्रणाली कुन हदसम्म बिथोलिइसकेछ र त्यसको चपेटामा नेपाल कति परिसकेको रहेछ भन्ने कुराको यो एउटा गतिलो दृष्टान्त हो । यसले आर्थिक सामाजिक पक्षमा अकल्पनीय प्रभाव पा¥यो । 

यस्ता समस्याको समाधान कुनै एक देश, संस्था वा समूहले गरेर मात्र हुँदैन । यसमा सुधार ल्याउन विश्व एक हुनु पर्छ । सर्वप्रथम पर्यावरणमा प्रभाव पार्ने मानवीय क्रियाकलाप बन्द गर्नु पर्छ । यद्यपि यस कार्यमा खास खास देश वा संस्थावा समूहले अन्यको तुलनामा बढी जिम्मेवारी भने अवश्य लिनु पर्छ । यसको अर्थ हो प्राकृतिक चक्रलाई बिथोल्नु जसले जुन अनुपातमा योगदान पु¥याएको छ सुधारका लागि उनीहरूले त्यही अनुपातमा त्याग गर्न सक्नु पर्छ, योगदान पु¥याउन सक्नु पर्छ । यसका लागि जलस्रोत के हो, पानीको प्रयोग कुन कुन कार्यमा गरिन्छ र गर्नु आवश्यक छ र तीमध्ये बढी प्राथमिकतामा राख्नु पर्ने क्षेत्र कुन कुन हुन, पानीको चक्र कहाँबाट र के के कारणले बिग्रन गयो यसमा ककसको दोष कति छ भनेर चिन्तन गर्नु आवश्यक छ । 

पानीको स्रोतको किसम र प्रकृति हेर्दा नेपाल भाग्यमानी देश हो । पृथ्वीको कुल पानीमध्ये ९७ प्रतिशत नुनिलो र तीन प्रतिशत ताजा भए पनि नेपालमा उपलब्ध हुने सबै ताजा पानी हो । विडम्बना, भन्सार विभागको तथ्याङ्क केलाउँदा हामीले पानीसमेत आयात गरेर प्रयोग गरेको देखिन्छ । विश्वमा उपलब्ध ताजा पानीमध्ये ६९ प्रतिशत हिमनदी, ३० प्रतिशत भूमिगत र एक प्रतिशत सतहमा एवं वायुमण्डलमा रहेको पाइन्छ । सतहको पानीमध्ये ५० प्रतिशत तालतलैया, सिमसार र नदीबाट प्राप्त हुन्छ । नेपालमा वार्षिक रूपमा प्राप्त हुने २२५ अर्ब घनमिटर पानीमध्ये अधिकांश सतह स्रोतबाट प्राप्त हुन्छ । जसको करिब सात प्रतिशत पानी मात्र हामीले प्रयोग गर्न सकेका छौँ, बाँकी ९३ प्रतिशत पानी खेर जान्छ वा देशको सिमापार गरेर भग्छ । प्रयोग गरिने पानीको करिब ९६ प्रतिशत भाग खेती कार्यमा लगाइन्छ । औद्योगिक कार्यमा एक प्रतिशतभन्दा कम प्रयोग हुन्छ । सम्बन्धित मन्त्रालयको तथ्याङ्क हेर्दा अझै ७३ प्रतिशत जनसङ्ख्या शुद्ध र गुणस्तरीय खानेपानीबाट विमुख छन् । देशका पहाडी क्षेत्रका कतिपय गाउँमा पानीका मुहान सुकेका छन्, जसले बसाइँसराइको क्रम बढाएको छ । 

पाँचथरको कुम्मायक, खोटाङको खोटेहाङ, भोजपुरको दलगाउँ, उदयपुरको चौदण्डी, धादिङको रोराङ, स्याङ्जाको चापाकोटदेखि सुर्खेतको रेक्चाका गाउँसम्मका मानिस खानेपानीको अभावले आफ्नो थातथलो छोडेर अन्यत्र बसाइ सर्न बाध्य हुनु यसका प्रतिनिधि उदाहरण हुन् । तराई क्षेत्र पनि यो समस्याबाट अछुतो छैन । वर्षामा पनि चापाकलमा पानी नआउने र इनार सुक्खा हुने क्रम बढेकाले भूमिगत पानीको सतह तल गएको पुष्टि हुन्छ । हामीले पानीका सुन्दर स्रोत भएको काडमाडौँ उपत्यकाको स्थानीय जलप्रणालीलाई नष्ट गरेकाले उपत्याकाबासी पनि काकाकुल जस्ता भएका छन् । 

पानीको प्रयोग मूलतः सिँचाइ, पशु र मत्स्यपालन, खानेपानी तथा सरसफाइसमेतका घरेलु कार्य, औद्योगिक प्रयोग, विद्युत् उत्पादन र यातयात एवं जलविहारका लागि गरिन्छ । यी कार्यबिच प्राथमिकताका आधारमा समानुपातिक ढङ्गले जलस्रोतको उपयोग गर्ने कार्यको प्रबन्ध गर्नु आजको आवश्यकता हो । यसो गर्दा कुन काम, कहाँ कहिले गर्ने, त्यसका लागि कति लगानी आवश्यक पर्छ, त्यसको जोहो कसरी गर्ने हो, स्रोत के हुन् । यो कार्य गर्दा कसको दायित्व र जिममेवारी के हुन्छ भन्ने कुराको पनि निक्र्योल गर्नुपर्ने हुन्छ । 

विकासका अन्य कार्य तथा जलउपयोगसम्बन्धी कार्यबिचको अन्तर्सम्बन्ध पनि केलाउनु पर्छ, नीतिगत तादाम्यता पनि चाहिन्छ । तसर्थ नेपालले समेत मूल पर्यावरणीय चक्रलाई ख्याल गरेर जलस्रोतको रणनीतिक उपयोगलाई प्रभावकारी बनाउनु आवश्यक छ । यसका लागि जलस्रोतको राण्नीतिक प्रयोगको दीर्घकालीन रणननीति तयार गर्नुपर्ने भएको छ । यसो गर्न सके उत्पादनका सबै अन्तरकुन्तरको उपयोग गरिएको, सबै वर्गमा पुगेको, सबै भूगोललाई ढाकेको, सबै क्षेत्र, स्रोत र विषयलाई समेटेको, गाउँ र सहर चिनेको दिगो किसिमको आर्थिक सामाजिक विकासको बाटो खुल्ने कुरामा विश्वास गर्न सकिन्छ । 

  

Author

डा.चन्द्रमणि अधिकारी