• २५ पुस २०८१, बिहिबार

विपद् प्रतिकार्य एउटा संस्था वा व्यक्तिको प्रयासले सम्भव छैन : प्रहरी महानिरीक्षक अर्याल

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल।

काठमाडौँ, कात्तिक ७ गते। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् प्रतिकार्य कुनै एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव नहुने बताउनुभएको छ। सरोकारवाला निकायहरूको सक्रिय सहभागिता तथा सम्बन्धित सबैको योगदान भएमा मात्र यो सफल हुने उहाँको भनाइ छ। 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारस्थित पृथ्वी हाइवे ट्रमा सेन्टरमा नागढुंङ्गा–मुग्लिङ्ग सडक खण्डमा अवस्थित अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी सञ्चालन गरिएको तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो। 

महानिरीक्षक अर्यालले विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालले राज्यको उपस्थितिलाई सुनिश्चित गर्दै जनताको भरोसाको केन्द्रमा आफूलाई उभ्याउन सफल भएको बताउनुहुँदै विपद् प्रतिकार्य तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी कर्मचारीले भूकम्प, बाढी पहिरो, सवारी दुर्घटना लगायतका विपद् जोखिममा परेका हजारौँ नागरिकहरूको जीवन रक्षा गरेको समेत उल्लेख गर्नुभयो।

कार्तिक ५ गतेदेखि सञ्चालन भएको तालिममा २६ जना स्वास्थ्यकर्मीहरूको सहभागी रहेका थिए। कार्यक्रममा नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्र रमन, इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ, राष्ट्रिय सडक सुरक्षा परिषद्का सदस्य सचिव कृष्णराज पन्त, चितवन र धादिङका प्रमुख जिल्ला अधिकारीहरू इन्द्रदेव यादव र सुमन घिमिरेलगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत तथा अधिकृत, विभिन्न संघसस्थाका पदाधिकारी र सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो।