• २५ पुस २०८१, बिहिबार

दाङमा खाद्यले किसानसँग धान खरिद गर्ने

blog

घोराहीमा थ्रेसरबाट धान दाउँदै किसान। तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, कात्तिक ७ गते। दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले किसानसँग धान खरिद गर्ने भएको छ। जिल्लामा यस वर्ष कम्पनीले आठ हजार क्विन्टल धान खरिद गर्ने भएको हो।

जिल्लामा गत वर्ष रोकिएको धान खरिद यस वर्ष हुन थालेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिनुभयो। उहाँका अनुसार केन्द्रले धान खरिदका लागि परिपत्र गरेपछि धान खरिद गर्ने तयारीमा जुटेको  बताउनुभयो। शाखा प्रमुख सुनारका अनुसार केन्द्रले जिल्लामा आठ हजार क्विन्टल धान खरिदका लागि परिपत्र गरेको छ। 

असोज २३ गते परिपत्र गरेर जिल्लामा धान खरिदका लागि अनुमति दिएको भन्दै शाखा प्रमुख सुनारले भन्नुभयो,‘धान खरिद गर्नका लागि परिपत्र आएपछि कार्यालय आन्तरिक तयारीमा जुटेको छ। किसानसँग सम्पर्क गरिरहेका छौँ।’ खाद्यले किसानसँग धान खरिद गरेर चामल बिक्री गर्ने गर्दै आएको छ। सोही अनुसार प्रत्येक वर्ष तराईमा धान खरिद गर्ने र पहाडी क्षेत्रमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो। 

जिल्लामा अहिले किसान धान काट्न व्यस्त रहेकाले धान खरिदका लागि परिपत्र आइसके पनि सुरु गर्न नसकिएको शाखा प्रमुख सुनारले बताउनुभयो। उहाँका किसानले धान काटेर र दाउने काम सकेपछि कार्यालयले धान खरिद गर्न सुरु गर्ने छ। 

कम्पनीले धान खरिद गर्ने भएपछि सरकारले तोकेको मूल्यमा किसानले धान बिक्री गर्न पाउने भएका छन्। खाद्यले धान खरिद नगर्दा व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने किसानलाई बाध्यता थियो। कम्पनीले दिनेभन्दा व्यापारीले कम मूल्यमा धान खरिद गर्ने गर्दछन्।

सरकारले धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ४१० रुपियाँ निर्धारण गरेको छ। आर्थिक वर्ष २०८१/८२ को लागि मोटो धानको प्रति क्विन्टल तीन हजार ४१० रुपियाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल तीन हजार ५८० रुपियाँ तोकेको छ। कृषि ज्ञान केन्द्र दाङका अनुसार यस वर्ष जिल्लामा ३७ हजार दुई सय २५ हेक्टर जमिनमा धान रोपाइँ भएको छ। नियमित वर्षासँगै धानमा कुनै प्रकारको रोगको समस्या नदेखिएकाले धान उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछाने बताउनुहुन्छ।