• २५ पुस २०८१, बिहिबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा सुशील कोइराला क्यान्सर अस्पतालको निरीक्षण

blog

खजुरा क्यान्सर अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री आचार्य लगायत । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक ७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षण गर्नुभएको छ।

धार्मिक कार्यबाट नागरिकले मुट्ठी दान गरेर निर्माण गरी सरकारलाई हस्तान्तरण गरिएको लुम्बिनी प्रदेशको एकमात्र क्यान्सर अस्पतालको बुधवार मुख्यमन्त्री आचार्यले निरीक्षण अवलोकन गर्नुभएको हो । 

अवलोकनका क्रममा मुख्यमन्त्री आचार्यले बिरामीहरूसँग अस्पतालले दिएको सेवा सुविधाका बारेमा जानकारी लिनुभएको थियो । सो अवसरमा अस्पताल प्रशासनलाई उहाँले सङ्घीय सरकार मातहतको अस्पताल भए पनि प्रदेशले नियमले दिने सहयोग उपलब्ध गराउने आश्वासन समेत दिनुभयो । प्रदेश सरकारले गर्नसक्ने योजनाहरू लिएर प्रदेश राजधानी आउन आग्रह गर्दै उहाँले दरबन्दी र किताब खानामा दर्ता गर्ने विषयमा आफूले सङ्घीय सरकारमा पहल गर्ने पनि बताउनुभयो । 

बिना दरबन्दी अस्पताल सञ्चालन भएको प्रति आश्चार्य प्रकट गर्दै मुख्यमन्त्री आफ्नो तर्फबाट गर्न मिल्ने सहयोग गर्ने प्रतिबद्धता समेत सो अवसरमा जनाउनुभयो । त्यसअघि अस्पतालका कार्यकारी निर्देशक डा प्रकाशप्रसाद साहले विगत नौ वर्षदेखि दरबन्दी बिना काज र दैनिक ज्यालादारी कर्मचारी र चिकित्सकहरूबाट अस्पताल सञ्चालन भइरहेको, अस्पतालको जनशक्तिलाई निजामती कितावखानामा दर्ता नगरिँदा स्वास्थ्यकर्मीहरू टिकाउन असहज बनेको, चिकित्सक तथा नर्सहरूको आवास नहुँदा सेवा प्रभावित भएको जानकारी गराउनुभएको थियो ।  

डा.साहले प्रविधि, स्रोत, साधन हुँदाहुँदै पनि जनशक्तिको व्यवस्थापन नहुँदा अस्पताल सञ्चालनमा असहजता उत्पन्न हुँदै आएको समेत गुनासो गर्नुभयो । अस्पताल निरीक्षणका क्रममा लुम्बिनी प्रदेशसभाका सदस्य रत्न खत्री, लुम्बिनी प्रदेशका मुख्यसचिव महादेव पन्थ लगायत उच्च सरकारी अधिकारीहरिको पनि सहभागिता रहेको थियो । 

खजुरा क्यान्सर अस्पताल सञ्चालनमा आएपछि पश्चिम नेपालका बिरामीलाई धेरै सहज भए पनि जनशक्तिको व्यवस्थापन सबैभन्दा ठुलो समस्या भएको प्रदेशका पूर्व मन्त्री रत्न खत्रीले बताउनुभयो ।