• २५ पुस २०८१, बिहिबार

मुक्तिनाथदेखि थोरङ्लापाससम्मको पदमार्ग सरसफाइ

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, कात्तिक ७ गते । मुस्ताङको मुक्तिनाथदेखि राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गतको थोरङ्लापाससम्मको मुस्ताङ तर्फको पदमार्गमा सरसफाइ गर्नुका साथै फोहोर व्यवस्थित तवरले नष्ट गरिएको छ ।

अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना(एक्याप) इलाका संरक्षण कार्यालय जोमसोम, बारागुङ मुक्तीक्षेत्र गाउँपालिका र जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्वयमा पदमार्ग क्षेत्रमा सरसफाइ गरिएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "विश्वभरका पर्यटकहरूले भ्रमण गर्ने राउण्ड अन्नपूर्ण क्षेत्रको पदमार्गमा रहेका फोहोर सङ्कलन केन्द्र तथा अन्यत्र पर्यटकले यत्रतत्र फालेका फोहोरलाई व्यवस्थित गरेर नष्ट गर्ने काम भएको छ ।" 

प्रवक्ता गुरुङले एक्याप, गाउँपालिका र प्रहरीको संयुक्त प्रयासमा पदमार्ग सरसफाइ गरिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो । बिहानैदेखि थालिएको पदमार्ग सरसफाइमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजीन नामगेल गुरुङ, मुस्ताङका प्रमुख जिल्ला अधिकारी(सिडिओ)विष्णु प्रसाद भुसाल, प्रहरी नायव उपरीक्षक(डिएसपी) सूर्यबहादुर बोगटी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेय, लगायतको टोलीको सहभागिता रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्यबहादुर बोगटीले गाउँपालिका तथा एक्याप र प्रहरीको टोलीले वारागुङ मुक्तीक्षेत्र गाउँपालिका–२ फेदी हुँदै समुद्री सतहदेखि पाँच हजार चार सय १६ मिटरको उचाइमा रहेको मनाङ र मुस्ताङको सिमाना रहेको थोरङ्लापास नाकासम्म जाने पैदलमार्ग पर्यटक विश्राम स्थल सरसफाइ गरेको बताउनुभयो संयुक्त टोलीले सरसफाइ गर्नुका साथै सङ्कलित फोहोरलाई व्यवस्थित तवरले प्रदूषण कम हुने तवरले नष्ट गरिएको उहाँको भनाइ छ । 

नागरिकको सुरक्षा र स्वच्छ वातावरणमा पदयात्रा गर्न सकुन भनेर सरसफाइलाई महत्वका साथ सम्पन्न गरिएको उहाँको भनाइ छ ।

अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना(एक्याप) जोमसोमका प्रमुख प्रमोद रेग्मीले एक्याप क्षेत्र भित्र पर्ने क्षेत्रको संरक्षण साथै यसको प्रचारप्रसार पनि आफूहरूको दायित्व पर्ने बताउनुभयो। अन्नपूर्ण फन्कोमार्न पदमार्ग मार्फत आउने पर्यटकहरूलाई स्वच्छ वातावरणमा यात्रा गर्ने अवस्थालाई सुरक्षित गर्नका लागि पदमार्ग क्षेत्र सरसफाइ गरिएको बताउनुभयो । उहाँले एक्याप जोमसोमले राउण्ड अन्नपूर्णको मुस्ताङ भित्र पर्ने थोरङ्ला घाँटी सम्मै सरसफाइ गर्नुका साथै सङ्कलितलाई फोहोर उचित व्यवस्थापन गरिएको बताउनुभयो ।