• २५ पुस २०८१, बिहिबार

प्रत्येक कार्यालयमा सूचना अधिकारी अनिवार्य : मुख्यमन्त्री सिंह

blog

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह प्रदेशस्तरीय सूचनाको हकसम्बन्धी प्रशिक्षण शिविर कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी
जनकपुरधाम, कात्तिक ७ गते । 
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले सूचनाको हकलाई सहज बनाउन सबै कार्यालयमा अनिवार्य सूचना अधिकारी राख्नुपर्ने बताउनुभयो ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले बुधबार जनकपुरधाममा आयोजना गरेको प्रदेशस्तरीय सूचनाको हकसम्बन्धी प्रशिक्षण शिविर कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री सिंहले सूचना र पारदर्शिताको महत्वमा जोड दिन प्रत्येक कार्यालयमा अनिवार्य सूचना अधिकारी तोकिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारी कामकाजमा पारदर्शिता र जबाफदेहिता बढाउन सूचनाको हकलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्नेमा विशेष ध्यान दिन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई सूचनाको पहुँचमा सहज बनाउन प्रत्येक कार्यालयमा सूचना अधिकारी टोक्नुपर्ने र कार्यालय बाहिर सबैले देख्ने गरी मोबाइल नम्बर र नामसहितको सूचना अधिकारीको फोटो टाँस्नुपर्ने हुन्छ ।”

मुख्यमन्त्री सिंहले प्रदेश सरकार सूचनाको हकलाई जनताको मौलिक अधिकारको रूपमा लिएको र यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनी तथा प्रशासनिक सुधारहरूमा प्रदेश सरकारले ध्यान केन्द्रित गरिरहेको बताउनुभयो । साथै, सूचनाको हकमार्फत नागरिकलाई सरकारी कामकाजको जानकारी दिने प्रक्रियाले भ्रष्टाचार न्यूनीकरणमा समेत योगदान पुर्‍याउने विश्वासका साथ प्रदेशका सम्पूर्ण जानकारी कार्यालयको वेबसाइट मार्फत दिने वातावरण समेत बनाइरहेको बताउनुभयो ।

यस्तै, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक प्रयोग गरेर सामान्य नागरिकले पनि धेरै कुरा बाहिर ल्याउन सक्ने बताउनुभयो । सूचनाको हक कानुनी रूपमा स्थापित भए पनि यसको प्रभावकारी कार्यान्वयनमा अझै धेरै चुनौतीहरू रहेको औँल्याउँदै, जनतालाई सूचनाको पहुँच प्रदान गर्न सरकारी निकायहरूले आफूलाई जिम्मेवार बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सूचनाको हकको प्रभावकारिता बढाउनका लागि प्राविधिक सुधार र नागरिक सचेतनामा जोड दिनुपर्ने बताउनुभयो ।

सूचना प्रविधिको युगमा सूचनाको हकलाई प्राविधिक रूपले सुदृढ गर्दै जनताको सूचनाको पहुँचलाई सुनिश्चित गर्नु आवश्यक रहेकोमा सबैले जोड दिएका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष उमीद बागचन्दको अध्यक्षता आयोजित उक्त कार्यक्रमलाई युएसएड, दि एसिया फाउन्डेसन, राष्ट्रिय सूचना आयोग र नागरिक समाज र मिडियाले सहकार्य गरेका थिए भने कार्यक्रममा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, दि एसिया फाउन्डेसन कार्यक्रम प्रबन्धक रोशनकुमार झासहितको उपस्थिति रहेको थियो ।