• २५ पुस २०८१, बिहिबार

रास्वपाको प्रदर्शन र अनुचित क्रियाकलापप्रति कांग्रेसको ध्यानाकर्षण

blog

फाइल तस्बिर ।

काठमाडौँ, कात्तिक ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि उहाँका समर्थकले गरेको प्रदर्शन र अनुचित क्रियाकलापप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ । 

बुधबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले रास्वपाका समर्थकले गरिरहेको प्रदर्शनले न्यायिक प्रक्रिया र अनुसन्धानमा अनुचित दबाब सिर्जना गरिरहेको बताउनुभएको हो । 

‘‘सहकारी ठगी प्रकरणमा केही दिन अघि अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरूले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रियामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने र राज्यका तटस्थ निकायहरूलाई आतङ्कित र त्रसित पारी अनुचित दबाब सिर्जना गर्ने गतिविधि भइरहेकोले यस्ता अनुचित क्रियाकलापप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’’, विज्ञप्तिमा भनिएको छ, ‘’राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरूपणको कार्यलाई वाधा पुर्‍याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल् पुर्‍याउने गतिविधि प्रति नेपाली कांग्रेस गम्भीर आपत्ति व्यक्त गर्दै भर्त्सना गर्दछ ।’’

कांग्रेसले कानुन सबैका लागि समान हुन्छ र हुनुपर्छ भन्दै विधिको शासन भनेको कानुनका दृष्टिमा सबै नागरिक बराबरी हुनु भनेर प्रष्ट पारेको छ ।