• ८ मंसिर २०८१, शनिबार

बुद्धिजीवी सङ्गठनद्वारा बाढीपहिरो पीडितलाई पाँच लाखभन्दा बढी सहयोग

blog

काठमाडाैं, कात्तिक ७ गते । नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी सङ्गठनले बाढीपहिरो पीडितको सहयोगका लागि पाँच लाख २५ हजार सहयोग हस्तान्तरण गरेको छ । माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा रहने गरी सङ्गठनले सो रकम हस्तान्तरण गरेको सङ्गठनका महासचिव लक्ष्मीप्रसाद पण्डितले बताउनुभएकाे हाे ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सङ्गठनका अध्यक्ष कृष्ण केसीलगायतका पदाधिकारीहरूले चेक हस्तान्तरण गर्नुभएकाे हाे । कार्यक्रममा सङ्गठनका इञ्चार्ज खिमलाल देवकोटालगायत बुद्धिजीवी सङ्गठनका पदाधिकारीहरूको सहभागिता थियो । 

चेक ग्रहण गर्नुहुँदै अध्यक्ष प्रचण्डले बाढीपहिरो पीडितको सहयोगका लागि बुद्धिजीवी सङ्गठनले लिएको पहलकदमीका लागि धन्यवाद दिनुभयाे । पार्टीले बाढीपहिरो पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पहलकदमी लिएको जानकारी दिँदै उहाँले सरकारको ध्यानाकर्षण गराउने र पार्टी आफैंले पनि कार्यकर्ता परिचालन गर्ने काम गरेको बताउनुभयाे ।

यसपटक विपतबाट ठुलो क्षति भएकाले सबै मिलेर अब पुनर्निर्माण र पुनर्स्थापनामा जोड दिनुपर्ने उहाँले बताउनुभयाे ।