• ८ मंसिर २०८१, शनिबार

सञ्चालन भएन सबस्टेसन ठेक्का तोड्ने निर्णय

blog

प्युठान नगरपालिका–८, दम्तीमा निर्माण गरिएको सबस्टेसन । तस्बिर : सुजल श्रेष्ठ

प्युठान समाचारदाता

प्युठान, कात्तिक ७ गते । प्युठानमा निर्माण सम्पन्न भएको विद्युत् सबस्टेसन सञ्चालन नहुँदा उपभोक्ताले हैरानी बेहोरेका छन् । प्युठान नगरपालिका–८, दम्तीमा सबस्टेसन निर्माण सम्पन्न भए पनि अहिलेसम्म सञ्चालन नहुँदा उपभोक्ताले सास्ती बेहोरेका हुन् । 

सबस्टेसन सञ्चालन नहुँदा जिल्लावासीले लामो समयदेखि समस्या भोग्नु परेको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । उक्त विषयमा दुई वर्षअगाडि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर ध्यानाकर्षण गराएको पोख्रेलले जानकारी दिनुभयो । 

झिमरुक नदीको पानी माण्डवी नदीमा सुरुङमार्फत खसालेर झिमरुक जलविद्युत् आयोजना सञ्चालन गरिएको छ । १२ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको जलविद्युत् आयोजना नर्वे सरकारको सहयोगमा विसं २०४२ मा सुरु भई २०४८ सालमा सम्पन्न भएको हो तर विद्युत् आयोजना भएको जिल्लामा अहिलेसम्म सबस्टेसन सञ्चालन हुन सकेको छैन ।

मङ्गलबार प्युठानमा सर्वपक्षीय बैठकले ठेक्का तोडेर भए पनि सबस्टेसन सञ्चालनका लागि बाँकी काम अगाडि बढाउने निर्णय गरेको छ । श्री त्रिपुरेश्वर जयदुर्गे जेभीले २०७४ जेठ १७ गते निर्माण सम्झौता गरेको थियो । ७३ प्रतिशत भुक्तानी लिइसकेको कम्पनीले स्थानीयको अवरोध भन्दै काम रोकेको नेपाल विद्युत् प्राधिकरण प्युठानका कार्यालय प्रमुख इन्जिनियर प्रज्वल हुमागाईंले बताउनुभयो ।

बैठकमा नेपाल विद्युत् प्राधिकरण डिभिजन कार्यालय नेपालगन्जका कार्यालय प्रमुख इन्जिनियर राजीवकुमार सिंहले निर्माण कम्पनीसँग सम्झौता तोडेर भए पनि बाँकी काम पूरा गर्ने बताउनुभयो । डेढ वर्षदेखि निर्माण कम्पनी सम्पर्कमा नरहेको उहाँको भनाइ छ ।