• ८ मंसिर २०८१, शनिबार

जीर्ण सडकमा कष्टकर यात्रा

blog

तानसेन समाचारदाता

तानसेन, कात्तिक ७ गते । समयमै सडक मर्मत हुन नसक्दा पाल्पाका महत्वपूर्ण सडक जीर्ण बनेका छन् । जिल्लाका मुख्य राजमार्ग र सहायक राजमार्गको अवस्था नाजुक बन्दा यी सडक भएर दैनिक यात्रा गर्ने यात्रुले सास्ती बेहोर्नु परेको छ । 

तानसेन–हार्थोक–छहरा–बतासे सडक, आर्यभन्ज्याङ–ताहुँ–रामपुर सडक, बाँसटारी–सराई–झडेवा सडक, चिलाङ्दी–चापपानी–राम्दी सडकको ठाउँ ठाउँमा खाल्डाखुल्डी परेको छ । तत्कालीन जिल्ला विकास समितिले ओटासिल गरेर स्तरोन्नति गरेका सडक पछिल्ला वर्षमा अलपत्र जस्तै बनेका छन् । जिल्लाका नागरिक सदरमुकाम तानसेनसहित, बुटवल, पोखरा जान आउन प्रयोग गर्ने सडक लामो समय मर्मत सुधार हुन नसक्दा सडकको अवस्था जीर्ण बनेको पूर्वखोला–१, सिलुवाका स्थानीय बासिन्दा रामबहादुर आलेले बताउनुभयो । 

आर्यभन्ज्याङ–रामपुर सडकखण्डको २५ किलोमिटर सडक एक दशकदेखि मर्मत सुधार हुन सकेको छैन । सडकमा ठुला ठुला खाल्टा परेका छन् भने कतिपय स्थानमा पहिरो गएर सडकमा यात्रा गर्न कठिन छ । सडकको विस्तार गर्ने भन्दै कतिपय स्थानमा खनिएका सडकसमेत लामो समय अलपत्र हुँदा यात्रुले सास्ती बेहोर्नु परेको उहाँको गुनासो छ । यी सडक प्रदेश सरकार र सङ्घीय सरकार मातहत रहे पनि मर्मत सुधारमा प्राथमिकतामा परेको छैन । 

वर्षमा एउटा सडकका लागि ५० लाख रुपियाँदेखि एक/डेढ करोड रुपियाँबाट सडक विस्तारको काम भइरहेको छ । यद्यपि सडक विस्तारको काम समयमै नसकिने समस्याले यात्रुले झनै सास्ती बेहोर्नु परेको पूर्वखोला–१, जल्पाका हुमबहादुर झेडीले बताउनुभयो । सडक बनाउने भनेर ओटासिल सडक भत्काएर राखेको तीन/चार वर्ष बितिसक्दा समेत सडक नबन्दा यात्रुलाई झनै समस्या भएको उहाँले गुनासो गर्नुभयो । सडक मर्मत नहुँदा दिनहुँ हिँड्ने यात्रु, बिरामी, चाडपर्वमा आफन्तकहाँ हिँड्ने मानिसले सास्ती खेप्नु परेको छ । 

पुराना र भएका सडकभन्दा नयाँ सडक बनाउने र विस्तार गर्ने कामले प्राथमिकता पाउँदा महìवपूर्ण मानिएका यस्ता पुराना सडक ओझेलमा परेको छ । भएका सडकसमेत राम्रोसँग मर्मत सुधार गर्न नसकेको अवस्थामा साना र टुक्रे योजनाको काम देखिने गरी हुनै सकेको छैन । सडक डिभिजन कार्यालय र सडक पूर्वाधार विकास कार्यालयले हरेक वर्ष ५० करोडभन्दा बढीको सडक मर्मत र निर्माणमा खर्च गरे पनि सडकको अवस्था झनै बिग्रिएको सर्वसाधारणको गुनासो छ । 

बनेका नयाँ सडकको अवस्था पनि खासै सुधार हुन सकेको छैन भने पुराना सडक अलपत्र जस्तै बनेको रैनादेवी छहरा–५, मुझुङका स्थानीय बासिन्दा रामबहादुर बम्रेलले बताउनुभयो । पाल्पाको पश्चिम भेगमा जाने सडक छहरा–बतासे सडक बिग्रिएर क्षतविक्षत भए पनि मर्मत सुधारमा कसैको पनि ध्यान नगएको उहाँको गुनासो छ ।