• ८ मंसिर २०८१, शनिबार

बाढीपहिरोका कारण दुग्ध क्षेत्र अझै सामान्य हुन सकेन, पचास करोडभन्दा बढीको क्षति

blog

मनहरी गाउँपालिका–८, मा रहेको साना किसान सहकारीमा किसानको दुध सङ्कलन गरिँदै । तस्बिर : अनिल पराजुली

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ४ गते । अविरल वर्षाका कारण आएको बाढीपहिरोले दुग्ध क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ । बाढीपहिरोले क्षति पुर्‍याएको ठाउँबाट डेरीसम्म दुध अझै आउन सकिरहेको छैन । 

कतिपय ठाउँमा गोठसहित गाईभैँसी पनि बगाएको छ भने कतिपय ठाउँमा डेरी उद्योगमा क्षति पुर्‍याएको छ । सडक, बाटोघाटो भत्काएका कारणले पनि दुग्ध क्षेत्रमा असर परेको डेरी उद्योगीहरूले बताएका छन् । 

नेपाल डेरी सङ्घका अनुसार बाढीपहिरोका कारण कम्तीमा दैनिक डेढ लाख लिटर दुध कम सङ्कलन भएको छ । देशभर औपचारिक बजारमा दैनिक ११–१२ लाख लिटर दुध सङ्कलन हुन्थ्यो, त्यसमध्ये अहिले डेढ लाख लिटर दुध कम भएको सङ्घका अध्यक्ष राजकुमार दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो सङ्घ अन्तर्गत मात्र दैनिक पाँच लाख लिटर दुध सङ्कलन हुन्छ, त्यसमध्ये अहिले ५०–६० हजार लिटर कम भएको छ ।”

दुध सङ्कलन कम भएका कारण दुध क्षेत्रमा खासै असर नदेखिएको बताउँदै उहाँले पहिलादेखि पर्याप्त दुध थियो, धुलो दुध पनि प्रशस्त मौज्दात थियो । त्यसले अहिले काम चलिरहेको छ तर यसको असर फागुन चैतमा देखिने उहाँले बताउनुभयो । दुध क्षेत्रमा सबभन्दा बढी असर बाटोघाटोले भएको बताउँदै उहाँले सडक, यतायात नहुँदा ग्रामीण तथा पहाडी क्षेत्रबाट दुध डेरीसम्म आउन नसकेको बताउनुभयो । 

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले भक्तपुर बालकोटको ओखलढुङ्गे डेरीमा बाढीपहिरोका कारण करिब २५ लाख र ललितपुर टीकाभैरवको तिलेश्वर डेरीमा करिब एक करोड रुपियाँ बराबरको क्षति भएको जानकारी दिनुभयो । काभ्रेमा चार, ललितपुरमा पाँच, भक्तपुरमा तीन, काठमाडौँमा पाँच गरी जम्मा १९ वटा डेरीमा क्षति भएको एसोसिएसनको तथ्याङ्कमा उल्लेख छ । उहाँले भन्नुभयो, “असोज ११, १२ र १३ गते दुध नै बजारमा आएन । देशभर औपचारिक क्षेत्रमा दैनिक करिब १० लाख लिटर दुध खपत हुन्छ ।” तीन दिन मात्र दुध नआउँदा करिब २१ करोड ९० लाख रुपियाँको क्षति किसानलाई भएको छ ।

अध्यक्ष दाहालले एसोसिएसनको विवरण अनुसार दुग्ध क्षेत्रमा मात्र ५० करोडभन्दा बढीको क्षति भएको बताउनुभयो । काभ्रे, ललितपुर, रामेछाप, मकवानपुर, सिन्धुली, नुवाकोट, धादिङ, चितवन आदि स्थानबाट अझै १५ प्रतिशत दुध आउन सकेको छैन । त्यस्तै बाटोघाटोका कारण ललितपुरको दक्षिण भेगबाट हालसम्म पनि सहज रूपमा दुध आउन सकेको छैन ।