काठमाडौँ, कात्तिक ३ गते । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा बिपी कोइराला स्मृति कप टी–२ प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा भारतको लाइफ केयर क्रिकेट क्लब र स्थानीय टिम नेक्सस रुपन्देही–११ विजयी भएका छन् ।
पहिलो खेलमा भारतको लाइफ केयर क्रिकेट क्लबले पाकिस्तानको जाभेद गोहार अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमीलाई नौ विकेटले हरायो ।
जाभेद गोहारले दिएको ९० रनको लक्ष्य लाइफ केयरले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जाभेद गोहर अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमीले १८.१ ओभरमा सबै विकेटको क्षतिमा ८९ रन बनाएको थियो ।
दोस्रो खेलमा नेक्सस रुपन्देही–११ले श्रीलङ्का स्टेट सर्भिसेस क्रिकेट एसोसिएसनलाई नौ विकेटले हरायो । जितका लागि श्रीलङ्कन टिमले दिएको ८७ रनको लक्ष्य नेक्सस रुपन्देहीले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो ।
यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलङ्का स्टेट सर्भिसेसले २० ओभरमा नौ विकेटको क्षतिमा ८६ रन बनाएको थियो ।
नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दक्षिण एसियाली चार टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पाँच देशका क्लबको सहभागिता रहेको छ ।
स्पोर्ट्स टुरिजमलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले तीन लाख रुपियाँ पुरस्कार पाउनेछ ।
यस्तै म्यान अफ दि सिरिजलाई ३५ हजार, वेस्ट बलरलाई २० हजार, प्रत्येक खेलको प्लेयर अफ दि म्याचले पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।