‘जुम्लाको स्याउले काठमाडौँमा बजार पाउन सकेन । किन हो किन, नेपाली बजारमा अर्गानिक स्याउ बिक्दैन । अर्गानिक स्याउप्रति जनता आकर्षित हुन सकेनन् । होलसेल व्यापारीले बढी नाफाका लागि स्याउ बेच्न खोजेनन् । आफ्नै देशमा उत्पादित अर्गानिक स्याउ नबिकेर गाई र बाँदरलाई खुवाइँदै छ । सम्बन्धित निकायको ध्यान जान सकिरहेको छैन । किसान करोडौँ रुपियाँ डुबाएर निराश र हतास छन् ।’
यस्ता समाचार सुनिरहन्छौँ । कतिपयका गफका मूल विषय पनि बनेका छन् । आफ्नै देशमा उत्पादित वस्तु तथा मालसामान नबिक्नु राम्रो कुरा होइन । यसबाट हाम्रो सोच र चिन्तनमा परिवर्तन हुन नसकेको पुष्टि हुन्छ । यस्ता कुरा सुन्दा सचेत र संवेदनशील मानिसका मनमस्तिष्क स्तब्ध बन्छन् । यो विषयमा केही बहस भएका छन् । चर्चा परिचर्चा भएका छन् । पक्षविपक्षमा तर्कवितर्क आएका छन् तर समस्याले निकास पाउन सकिरहेको छैन । हामी के त संवेदनशील बन्न सकेनौँ वा बढी बन्यौँ । यो समस्याले यही कुराको पुष्टि गर्छ ।
जुम्लाको स्याउले काठमाडौँमा राम्रो बजार पाउन सकेन । स्याउ ल्याउने व्यापारी मारमा परे । उनीहरूका अगाडि अनेकौँ समस्या छन् । अप्ठेरामा परेका तिनीहरूलाई बाटो देखाउनु राज्य मात्र होइन, सबै नेपालीको नैतिक उत्तरदायित्व नै हो । अर्को कुरा हामी खाली काठमाडौँ काठामाडौँ मात्र भनिरहेछौँ । देश भनेको केवल काठमाडौँ मात्र होइन तर हामी त्यही बुझिरहेछौँ ।
काठमाडौँबाहेक पोखरा, बुटवल, नेपालगन्ज, धनगढी, भरतपुर, वीरगन्ज, मलङ्गवा, जनकपुर, धरान र विराटनगर जस्ता सहरमा ती स्याउले बजार पाएका छन् त ? यो ज्वलन्त प्रश्न हो । देश सङ्घीयतामा गएपछि स्थानीय, प्रदेश र केन्द्रीय तिनै तहका दुई निर्वाचन सम्पन्न भए र ती निर्वाचित प्रतिनिधिले काम गरिरहेको अवस्था छ । यस्तो स्थितिमा देशभित्रका कुनै पनि भूभागमा उत्पादित वस्तु र सामानको बिक्रीवितरणमा सीमित क्षेत्र तथा व्यक्तिको मात्र भर पर्नु हुँदैन । यसका लागि सबै ठाउँका जिम्मेवार नागरिक र व्यक्तिको उत्तिकै भूमिका हुन्छ । सबैले आआफ्ना ठाउँबाट जिम्मेवारीबोधका साथ काम गरे हरेक समस्याको समाधान हुन्छ । समस्या के हो, कमजोरी कहाँ छ, के गरे राम्रो हुन्छ, आफैँ गर्न सक्छौँ वा सक्दैनौँ ? गम्भीर रूपमा ध्यान जान सकिरहेको छैन ।
विदेशबाट आयातित स्याउले राम्रो बजार पाइरहेका छन् । हामी तिनै स्याउ खोजी खोजी किनिरहेछौँ तर हाम्रा स्याउ बिकिरहेका छैनन्, किन ? यतातिर हाम्रो ध्यान जान सकिरहेको छैन । यी र यस्ता समस्या हिजैदेखिका हुन् । अझ अस्ति र झन् अस्तिदेखिकै हुन् । हाम्रा उत्पादनले बजार पाउनु पर्छ भन्ने कुरामा कुनै प्रश्न हुन सक्दैन । स्याउ मात्र होइन, तरकारी, फलफूल, दुग्ध पदार्थ र अनाजले पनि उचित बजार पाइरहेका छैनन् । एकातिर उत्पादन बजारसम्म पुग्न कठिन छ । अर्कातिर पुगे पनि प्रतिस्पर्धा गर्न सक्षम छैनन् । बर्सौंदेखि यस्तै मार झेलिरहेका छौँ । समस्याको छिनोफानोतिर ध्यान जान सकिरहेको छैन ।
सस्तो वा राम्रोका नाममा स्वदेशी वस्तु वा सामग्री किन्न छाडेर विदेशी उत्पादन उपयोग गरिरहेछौँ । ‘हाम्राभन्दा परायका राम्रा हुन्छन्’ भन्ने मानसिकताले मनमस्तिष्कमा डेरा जमाएका छन् । पुर्खा आफ्नै उत्पादनमा बाँचेका थिए । आफू मात्र नभएर अरूलाई पनि बचाएका थिए । हाम्रा उत्पादन विदेशमा सहजै पुग्थे । कृषिजन्य उत्पादन बिक्री गर्न सक्ने क्षमता बनाएकै कारण देश कृषिप्रधानका रूपमा चिनिएको थियो तर आजको स्थिति त्यस्तो छैन । यही कारण हामी दिनप्रतिदिन परमुखी बन्दै गइरहेका छौँ ।
एकातिर आफूले सहजै गर्न सक्ने कामसमेत गरिरहेका छैनौँ । अर्कातिर आफ्ना उत्पादन सहजै बिक्रीवितरण भइरहेका पनि छैनन् । पल पलमा आशावादिता बोक्नुपर्ने स्थितिले कहाँ पुर्याउने हो थाहा छैन । मेरो काम म गर्छु, मैले नगरे कसले गर्छ, अरूले गर्न सक्ने मैले नसक्ने हुन्छ र ! यस्ता भाव मनमा नपलाएसम्म काम गरिँदैन । काम नगरिएसम्म अगाडिको बाटो बन्द नै हुन्छ । जबसम्म म पनि केही गर्छु र गर्नु पर्छ भन्ने भाव मनमा पलाउँदैन तबसम्म केही गर्न सकिँदैन । केही गर्नका लागि पहिले मानसिक रूपमा तयार हुनु आवश्यक छ । यही चेतले अगाडि बढाउँछ र गन्तव्यमा पनि पुर्याउँछ ।
‘यहाँ केही छैन, केही हुँदैन, गर्न सकिँदैन, गर्न दिइन्न, गरे असफल हुनु पर्छ’ अधिकांश उर्वर मस्तिष्कमा यही भाष्य भरिएका छन् । अधिकांश कुराकानी, सल्लाह, छलफल र विमर्शमा यही कुरा अगाडि आउँछन् । मूल विषय छायामा पर्छ । । यस्ता भाष्य कसरी बन्यो, कहाँबाट आएर मस्तिष्कमा भरिए ? यो सोचनीय विषय हो । यसलाई गम्भीरताका साथ लिनु आवश्यक छ । गम्भीरताका साथ समस्या समाधानका निम्ति पहल गरे यो ठुलो समस्या पनि होइन ।
काठमाडौँलगायत देशका विभिन्न बजार वा बिक्री केन्द्रमा विशेष गरी फलफूल र तरकारीका थोकदेखि खुद्रासम्मको बिक्रीवितरणमा सीमापारिका व्यापारीको राम्रै उपस्थिति छ । वस्तु, सेवा र होटेलमा पनि नजिकदेखि टाढासम्मका छिमेकीको राम्रो उपस्थिति छ । ती मजाले बिनाकुनै व्यवधान आआफ्ना काम गरिरहेछन् । के गर्दा र भन्दा राम्रो हुन्छ त्यसै गरिरहेछन् । ती जे गर्ने उद्देश्य बोकेर यहाँ आएका हुन्, यहाँका व्यक्ति र बजारलाई विश्वासमा लिएर खुरु खुरु त्यही गरिरहेका छन् । परबाट आएर पनि ती आफ्ना काममा सफल छन् । यहाँ उनीहरूको समाज छैन, समुदाय छैन । तथापि आआफ्ना काममा सफल बनिरहेछन् ।
हामी भने आफ्नै उत्पादन बिक्रीवितरण गर्न सकिरहेका छैनौँ । एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन कठिन परिरहेको छ । एकातिर अभाव छ, अर्कातिर उत्पादन बिक्री हुँदैनन् । किन ? यो गम्भीर प्रश्न हो । आफू सक्षम नभई अर्काका भरमा चलेकाले प्रगति गर्न सक्दैनन् । सबैसँग सबै कुरा हुँदा पनि हुँदैन । बढी भएका कुरा अर्कालाई दिनु र नभएका कुरा लिनु नाजायज होइन तर अरूसँग पूर्ण निर्भर बन्नु चाहिँ कदापि राम्रो होइन । आफूसँग नभएका कुरा ल्याउनु पर्छ र ल्याएका पनि छौँ । संसार यसै गरी चलिरहेको पनि छ तर आफ्नो उत्पादन आफ्नै देशमा बिक्रीवितरण हुन नसक्नु र उत्पादकले दुःख पाउनु चाहिँ देशका लागि कहिल्यै हितकर हुन सक्दैन ।
विकास र प्रगतिका लागि देश आत्मनिर्भर बन्नु पर्छ । सबैमा आत्मनिर्भर बन्न नसके पनि जे जेमा सकिन्छ, त्यसमा आफ्नो क्षमता बनाउनु आवश्यक छ । एकातिर हामी हाम्रै देशका उत्पादन बिक्रीवितरण गर्न सकिरहेका छैनौँ, अर्कातिर विदेशबाट आयात गरिएका त्यही प्रकारका सामान बजारमा जोडतोडले बिक्री भइरहेको छ । यो चाहिँ मिल्दै नमिल्ने कुरा हो । हाम्रो आफ्नो उत्पादन नबिक्नुमा उपभोक्ता, व्यापारी, किसान वा सरकार को बढी जिम्मेवार छ, यो खुट्याउनु चाहिँ आवश्यक छ । कतै न कतैबाट कमजोरी छ तर त्यो कमजोरी कता छ खुट्टिन नसकेको चाहिँ यही हो । यो कुरा खुट्याउन नसकेसम्म समस्या जस्ताको तस्तै रहन्छ ।
हामीकहाँ आफ्ना वस्तु तथा सेवा बिक्रीका लागि विभिन्न ठाउँबाट आएका व्यक्तिले गरेको परिश्रम, मेहनत, लगनशीलता र बजारीकरणको प्रयास देख्दा लाग्छ, खोट हामीभित्रै छ । हामी सुधार्नेतिर पटक्कै जान सकिरहेका छैनौँ । किन, के र कसरी जस्ता शब्द हाम्रा मनमा खेल्न सकिरहेका छैनन् । उत्पादन त गरिरहेका छौँ तर बजारीकरणतिर सोच पुग्न सकिरहेको छैन । सबैले आआफ्नो जिम्मेवारी बहन गरिदिए हाम्रा उत्पादकले निराश हुनुपर्ने अवस्था आउने नै थिएन । एउटाले अर्कालाई दोष देखाएर हुँदैन । यसर्थ समस्याको समाधान सबै मिलेर खोजौँ । यसैमा हामी सबैको कल्याण र सुन्दर भविष्य रहेको छ ।