• ७ मंसिर २०८१, शुक्रबार

अर्थतन्त्र विकासको मार्ग

blog

वित्तीय क्षेत्रको औपचारिक सुरुवात भएको करिब नौ दशक भएको छ । चालिसको दशकसम्म आउँदा सुषुप्त अवस्थामा रहेको वित्तीय क्षेत्र आर्थिक उदारीकरणको लहरको प्रभावसँगै यति तीव्र गतिमा फैलियो कि देशलाई आवश्यक पर्ने वित्तीय संस्था कति 

हो ? हाम्रो वित्तीय साक्षरताको अवस्था के छ ? बैङ्क तथा वित्तीय संस्थाले गर्ने लगानी कुन क्षेत्रमा गर्नु पथ्र्यो ? भन्ने जस्ता विविध पक्षको अध्ययन विश्लेषण गरेर मात्र वित्तीय संस्था खोल्ने बाटोतर्फ लाग्नुपर्नेमा त्यसो हुन सकेन । फलस्वरूप धेरै सङ्ख्यामा वित्तीय संस्था खुल्न पुगे र समयक्रममा विभिन्न समयमा भएका मर्जरका प्रयासस्वरूप वित्तीय संस्थाको सङ्ख्यामा केही कमी भएको देख्न सकिन्छ । वित्तीय संस्था खोल्ने क्रम समय समयमा चलिरह्यो । वाणिज्य बैङ्क खोल्ने क्रम तीव्र गतिमा भयो र मर्जर सुरु भयो । यही क्रममा विकास बैङ्क र वित्त कम्पनी मर्जरमा जाँदै थिए लघुवित्त संस्था तीव्र गतिमा खुल्दै थिए भने इन्स्योरेन्स कम्पनी पनि ठुलै सङ्ख्यामा पुग्दै थिए । 

अहिले लघुवित्त र बिमा कम्पनीको मर्जर हुँदै छ । उता धितोपत्र कारोबार गर्ने कम्पनी खुल्दै छन् । स्टक डिलर, मर्चेन्ट बैङ्किङ, म्युचुअल फन्डलगायतका संस्थाको सङ्ख्या पनि कति आवश्यक हो अध्ययन विश्लेषण छैन र क्रमशः खुल्दै गइरहेको अवस्था छ तर कहिलेबाट मर्जर सुरु हुने हो ? हेर्न बाँकी छ । पुँजी बजार अन्तर्गत दोस्रो बजारको अवस्था पनि उस्तै हालतमा रहेको छ ।

वित्तीय संस्था स्थापना भइसक्दा मर्जर सुरु गर्नुपर्ने अवस्था सिर्जना हुनुले ती संस्थाको क्षमता, व्यवस्थापन, बजारको अवस्था, सर्वसाधारणको साक्षरताको अवस्था, नियामक निकायका नीति नियमको पालना गर्न सक्ने सामथ्र्य जस्ता विविध विषयले सरोकार राख्ने हुँदा ती विषयको अध्ययन विश्लेषणपछि आवश्यकता, औचित्य र सम्भावनाका आधारमा खोल्न सके ती संस्था दीर्घकालसम्म सञ्चालन हुने अपेक्षा गर्न सकिन्छ । जे जसरी खुले, खोल्न आवश्यक थियो/थिएन ? बजारको आकार कत्रो 

थियो ? लक्षित समूहको अवस्था तह कस्तो थियो ? हुनु पथ्र्यो ? के भयो ? भन्नुभन्दा पनि वित्तीय संस्था सञ्चालनमा छन्, तिनको सञ्चालन सही ढङ्गबाट भयो भएन त्यो पनि समीक्षाको विषय होला । आजको समयले यो इङ्गित गर्दछ कि वित्तीय संस्थाको अबको बाटो हिजोभन्दा फरक हुनु जरुरी छ भनेर ।

समयको परिवर्तनसँगै विभिन्न खालका घटना या परिघटनाले व्यवस्था परिवर्तन भए । भिन्न परिस्थितिले हरेक क्षेत्रमा प्रभाव पर्ने विषय स्वाभाविक पनि मानिन्छ । देशमा भिन्न समयमा भएका राजनीतिक आन्दोलनको फलस्वरूप व्यवस्था परिवर्तन त भयो तर परिवर्तन हुन नसकेको भनेको देश र जनताको अवस्थामा हो । जुन राम्रो पक्ष होइन । विश्वमा आर्थिक उदारीकरणको लहर फैलिँदै जाँदा देशमा बैङ्क तथा वित्तीय संस्था उल्लेख्य मात्रामा खुल्न पुगे जसका कारण सात प्रदेश ७७ जिल्ला र करिब सबै गाउँपालिकामा वित्तीय संस्थाका शाखा पुग्न सके, मानिसमा वित्तीय साक्षरताको तह माथि जान सक्यो, निक्षेप र लगानीको अनुपात ९० प्रतिशतसम्म पुग्यो, करिब ५० देखि ६० खर्बको स्रोतको परिचालन पनि भइरहेको छ, आयातबाट करको रकम राज्यले उठाइरहेको पनि छ, रेमिटको राम्रो इनफ्लो भएकै कारण विदेशी विनिमय सञ्चित पनि सन्तोषजनक देखिन्छ, यति हुँदाहुँदै पनि बेरोजगारी व्याप्त छ भने युवापुस्ता बिदेसिने क्रम बढ्दो छ । वित्तीय संस्थाले गर्ने लगानी अनुत्पादक क्षेत्रमा बढिरहेको छ । व्यवसायमा भएको लगानी कि त आयात व्यापार जहाँ खाएर उठाउने आयातमा छ कि त कर्जाको दुरुपयोग गरी अन्य क्षेत्रमा प्रयोग भएको अवस्था छ । जसका कारण लगानी बढिरहँदा यसको प्रभाव अर्थतन्त्रमा सकारात्मक रूपमा पर्न सकेन । 

देशभित्र हुने जति पनि क्रियाकलाप छन्, तिनको काम पैसाले पैसा आर्जन गर्ने कार्यमा प्रयोग हुनुपर्नेमा त्यसो हुन सकेन । यहाँ त एउटाको खल्तीमा भएको पैसा अर्कोको खल्तीमा सार्ने काम मात्र भयो, पैसा लगेर घर, जग्गा, सेयर बजार जस्ता ठाउँमा प्रयोग भयो र स्थिर रूपमा लगानी बस्न पुग्यो । यसर्थ विभिन्न समयमा फरक खालका स्ट्रेस अर्थतन्त्रमा पर्दै आइरहेको छ । सर्वप्रथम स्टे«स आउन दिनु हुँदैन, दोस्रो स्टे«स आइहाल्यो भने पनि राज्यको तहबाट समयमै समाधान गर्ने बाटोबाट सोच्नु पर्छ । जसको प्रभाव अर्थतन्त्रमा नकारात्मक रूपमा पर्न नजाओस् ।

आजका वित्तीय संस्थाले हिजोको पाठको समीक्षा गर्दै भोलिको बाटो तय गरी अगाडि बढ्नुपर्ने देखिन्छ । के यही गतिबाट अगाडि बढ्ने हो भने अर्थतन्त्रले कुन गति लिन सक्छ भन्ने विषय छर्लङ्ङ भइसकेको छ । वित्तीय संस्थाको क्रियाकलाप विगतमा जे जस्तो अवस्थामा रहे पनि अबको समयमा सजगतापूर्वक आफ्नो भूमिका सशक्त बनाई अगाडि बढ्नुको विकल्प रहँदैन । अर्थतन्त्रलाई चलायमान बनाउँदै सही दिशातर्फ डो¥याउने काम वित्तीय संस्थाको भएकाले सरोकारवाला पक्षले अनुकूल वातावरण बनाउनेतर्फ लाग्नु पर्छ । वित्तीय संस्था स्वयम्ले प्रभावकारी भूमिका निभाउन अग्रसरता देखाउनु आजको आवश्यकता हो । 

वित्तीय संस्था समग्र समाजको विकासको संवाहकका रूपमा रहने हुनाले दीर्घकालीन सोचका साथ आफ्ना क्रियाकलाप सञ्चालन गर्न रणनीति तर्जुमा गरी अगाडि बढ्नु पर्छ । जसका लागि सरकारले नीति नियम तथा कार्य प्रक्रियाका बाटा समयमा चुस्त दुरुस्त रूपमा सरल बनाउन सक्नु पर्छ । नियामक निकाय प्रभावकारी सुपरिवेक्षण तथा अनुगमन प्रणालीलाई गतिशील बनाई सही ढङ्गबाट सञ्चालित भएका छन छैनन् हेर्ने काम गर्नु पर्छ । वित्तीय संस्था स्वयम्ले सरकार तथा नियामक निकायका मार्गदर्शन कार्यान्वयन गर्नु त छँदै छ, आफ्नो भूमिकाले व्यक्ति समाज र समग्र अर्थतन्त्रमा कसरी सकारात्मक काम गरी एउटा इँटा थप गर्न सकिन्छ भन्नेतर्फ लाग्नु पर्छ । 

उत्पादनशील क्षेत्रमा लगानी बढाउने, रोजगारी प्रवर्धन गर्ने, नवप्रवर्धनलाई बढावा दिने, सामाजिक हितका कार्य गर्ने, वित्तीय साक्षरता फैलाउन, सिपमूलक तालिमका माध्यमबाट मानिसमा उद्यमी बन्न सक्ने बाटाको जानकारी दिने, वित्तीय संस्था अर्थतन्त्रका क्रियाशीलकर्मी हुन्, जसले समृद्व समाज निर्माणमा सहयोग पु¥याउन सक्छन् भन्ने शिक्षाका साथ काम गर्न सके समृद्व समाजको परिकल्पना धेरै पर छैन भन्ने आभास दिनु पर्छ । 

अर्थतन्त्रको रक्तसञ्चारका रूपमा रहेको वित्तीय क्षेत्रको भूमिका सशक्त र अग्रगामी बाटोमा लाग्न सक्नु पर्छ । मानिसको जन्मदेखि मृत्युसम्मको संस्कार सबै विषय अर्थसँग जोडिएको हुन्छ । अर्थ उपार्जनका लागि अर्थपार्जन गर्ने क्रममा आफ्नो भूमिका प्रदर्शन, कर्तव्य, जिम्मेवारी र दायित्व के हुने ? खेल्नुपर्ने भूमिकाका सन्दर्भमा बैङ्क तथा वित्तीय संस्थाको रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गर्न अग्रसर भई काम गर्नुपर्ने समय आएको छ । हिजोका दिनमा वित्तीय संस्थाले गरेको लगानी अनुत्पादक क्षेत्रमा बढी गएको, कर्जाको सदुपयोग हुन नसकेको, ओभर फाइनान्सिङलगायतका विविध अवस्थाले अर्थतन्त्रमा वित्तीय संस्थाले गरेको लगानीको प्रभाव जुन तरिकाले पर्नु पथ्र्थो त्यसरी पर्न सकेन । 

अबका दिनमा वित्तीय संस्थाले आफ्नो भूमिकालाई केवल सर्वसाधारणमा रहेको बचत जम्मा गर्ने, कहाँ सहज र सरल स्थान छ खोजी गरी लगानी गर्र्ने नवप्रवर्धनभन्दा पनि कुन वित्तीय संस्थामा कस्ता ग्राहक छन् हेरेर बस्ने, मौका आउनेबित्तिकै तानिहाल्ने, मनग्गे नाफा आर्जन गरी लगानीकर्तालाई लाभांश वितरण गर्ने भन्ने पुरातन सोचबाट माथि उठ्न जरुरी छ । आजको समयमा वित्तीय संस्थाले समग्र अर्थतन्त्रको विकासमा आफ्नो उद्देश्यसँगै कसरी एउटा इँटा थप्न सकिन्छ भन्ने सोचका साथ अगाडि बढ्नु पर्छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान जाने छ भन्ने अपेक्षा गर्न सकिन्छ ।

Author

दुर्गा कँडेल छत्कुली