बोमलाल गिरी
नवलपुर, कात्तिक १ गते । नवलपुरको कावासोती नगरपालिका –१७ गोछडाटारका सागर लाम्सालले पाँच वर्षसम्म नेपाली सेनामा जागिर खानुभयो । जागिरबाट सन्तुष्टि नमिलेपछि उहाँ राजीनामा दिएर वैदेशिक रोजगारीका लागि दुबई जानुभयो ।
दुबईमा १४ वर्षसम्म होटलको वाउन्सर भएर रात्रिकालीन सेवा गरेका लम्साल त्यो पनि छाडेर स्वदेशमै केही गर्ने योजनाका साथ साढे दुई वर्षअघि घर फर्कनुभयो । स्वदेशमा के गर्ने ? सुरक्षित र राम्रो कमाई हुने अरु केही नदेखेपछि कागती खेती सुरु गर्नुभयो । जसले उहाँलाई सुरुमै आकर्षित गरेको छ ।
‘कागती लगाएको २७ महिना मात्र भयो, राम्रो फल दिएको छ, साउनदेखि टिप्न पनि सुरु भइसकेको छ, लम्सालले भन्नुभयो, ‘१५ क्विन्टर कागती बेचिसकें, न काम गर्न गाह्रो र न ग्राहक खोज्न समस्या छ ।’
अन्य तरकारी, फलफूल मौसमी हुने भए पनि कागती बाह्रै महिना फल्ने र बाह्रै महिना उस्तै माग हुने भएपछि यसले उहाँलाई थप हौस्याएको छ । ‘अन्य फलफूल, तरकारी खेती गरेमा मौसमी हुने, भाउ नपाउने र बिचमा दलाल पनि त्यत्तिकै लाग्ने गर्दा रहेछन्, तर कागतीमा नगद छ, बजारभाउको समस्या छैन’, लम्सालले भन्नुभयो, “ग्राहकहरु कागती खोसाखोस गर्न घरै आइपुग्छन् ।”
सुन कागती लगाएका उहाँलाई यो साँच्चीकै सुनजस्तै भएको छ । अरुभन्दा राम्रो आम्दानी दिने भएकाले यसमा फसिन्न, ढुक्कले गर्दा हुन्छ, अन्य कागती खेती गर्न चाहनेलाई उहाँको सुझाव छ, पानी नजम्ने टारीखालको जग्गामा लगाउँदा राम्रो हुन्छ ।
१२ लाख लगानी गरेर व्यावसायिक कागती खेती गरेका लम्सालले कागती खोज्न ग्राहकहरु घरसम्म आउने गरेको बताउनुभयो । पहिले १५ क्विन्टल काठमाडौंको कालिमाटीसम्म पुगाएर पनि अहिले भने कावासोती मण्डी बजारसम्म पनि लैजान नपरेको उहाँको भनाइ छ ।
उहाँका अनुसार अहिले कागती प्रतिकिलो एक ३० देखि एकसय ३५ रुपियाँमा बिक्री भइरहेको छ । उहाँले एक विघामा तीनसय १० वटा बोट कागती रोपेको र सबैले फल दिइरहेको बताउनुभयो । उहाँका अनुसार एउटा बोटले रोपेको २० देखि २५ वर्षसम्म फल दिइरहन्छ र सुरुका एक दुई वर्षपछि खर्च कम हुने भएकाले नाफा बढ्दै जान्छ ।
‘विदेशमा रातदिन पसिना बेच्नुभन्दा आफ्नै भूमिमा थोरै लगानी गरेर भए पनि काम गर्दाको मज्ज बेग्लै रहेछ, आफ्नै घरपरिवारसँग बसेर काम गर्दा, सँगै रमाइलो गर्दै कागती टिप्दा, न कुनै तनाव छ न थकान, लम्सालले भन्नुभयो, ‘हरेक सेकेण्डमा चल्दै विदेशमा जम्मा गरेको पैसा बाध्यताको कमाइ हो, त्यहाँ सन्तुष्टि छैन ।’